Tuesday, August 25, 2020

रुकुमकाे एउटै कार्यालयका ९ कर्मचारीमा संक्रमण! 

 

कृष्ण बा बुढा भाद्र ८ रुकुम पश्चिम \ रुकुम पश्चिमको एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। साउन २८ गते बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जनाएको छ। उनका अनुसार जिल्लामा पहिलो पटक एउटै कार्यालयका ९ जनामा संक्रमण देखिएको हो। कार्यालयका अधिकांश कर्मचारीमा संक्रमण देखिएपछि ट्रेसिङमा समस्या भएको छ। सेवाग्राहीको ठेगाना अझै पत्ता लगाउन सकिएको छैन। तर, ठूलो संख्याको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने देखिन्छ। रुकुम पश्चिममा सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको कोरोना फोकल पर्सन रावलले जनाएको छ। संक्रमितको संख्या बढेपछि मुसिकोट नगरपालिकामा संक्रमित व्यवस्थापनमा समस्या भएको छ। जिल्ला अस्पतालबाहेक अन्य ठाउँमा आइसोलेसन छैन। एकै पटक १८ जना संक्रमित थपिएपछि उनीहरुलाई अस्पतालको तालिम हलमा राखिएको छ। ६ बेडको आइसोलेसन रहेको जिल्ला अस्पतालमा मुश्किलले ९ जना राखिएको छ।

No comments:

Post a Comment