कृष्ण बा बुढा भाद्र २ बर्दिया \ बर्दियामा आज मधुवन नगरपालिका–९ का ७० वर्षीय भिमबहादुर डाँगीको शवको अन्तिम संस्कार गर्न आफन्तसहित मंगलबार दिउँसो कसुम्बा घाटमा मलामी पुगे। हिन्दु धर्म संस्कार अनुसार अन्तिम संस्कारका लागि डाँगीको पार्थिक शरीरमा सबै कर्मकाण्ड गरियो। छोराले दागबत्ति दिने लगायतका अन्तिम संस्कार गर्दा मलामीले निभाउँने भूमिका निभाए। शव खरानी हुँदै थियो। त्यतिबेला प्रहरी पुगे। प्रहरीलाई देख्दा सबैको मनमा चिसो भयो। मृतकलाई कोरोना पोजिटिभ भएको खबर लिएर प्रहरी पुग्ना साथ घाट पुगेका मलामी भागाभाग भएको एक सहभागीले नाम नखोल्ने सर्तमा बताए। ‘सामान्य अवस्था जस्तै गरी अन्तिम संस्कार सबै जना सहभागी हुन गएका थिए’उनले भने,‘मृतक कोरोना पोजिटिभ भएको खबर आउँदा भागाभाग भयो।’ छिन भरमै त्रास छाएको उनले सुनाए। कोहलपुर शिक्षण अस्पतालमा सोमबार राती डाँगीलाई मृत घोषणा गरिएको थियो। शवको स्वाब रिपोर्ट ढीला भएका कारणले आफन्तले अन्तिम संस्कार गर्न घाटमा लगेका थिए। शबको अन्तिम संस्कार हुँदाहुँदै प्रहरी कोरोना पोजिटिभ भएको खबर लिएर पुगेका थिए। यतिबेला कोरोना संक्रमण सर्ने त्रासले आफन्तले मात्र शव छुने गर्छन्। शव पछाडी मलामी जान्छन्। शव छुन पर्ने बाध्यता नभएका कारण मलामी टाढा टाढा भएर शवको अन्तिम संस्कार गरेको हेर्ने चलन छ। प्रहरीले आफन्त र शव छोएकाको पहिचान गरिसकेको छ। अन्य मलामीलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेको मधुवन नगरप्रमुख कृष्ण केसीले बताए। ‘मलामी गएकालाई पनि होम क्वारेन्टिनमा बस्न लगाएका छौ’ उनले भने,‘सबै मलामीले शवलाई नछोएपनि होम क्वारेन्टिनमा बस्न अनिवार्य गरेकाले ठूलो समस्या छैन।’ उनका अनुसार कन्ट्रयाक्ट ट्रेसिङको आधारमा सबै स्वाब परीक्षणको प्रक्रिया अघि बढाउन स्वास्थ्य प्रमुखलाई निर्देशन दिईसकेको नगर प्रमुख केसीले जानकारी दिए।
No comments:
Post a Comment