Saturday, August 22, 2020

बर्दियामा जारी निषेधाज्ञा हट्यो,  सवारीमा भने जोर बिजोर प्रणाली लागू।

कृष्ण बा बुढा भदौ ६, बर्दिया \बर्दिया जिल्लामा जारी निषेधाज्ञा शुक्रवार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए ।                                    जिल्ला प्रशासन कार्यालय बर्दियाले आजदेखि लागू हुने गरी बिहान ९ देखि साँझ ५ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाइने र राति ९ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । यस्तै, जिल्लाभर सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिने, चाडपर्वलगायत धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने तथा शैक्षिक संस्था, सभा, गोष्ठी, तालीम, शैलून, ब्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नपाइने निर्णय भएको सूचना अधिकारी ढकालले बताएका छन् ।                        पछिल्लो समय जिल्लाभित्र समुदायस्तरमा कोरोना संक्रमण देखा परेपछि जिल्लाप्रशासन कार्यालयले जिल्लाभर लागू हुने गरी गत साउन २५ गतेदेखि १४ दिनसम्म निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा अझै पनि कोरोनाको जोखिम भने घटेको छैन । शुक्रवार मात्रै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय बर्दियाले निषेधाज्ञा हटेपछि स्वास्थ मापदण्ड पुरागर्न सबैलाई आग्रह गरेको छ।

No comments:

Post a Comment