Tuesday, September 15, 2020

प्रहरी ज्यादतीको भर्त्सना गर्दै नेकपा पुनर्वास नगर कमिटीले निकाल्यो प्रेस विज्ञप्ति


-यम प्रसाद आचार्य
कञ्चनपुर, ३० भदौ ।
गत भदौ २७ गते  नेकपा निकट भातृ संगठन अनेरास्ववियुका विद्यार्थी  नेता र कार्यकर्तालाई बिनाकारण प्रहरीले निर्घात कुटपिट गरेको र झुट्ठा मुद्दामा फसाउन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीले सोमबार एक प्रेस विज्ञप्ति निकालेको छ । नेकपा  पुनर्वास नगर कमिटी अध्यक्ष पदम पुजारा र सचिव गंगा बहादुर तामाङद्वारा संयुक्त रुपमा हस्ताक्षरीत सो प्रेस विज्ञप्तिमा पुनर्वास ५ को चौतारामा तास खेलिरहेका स्थानीय सात जना  व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र सो घटनाबारे बुझ्न  अनेरास्ववियु जिल्ला कार्यालय सदस्य टेक बहादुर थापा र चारजना स्थानीय नेकपा कार्यकर्ता प्रहरी कार्यालय पुगी दोषीलाई कार्वाही गर्न र निर्दोषलाई रिहाई गर्न माग गर्दा प्रहरीले निर्घात कुटपिट गरि घाइते बनाएको उल्लेख छ । सो घटना बाहिरीए लगत्तै स्थानीयले प्रहरी ज्यादतीको विरोध गर्दा सामान्य झडप भएको बताईएको छ ।
सो घटनाबारे सत्यतथ्य बुझ्न गएका पुनर्वास नगरप्रमुख जीवनराज थापा, जि.क.स. तथा नगर प्रवक्ता भारमल सुनार, पुनर्वास उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण बहादुर तामाङ, नेकपा पुनर्वास नगर कमिटी अध्यक्ष पदम पुजारा, नगर कमिटी सदस्य खडक विक्रम थापा र कर्ण बहादुर ऐडी समेतको टोलि जाँदा प्रहरीले अध्यक्ष पदम पुजारा र कर्ण बहादुर ऐडीलाई गाली गलौच र सांघातिक हमला गर्दै धकेलेर गेटबाट बाहिर निकालेको समेत जनाईएको छ । कुटपिट र गालिगलौचको क्रममा प्रहरीले  दुईतिहाई सरकारको क्षमता देखाईदिने र नगर प्रमुखको गाडी तोडफोड गर्न दिनुपर्ने भन्दै नेकपा कार्यकर्ताको अपमान गरेको उल्लेख छ ।
    विज्ञप्तिमा घटनास्थलमा  नरहेका ईन्सपेक्टर वकिल बहादुर सिंह र  ड्युटीमा रहेका महिला प्रहरी माथी कुटपिट गरिएको भन्ने कपोलकल्पित आरोप प्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ । र घटनालाई तोडमोड गरिएको, काल्पनिक र वनावटी घटना विवरण तयार गरि नियन्त्रणमा लिएर मरणासन्न हुने गरि  कुटपिट गरीएका अनेरास्ववियुका नेता कार्यकर्तालाई झुट्टा मुद्दामा फसाउने प्रपञ्च गरिएको समेत विज्ञप्तिमा उल्लेख छ । ई.प्र.का.मा भएको सिसिटिभी फुटेज सार्वजनिक गर्न र घटनाको वास्ताविकता सार्वजनिक गर्न सम्बन्धित निकाय संग माग गरिएको छ ।
केही मिडियाले सत्यतथ्य नबुझी प्रहरी निरीक्षकले कुटाइ खाएको, नगरप्रमुखले दादागिरी देखाएको र प्रहरी कार्यालयको कम्पुटर तोडफोड गरेको जस्ता समाचार सम्प्रेषण गरी भ्रम फैलाएकोले सत्यतथ्य समाचार सम्प्रेषण गर्न  सम्पूर्ण मिडियालाई आव्हान गर्नुका साथै सर्वसाधारणलाई झुट्ठा समाचार पढेर भ्रममा नपर्न समेत अपिल गरिएको छ ।  विज्ञप्तिमा आफ्ना कार्यकर्ताहरुलाई लगाइएको झुट्ठा मुद्दा फिर्ता गर्न, निर्दोष व्यक्तिहरुलाई नियन्त्रणमा लिएर  निर्घात कुटपिट गर्ने प्रहरी उपर कार्वाही गर्न समेत माग गरिएको छ ।
प्रहरीले भने लकडाउनको अवज्ञा गरेर तास खेलिरहेका सातजना व्यक्तिहरुलाई सम्झाईबुझाई गर्न इलाका प्रहरी कार्यालयमा  ल्याएको बताएका छ्न । थाना ईञ्चार्ज वकिल बहादुर सिंह कार्यालयमा नभएका कारण एकैछिन पर्खन अनुरोध गरीरहेको अवस्थामा स्थानीय युवाहरूबाट ढुंगा प्रहार भएपछि शान्तिसुरक्षा कायम राख्न लाठी चार्ज गर्नुपरेको र प्रहरीतर्फ ढुंगा लागि केही प्रहरी घाइते भएको, केही प्रहरीको बर्दी च्यातिएको र प्रहरी भ्यानमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।
   घटनाको अनुसन्धान गरि दोषी उपर कानूनी कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले हाम्रै साझा पत्रिकालाई बताए । 

No comments:

Post a Comment