Saturday, November 28, 2020

परीक्षा नसकिदै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने मिति किटान


काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । गत मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको हो ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले २२ गतेभित्र सबै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको जानकारी गराउनुभयो । यो वर्ष विद्यालय आफैले उत्तरपुस्तिका परीक्षण गरी पठाउनुपर्ने व्यवस्था गरेको छ ।
४० पूर्णाङ्कको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएका कारण एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अड्कल गरिएको अध्यक्ष प्राडा पौडेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘तोकिएको समयमा उत्तरपुस्तिका प्राप्त भए एक महिनाभित्र सजिलै परीक्षाफल प्रकाशित गर्न सक्छौं ।’ तर प्राविधिक र उत्तरपुस्तिका ढिलो आए केही ढिला हुन सक्ने बोर्डको आकलन छ ।
अध्यक्ष पौडेलले फरक जिल्लाका करिब १८ हजार विद्यार्थीको उत्तरपुस्तिका बोर्डले परीक्षण गर्नुपर्ने भएकाले केही ढिला हुन सक्ने बताउनुभयो ।
बोर्डले फरक जिल्लाबाट परीक्षा दिएका विद्यार्थीको हकमा प्रदेश र शाखा कार्यालयबाट परीक्षा सकेको केही दिनमा उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ । तीबाहेक होम सेन्टरबाट परीक्षा दिएका विद्यार्थीको समस्या नपर्ने अड्कल बोर्डले गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको जानकारी दिनुभयो । ‘परीक्षा सकेको विषयमा तत्काल परीक्षण गरी सबै विद्यालयलाई अंक पठाउन निर्देशन दिइसकेका छौं।’ –उहाँले भन्नुभयो ।
सबै प्रदेश कार्यालयलाई केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था गर्न बोर्डले निर्देशन दिइसकेको छ । गत मंगलबारबाट शुरु भएको परीक्षा १६ गते सकिँदै छ ।
देशभरका ४ लाख ३२ हजार विद्यार्थी सहभागी भएको परीक्षा साढे १ घण्टाको थियो । परीक्षाको अनुगमन गर्न त्रिपुरेश्वरस्थित विश्वनिकेतन मावि पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको व्यवस्थापन देखेर खुसी व्यक्त गर्नुभएको थियो ।
अनुगमनका क्रममा उहाँले व्यवस्थापन गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । ४ हजार १ सय ५ केन्द्रमा भएको परीक्षामा सबैले स्वास्थ्य मापदण्ड पूरा गरेका थिए । विद्यार्थीले अनिवार्यरुपमा मास्क लगाएका थिए ।
अधिकांश विद्यालयले २ मिटर दूरीमा २० जना विद्यार्थी मात्र राखेका थिए । केही विद्यालयका आफ्ना निरीक्षकलाई अनिवार्यरुपमा पीपीई लगाउने व्यवस्था गराएको थियो ।
केन्द्रका विद्यार्थी र निरीक्षकबाहेक अन्यलाई प्रवेशमा कडाइ गरिएको थियो । आफ्नै विद्यालयमा केन्द्र परेकाले अधिकांश विद्यार्थी खुसी भएका थिए ।
परीक्षामा सहभागी विद्यार्थीलाई ज्वरो परीक्षण गराइएको थियो । बोर्डका बागमती प्रदेश प्रमुख जयन्ती सत्यालले प्रदेशअन्तर्गतका सबै केन्द्रमा व्यवस्थितरुपमा परीक्षा सम्पन्न भएको जानकारी दिनुभयो ।
‘उपत्यकालगायत प्रदेशका सबै केन्द्रमा शान्तपूर्ण परीक्षा भएका छन्।’ –उहाँको भनाइ थियो । बोर्डले परीक्षा हुनु आधा घण्टाअघि मात्रै मेलबाट प्रश्नपत्र पठाएको थियो । 
नेपाल समाचारपत्रबाट।

No comments:

Post a Comment