पुनर्वास -३ आईबिआरडीमा रहेको पुनर्वास बाल उद्यान सार्वजनिक पार्कको नाम परिवर्तन गरीएकोमा नेपाली काङ्ग्रेस पुनर्वास नगरकमिटीले आपत्ति जनाएको छ । शुकवार नगर कमिटीले एक प्रेस विज्ञप्ती निकाली प्रतिपक्षको मर्यादालाई समेत वास्ता नगरी पार्कको साविकको नाम पुनर्वास बाल उद्यान हटाई मदन भण्डारी स्मृति बाल उद्यान राखिएकोमा आपत्ति जनाएको हो ।
नेपाली काङ्ग्रेस नगर कमिटीका सभापति यम प्रसाद पौडेलद्वारा हस्ताक्षरीत उक्त प्रेस विज्ञप्तिमा सो कार्यले पुनर्वासको स्वअस्तित्व, इतिहास र पहिचानलाई मेटाउन खोजीएको आरोप लगाईएको छ । साविककै नाम पुनर्वास बाल उद्यान राख्न र सो नगरीएमा संघर्षका कार्यक्रम ल्याईने चेतावनी समेत दिईएको छ ।
विज्ञप्तिमा इतिहास पुरुष मदन भण्डारी प्रती आफुहरुको सम्मान रहेको तर पुनर्वासको अस्तित्व,पहिचान र इतिहास मेटाउने कार्यप्रती आफुहरुको विमति रहेको जनाईएको छ ।
कञ्चनपुर पुनर्वास ३ को आईबिआरडी बजारक्षेत्रमा रहेको पुनर्वास बाल उद्यान पार्कको नाम परिवर्तन गरी मदन भण्डारी स्मृति पार्क नामाकरण गर्ने भनि सातौं नगरसभाले पारित गरेको थियो । वार्षिक नगर विकास योजना २०७७/७८ को ३० औं नम्बर बुँदामा नगरपालिका भित्रका सबै पार्कहरुलाई संरक्षण र प्रवर्द्धन गर्ने तथा आईबिआरडीको पार्कलाई ‘मदन भण्डारी स्मृति पार्क’ नामाकरण गर्ने भनी निर्णय भए अनुसार नै सो पार्कको नाम मदन भण्डारी स्मृति पार्क राखिएको र यसमा मदन भण्डारीको अर्धकदको सालिक निकट भविष्यमै राखिने पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले बताए ।
नगरको नीति तथा कार्यक्रम ल्याउँदा सबै पक्षसंग छ्लफल गरि सहमतिमै सो निर्णय भएको र नेपाली काङ्ग्रेसको अहिलेको विरोधले निर्णयमा ब्याक हुने सम्भावना नरहेको पनि प्रवक्ता सुनारले हाम्रै साझा पत्रिकालाई बताए ।
No comments:
Post a Comment