Sunday, July 25, 2021

बेलौरीका नगर प्रमुख पोतिलाल चौधरीद्वारा मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र

-धनबहादुर बि.क.
कञ्चनपुर -९ साउन
शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का  तथा प्रदेश सभा सदस्यद्वय कुलबीर चौधरी, महेशदत्त जोशी सहितको टोलीले  निर्माणाधीन बेलौरी-कलुवापुर सडकखण्डको स्थलगत अनुगमन गरेका छन् ।
मुख्यमन्त्री भट्ट, मन्त्री खड्का तथा भौतिक विकास मन्त्रालय सहित पूर्वाधार विकास कार्यालयका प्रतिनिधिको टोलीले स्थलगत अनुगमन गरेको हो । सो टोलीले बेलौरी-कलुवापुर सडकखण्ड, कलुवापुर-नाइल-बुडर सडकखण्ड र दैजी-लिप्ना सडकखण्ड लगायतका आयोजनाहरूको स्थलगत अनुगमन गरेका हुन् ।
त्यसैक्रममा कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा आयोजित साक्षात्कार कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बेलौरी-कलुवापुर सडकखण्ड र डोकेबजार-बेलौरी-बेलडाँडी-दैजी हुलाकी सडकखण्ड कालोपत्रेको बाँकी काम, ड्रेन निर्माण, सीमा सम्बन्धी समस्या समाधान र भन्सार नाका स्तरोन्नति लगायतका सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सँग आवश्यक सहयोगका लागि ज्ञापन पत्र पेस गर्नु भएको थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको अधिकार क्षेत्र भित्र रहेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रदेश सरकार मातहत रहेको कलुवापुर-बेलौरी सडकखण्डमा अधिकांश कार्य पूरा भएको र बाँकी अवरोध समेत समाधान गर्न तर्फ प्रदेश सरकार केन्द्रित भएको उहाँको भनाइ छ । हुलाकी सडकखण्ड, सीमा विवाद र भन्सार नाका स्तरोन्नति लगायतका विषयमा सङ्घीय सरकारसँग पहल गर्ने मुख्यमन्त्री भट्टले बताउनु भयो ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा उपलब्धि देखिने गरी कार्य भइरहेको बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रसँगै जोडिएका सडकखण्डहरूको स्तरोन्नति र द्रुतगतिमा कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्री खड्काको भनाइ छ । टोलीले शनिबार नै कञ्चनपुरका केही अन्य योजनाहरूको समेत अनुगमन गरेको बताइएको छ ।
कार्यक्रममा बेलौरीका स्थानिय समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ, विज्ञ एवम् पत्रकारहरुको सहभागीता रहेको थियोे ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

No comments:

Post a Comment