Wednesday, March 28, 2018

सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै पाइने

काठमाडौं, १४ चैत ।  सरकारले सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ। २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो।

धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो।

यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ।

वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ । गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको उक्त प्रस्तावअनुसार आगामी नयाँ वर्षदेखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवसलगायतका दिनमा दिने बिदा कटौती गरेको छ।

त्यस्तै, हरेक वर्ष माघ १६ गते शहीद दिवसका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गर्ने प्रस्तावमा छ। गृहको प्रस्ताव बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि लागू हुनेछ ।

कटौती प्रस्ताव गरिएका बिदा दिवस :

गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, शहीद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस चाड : घटस्थापना, द्वादशी  र कोजाग्रत पूर्णिमा जयन्ती : रामनवमी र श्रीकृष्ण जन्माष्टमी पर्व : जनैपूर्णिमा र ऋषिपञ्चमी  नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरू समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दै छ । तर, गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन। नयाँ पत्रिका दैनिकबाट 

प्रहरीबाटै किशोरी बलात्कृत, गर्भपतन गर्न खोज्दा घटना सार्वजनिक

पाँचथर, चैत १४ । विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् ।  अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ ।  फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भपतन बनाएको आरोप लागेको छ ।

किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार गर्दा गर्भवती भएको भनेपछि स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

छोरीका बारेमा बुझ्न खोज्दा ठटालले कहिले विभिन्न प्रलोभन देखाउँदै त कहिले धम्क्याउँदै आएको पीडितका बुवाले बताए ।  ठटालले गर्भपतन गराउन किशोरी र उनका बुवालाई फिदिम ल्याएको खुलेको छ ।

उनले किशोरीलाई मंगलबार जिल्ला अस्पाल पुर्याएका थिए । म पुगेपछि अस्पतालमा हल्लाखल्ला भयो अनि घटनाले ब्यापक रुप लिएको हो, पीडितका बुवाले भने ।

Monday, March 5, 2018

राजपा पनि सरकारमा जान इच्छुक !


काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपाले सरकारमा सहभागी हुन इच्छा देखाएको छ । उसले फोरमसँग मात्र नभई आफूहरुलाई पनि समेटेर संविधान संशोधनका लागि वार्ता गर्न माग गरेको छ । राजपा नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन गर्दै मधेश आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिए सरकारमा जान सक्ने बताउनुभयो ।
तर उहाँले तत्काल राजपा सरकारमा जाने संभावना भने नरहेको बताउनुभयो । तर पछिल्लो समय राजपाका नेताहरुले सार्बजनिक कार्यक्रममै सरकारले फोरमसँग मात्र वार्ता गरेको र आफूहरुलाई वास्ता नगरेको भन्दै असन्तुष्ट जनाउन थालेका छन् ।
आइतबार राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सरकार गठन र संविधान संशोधनबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । माओवादीका एक नेताका अनुसार राजपालाई पनि सरकारमा ल्याउनका लागि पहल भैरहेकोे छ ।

मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने


धनगढी ।
       सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि (मंगलबार) संसदमा विश्वासको मत लिने भएका छन् ।
आइतबार बसेको प्रदेश संसदको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि फागुन २२ गते दिउँसो २ बजेको समय निर्धारण गरेको संसद सचिवालयले जनाएको छ ।

नेपालको संविधान २०७२ को धारा १६८ उपधारा ४ बमोजिम मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिने जनाइएको छ । उनी बाम गठबन्धनबाट मुख्यमन्त्री बनेका छन् ।

५३ सदस्यीय संसदमा विश्वासको मत प्राप्त गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ । मुख्मन्त्री भट्टका पक्षमा एमालेका २५ र माओवादी केन्द्रका १४ गरी ३९ जना सांसदको मत रहेको रहेको छ ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनु पर्ने संंवैधानिक व्यवस्था छ । सो व्यवस्थाअनुसार प्रदेश ७ मा चैत ५ गते विश्वासको मत लिनुपर्ने हुन्छ । तर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका कारण केही दिन पहिले नै विश्वासको मत लिन थालिएको बताइएको छ ।
आइतबारको संसदमा सभामुख थापाले कार्यव्यवस्था परामर्श समितिका सदस्य चयन गरेको जानकारी गराए ।
समितिमा नेकपा (एमाले) का सांसदहरू तारा लामा तामाङ, कृष्णराज सुवेदी र अर्चना गहतराज, नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल र वीरमान चौधरी, नेपाली काँग्रेसका भरतबहादुर खड्का तथा डाक्टर रणबहादुर रावल र राष्ट्रिय जनता पार्टीका सांसद मालामति राना रहेका छन् ।

त्यस्तै, बैठकमा एमाले सांसद तामाङको प्रस्ताव र काँग्रेस सांसद रैकाको समर्थनमा प्रदेशसभा नियमावली मस्यौदा समिति सर्वसम्मतीबाट गठन भएको छ ।
समितिमा एमालेका सांसदद्वय लीलाधर भट्ट र पूर्णा जोशी, नेपाली काँग्रेसका रैका र राजपाका कृष्णबहादुर चौधरी सदस्य रहेका छन् ।
५३ जनामध्ये ४५ जना सांसद उपस्थित रहेको आइतबारको बैठकमा सभामुख थापाले राष्ट्रपति चुनाव बारे निर्वाचन आयोगको सूचना पढेर सुनाएका थिए ।

कुवेती साहुको छोराको बलात्कारबाट जन्मिएकी छोरीको जन्मदर्ता कसरी गरौ ?

फागुन २१,झापा –कोही नयाँ मान्छे भेट्नेबित्तिकै मेचीनगरकी ३१ वर्षीया गीता चौधरी (नाम परिवर्तन) को प्रश्न हुने गर्छ– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन ?

जो जसलाई उनले त्यस्तो प्रश्न सोध्ने गर्छिन् उनीहरूले गीताको समस्या समाधान हुने गरी जवाफ भने फर्काउन सक्दैनन् । छोरीको जन्मदर्ता गराउन खोज्दा सरकारी निकायका कर्मचारीले बुबाको नागरिकता खोज्दा गीताले समस्याको निकास पाउन नसकिरहेकी हुन् ।

वैदेशिक रोजगारीबाट कमाइ गरेर आफू र परिवारको जीवन सहज बनाउने उद्देश्यले २०७१ मा कुवेत गएकी गीताका लागि वैदेशिक रोजगारी असफल मात्र भएन, जीवनमा थप संकट हुने गरी अर्को समस्या ल्याइदियो । जुन समस्याले गर्दा पछिल्लो तीन वर्षदेखि दैनिकजसो गीताको आँखामा आँसु निस्कने गरेका छन् । आँखाबाट निरन्तर बग्ने आँसु रोक्ने उपाय अहिलेसम्म गीताले भेउ पाउन सकेकी छैनन् ।

गाउँमा रहँदा पतिसँगको सम्बन्ध बिग्रेपछि दुई छोरीको पढाइ र आफ्नो गुजाराका लागि कुवेत गएकी गीतालाई घरमालिकको छोराले जबर्जस्ती यौन सम्पर्क राख्दा डेढ वर्षअघि विदेशमै छोरी जन्मिएकी थिइन् । काम गर्न गएकी गीताले छोरी जन्माउनु परेपछि वैदेशिक रोजगारी त असफल भयो नै, अहिले विदेशी नागरिकबाट जन्मिएकी सन्तानलाई कसरी हुर्काउने भन्ने समस्या आइलागेको हो ।

बाबुको पहिचान गरी जन्मदर्ता गर्न असफल हुने देखिएपछि तनाव भइरहेको उनको भनाइ छ । घरेलु कामदारको रूपमा कुवेत गएकी उनले आफ्नै मनोमानीले भने छोरी जन्माएकी होइनन् । ‘कुवेत गएको केही समयपछि घरमा कोही नभएको मौका छोपी साहुको २० वर्षीय छोराले बलात्कार ग¥यो,’ गीताले भनिन्, ‘बलात्कारबाटै पेटमा गर्भ बसेछ ।’

साहुको छोराले चार पटकसम्म बलात्कार गर्दा सहेकी उनले पटकपटक सोही क्रियाकलाप भोग्न थालेपछि बाध्य भएर घर छाडेकी थिइन् । ‘त्यो घर छाड्दा पेटमा तीन महिनाको गर्भ भइसकेछ,’ उनले भनिन्, ‘त्यतिबेलासम्म चारपटक बलात्कृत भए पनि गर्भ रहेको भने यकिन भइसकेको थिएन ।’ साहुको छोराको अत्याचारबाट मुक्ति पाउन काम गर्दै आइरहेको घर छाडेर अर्को घरमा काम गर्न पुगेकी गीताले बलात्कृत भएको चार महिनापछि मात्र सबै कुरा थाहा पाएको बताइन् ।

‘चार महिनासम्म महिनावारि रोकियो,’ उनले भनिन्, ‘महिनावारि रोकिएपछि पेटमा गर्भ रहेको पुष्टि भयो । त्यसपछि टाउको दुःखेको बहानामा गर्भ निकाल्ने औषधि खाएँ ।’ करिब दुई महिना गर्भ निकाल्ने औषधि खाएपछि गीताले समस्या समाधान भएको ठानेको बताइन् । ‘भगवानको खेल भनौं कि या परिस्थिति त्यस्तै दोस्रो घरमा काम गरिरहँदा त्यो परिवार कुवेतबाट काम विशेषले साउदी जाने भयो । मलाई चाहिँ साउदी जान इच्छा भएन ।’ साउदी नजाने भएपछि गीताले काम लगाउने नेपाली दलालले खोलेको सम्पर्कमा कार्यालयमा पुगेको बताइन् ।

सोही सम्पर्क कार्यालयबाट तेस्रोपटक काम खोज्दै गर्दा छोरी जन्मिएको गीताको भनाइ छ । ‘पहिलो र दोस्रो मालिककहाँ घरेलु काम गर्दा ९ महिना पुगिसकेको थियो,’ गीताले भनिन्, ‘बलात्कार भएको ९ महिना भए पनि औषधि सेवन गरेकाले गर्भपतन भएको अनुमान गरेकी थिएँ । तर मेरो सबै अनुमान गलत हुँदै ९ महिनामा छोरी जन्मिइन् ।’ नेपालमा त्यसअघि दुई छोरी जन्माउँदा सुत्केरी बेथा लागे पनि कुवेतमा भने सुत्केरी बेथा नलागेको र पेटमा बच्चा रहँदा चहलपहल पनि नभएको बताइन् ।

‘म मात्र नभई पेटमा बच्चा छ भन्नेबारे ९ महिनासम्म कसैलाई थाहा भएन,’ गीताले भनिन्, ‘न पेट फुलेको थियो । न बच्चाले चलखेल नै गथ्र्यो । अकस्मात छोरी जन्मिएपछि के गर्ने, कसो गर्ने केही सोच्नै सकिनँ ।’ दलालको सम्पर्क कार्यालयमा छोरी जन्मिएपछि गीतालाई नर्स र डाक्टरको टोलीले अस्पताल पु¥याएको थियो । उनले केही दिन अस्पताल र केही दिन नेपाली दूतावासको सेल्टरमा बसेपछि साढे एक वर्ष अघि घर फर्केको बताइन् ।

‘जीवनमा कहिलेकाहिँ कल्पना गरेभन्दा निकै फरक अवस्था आउँदो रहेछ,’ नागरिकसँगको कुराकानीमा गीताले भनिन्, ‘न मैले चाहेर गर्भ बोकेकी हुँ, न छोरी जन्माउने र न छोरीलाई नेपाल ल्याउने इच्छा नै थियो । तर, सबै मैले नचाहँदा नचाहँदै पीडा भोग्दैछु ।’ बच्चा जन्मे पनि कुवेतमै छोड्ने योजना बनाएकी गीताले अस्पताल र सेल्टरमा बस्ने कर्मचारीले झुक्याएर छोरीलाई घरसम्म ल्याउनुपरेको बताइन् । ‘विदेशमा मात्र नभई छोरीलाई काठमाडौंमै सन्तान नहुनेलाई दिनुपर्ला भन्ने अन्तिम सोचसमेत थियो,’ उनले भनिन्, ‘छोरीलाई काठमाडौंमै छोडेर घर फर्कने योजना पनि सफल भएन ।’ काठमाडौं पुगिसकेपछि सबै घटना थाहा पाइसकेका भाइले जे भयो भइहाल्यो भन्दै दिदीलाई कुवेती साहुको छोराबाट जन्मिएको सन्तानलाई घर ल्याउन सल्लाह दिएका थिए ।

साहुको छोराको जबर्जस्ती यौन सम्पर्कबाट जन्मिएकी छोरी एक महिना १७ दिनकी हुँदा घर पुर्याएको गीताले बताइन् । यतिखेर गीतालाई विभिन्न परिस्थिति भोग्दै घरसम्म ल्याइपुर्याएकी छोरीलाई जन्मदर्ता गरी कसरी लालनपालन गर्ने भन्ने चिन्ताले सताइरहेको छ । उनले दुई वर्ष कुवेतमा बस्दा चार–पाँच महिनाको मात्र पारिश्रमिक पाएको बताइन् । ‘न वैदेशिक रोजगारीबाट कमाउन सकेँ । न घरमा छोरी र आफ्नो गुजारा गर्न सक्ने उपाय नै छ,’ उनले भनिन्, ‘पहिलो श्रीमान्सँग राम्रो सम्बन्ध छैन ।’ उनले गाउँमै मजदुरी गरेर पहिलो श्रीमानपट्टिका दुई र कुवेती नागरिकबाट जन्मिएकी छोरीको जबर्जस्ती गुजारा चलाइरहेको बताइन् ।
उनी भन्छिन्, ‘कहिलेकाहिँ किन बाँचे हुला जस्तो पनि लाग्छ ।’ उनलाई आफू नै नरहेपछि अवोध छोरीको लालनपालन कसले गर्ला भन्ने पनि लाग्छ । ‘मैले त जीवनमा नसोचेको पीडा भोगेँ,’ उनले भनिन्, ‘एक मनले अवोध छोरीहरूका लागि बाँच्न आवश्यक छ भन्ने ठान्छ ।’ उनले यतिखेर आफूलाई गुजाराका लागि जो कोहीले गर्ने सानोतिनो सहयोग पनि ठूलो हुने बताइन् । ‘जसले जे सक्छन्, मेरा लागि त्यही सहयोग होस् भन्ने चाहना छ,’ उनले भनिन् ।
साभार नागरिक न्युज

कैलालीका स्थानीय तहले किनेनन् औषधि

फाल्गुन २१, धनगढी — कैलालीका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । सरकारले औषधिका लागि स्थानीय तहमा बजेट विनियोजन गरे पनि पर्याप्त मात्रामा खरिद नगर्दा अभाव भएको हो । स्थानीय तहमातहतका स्वास्थ्य संस्था र अस्पतालमा बिरामीको भीड लागे पनि औषधि नपाउँदा उनीहरू नजिकका निजी क्लिनिकमा धाउन बाध्य छन् ।

कैलालीको भजनी नगरपालिकाले औषधि खरिदका लागि केन्द्रीय सरकारबाट प्राप्त साढे ६ लाखमध्ये कोटेसन आह्वान गरेर ५ लाखको औषधि खरिद गर्‍यो । ‘नगरपालिका आफंैले औषधिका लागि बजेट नै छुट्याएको छैन,’ नगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखा संयोजक कृतसिंह बिकले भने, ‘केन्द्र सरकारबाट प्राप्त बजेटले खरिद गरिएका औषधि सकिए । बजेट व्यवस्थाका लागि नगरप्रमुखलाई आग्रह गरेका छौं ।’

नगर उपप्रमुख छाया देवकोटाले औषधि अपुग भएमा नगरपालिकाले तुरुन्तै किनेर पूर्ति गर्ने बताइन् । भजनी नगरपालिकाअन्तर्गत एकप्राथमिक स्वास्थ्य केन्द्र र ४ स्वास्थ्यचौकी छन् ।

लम्की चुहा नगरपालिकाले पनि औषधि खरिदका लागि बजेट विनियोजन गरेको छैन । केन्द्र सरकारबाट प्राप्त ११ मध्ये कोटेसनमार्फत ५ लाखको औषधि खरिद गर्‍यो । यहाँका स्वास्थ्यचौकीमा अत्यावश्यक औषधि अभाव हुन थालेको स्थानीयले बताएका छन् । नगर प्रमुख महादेव बजगाईंले शीर्षक टुक्रयाएर औषधि खरिदका लागि १५ लाख बजेट विनियोजन गरिने बताए । ‘अहिले केन्द्रीय सरकारबाट प्राप्त रकमले खरिद गरिएको औषधिबाटै काम चलेको छ,’ उनले भने ।

जिल्लाका केही स्थानीय तहले भने औषधिका लागि बजेट छुट्याए पनि खरिद भने गरिसकेका छैनन् । टीकापुरमा जिल्ला अस्पताल छ । यहाँको नगरपालिकाले सरकार र आफ्नै बजेटबाट एकसाथ औषधि किनेन । औषधि किन्न ३१ लाख ५० हजार रकम विनियोजन गरे पनि ५ लाखको सरकारी अनुदानबाट मात्रै औषधि खरिद गरेको छ । टीकापुर अस्पतालमा सरकारले नि:शुल्क दिने अति आवश्यक औषधिको समेत अभाव रहेको बिरामीको गुनासो छ ।

जिल्लाको अर्काे ठूलो मालाखेती प्राथमिक स्वास्थ्य केन्द्रसहित ४ स्वास्थ्यचौकी र ३ सहरी स्वास्थ्य क्लिनिक रहेको गोदावरी नगरपालिकाले समेतआफ्नो बजेटबाट औषधि किनेको छैन । जानकी गाउँपालिकाले ११ लाख बजेट छुट्याए पनि औषधि खरिद नगरेको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत पदम परियारले भने, ‘अभाव हुँदै गएको छ । अब छिट्टै औषधि खरिद गर्नुपर्छ ।’

जिल्ला जनस्वास्थ्य कार्यालयको स्टोरमा कार्यरत जयराज ओझाले स्वास्थ्य विभागबाट सरकारले दिएको र स्थानीय तहबाट विनियोजन बजेटबाट औषधि खरिद गर्न बारम्बार ताकेता भइरहे पनि स्थानीय तहले अटेरी गरिरहेको बताए । कान्तिपुरमा खबर छ । फाइल तस्बिर :

Sunday, March 4, 2018

निजी तथा सरकारी अस्पतालहरुले सबै प्रकारका उपचार सेवामा लिइने शुल्क सार्वजनिक हुने

रिया भण्डारी
काठमाडौ । अब अस्पताल जाँदा लाग्ने उपचार खर्च पहिले नै थाहा पाइने भएको छ । सरकारले निजी तथा सरकारी सबै अस्पतालको सेवा शुल्क पारदर्शी बनाउन निर्देशन दिएसंगै यो सहज अवस्था लागू हुने भएको हो । निजी तथा सरकारी अस्पतालहरुले सबै प्रकारका उपचार सेवामा लिइने शुल्क सार्वजनिक गर्ने भएका छन् ।
सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालयको वेबसाइट र निजी अस्पतालले आ–आफ्नो वेबसाइटमार्फत शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई पत्राचार गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयको शुल्क निर्धारण कार्यदलले हरेक निजी तथा सरकारी अस्पतालले अनिवार्य रुपमा शुल्क सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो। सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालयको वेबसाइट र निजी अस्पतालले आ–आफ्नो वेबसाइटमार्फत शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाइ पत्राचार गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखा प्रमुख तथा शुल्क निर्धारण कार्यदलका अध्यक्ष डा भोलाराम श्रेष्ठले बताउनु भयो ।
त्यसो त अस्पतालले लिने सेवा शुल्कहरु नागरिक बडापत्रमा सबैले देख्ने गरी टाँसेर राख्नु पर्ने नियम नै छ । तर धेरै जस्तो अस्पतालमा त्यसरी राखिएको छैन अब भने अस्पतालको सेवा शुल्क नागरिक बडा पत्रमा टाँसेर राख्नुको साथै मन्त्रालयकै वेबसाइटमा समेत लिंक हुने गरि राख्नु पर्ने छ । शुल्क निर्धारण कार्यदलले अहिले अस्पतालले कुन उपचारमा कति लिनु पर्ने भन्ने शुल्क तोकेको छैन । अस्पतालहरुले अहिले लिइरहेको शुल्क सार्बजनिक भए पनि त्यहि आधारमा यो उपचारमा न्यूनतम यति देखि उच्चतम यति सम्म लिन पाउने भनेर अस्पतालको सेवा शुल्क निर्धारण हुने शुल्क निर्धारण कार्यदलले जनाएको छ ।
अस्पताल लिने सेवा शुल्क निर्धारणमा केही जटिलता समेत आएको छ । हरेक ब्यक्तिको उपचारमा फरक फरक केस हुने उपचार कै क्रममा कतिलाइ थप उपचार पनि चाहिने जस्ता बिबिध कारणले शुल्क यो उपचारमा यति नै लिनु भन्ने अवस्था नरहेको बिशेषज्ञहरु बताउछन् । उपचार शुल्कमा हुने मनोमानी रोक्न ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्दे्शिका, २०७०’ मा स्वास्थ्य सचिव संयोजकत्वको शुल्क निर्धारण समितिको व्यवस्था गरिएको छ। त्यहि समितिले कार्यदल गठन गरि निजी अस्पतालहरुको शुल्क को मनोमानीलाई नियमन गर्ने तयारी गरेको छ ।

विश्वकप छनौट : नेपालको खराब शुरुवात ४ ओभरमै जिम्बावेको ५० रन पूरा


काठमाडौँ । एकदिवसीय विश्वकप छनौट अन्तरगत जिम्बावेविरुद्धको पहिलो खेलमा नेपालले खराब शुरुवात गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरिरहेको जिम्बावेका दुई ओपनर नेपाली बलरमाथि हावी भएका छन् ।

उनीहरुले विस्फोटक ब्याटिङ गर्दै चौका र छक्का हिर्काइरहेका छन् ।
४ ओभरको अन्त्यसम्ममा जिम्बावेले ५० रन पूरा गरिसकेको छ ।
ओपनर सेपास झुवाओ यतिबेला ३२ रन बनाएर खेलिरहेका छन् भने अर्को ओपनर सोलोमोन माइरले १० रन बनाएका छन् ।
उनीहरुले हालसम्म ४ छक्का र ६ चौका हिर्कासकेका छन् ।
कप्तान पारसको एकै ओभरमा उनीहरु १६ रन बनाएका छन् ।
--------------------------------------------------------
एकदिवसीय विश्वकप क्रिकेट छनोट यात्राको शुरुवात नेपालले आइतबार आफूभन्दा निकै बलियो टोली जिम्बावेविरुद्धको खेलबाट गर्दैछ ।
जिम्बावेले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।
आयोजक राष्ट्र जिम्बावे एकदिवसीय र टेस्ट मान्यता राष्ट्र हो भने नेपाल एसोसिएट राष्ट्र हो । सन् २०१७ को सेप्टेम्बरमा आइसिसी एकदिवसीय वरीयताको आठौँ स्थानमा समावेश नभएपछि जिम्बावेसँगै वेस्ट इन्डिजले विश्वकप छनोट खेल्नु परेको हो ।
नेपालले भने आइसिसी विश्व डिभिजन–२ को उपविजेताका रूपमा प्रतियोगिता खेलिरहेको छ ।
नेपाल र जिम्बावे समूह ‘बी’मा रहेका छन् ।
नेपाल र जिम्बावे पहिलो पटक आमने सामने हुन लागेका हुन् ।
आइसिसीको नजरमा ‘नयाँ अफगानिस्तान’ को उपमा पाएको नेपालले विश्व क्रिकेट लिग डिभिजन टु मा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
त्यस्तै, छनोट खेलअघि नेपालले पहिलो खेलमा युएईलाई ५ विकेटले हराउँदै उच्च मनोबलको साथ मैदानमा उत्रनेछ । वर्षाका कारण नेपाल र हङकङबीचको अभ्यास खेल भने रद्द भएको थियो ।
आजको नेपाली समयअनुसार १ बजेर १५ मिनेटमा जिम्बावेको वुलावायोमा हुनेछ ।

लौन प्रभू सबैले थाहा पाउँने गरि फेरी एकपटक नेपालमा जन्मनु पर्‍यो

लौन प्रभू सबैले थाहा पाउँने गरि फेरी एकपटक नेपालमा जन्मनु पर्‍यो !, मुख्यमन्त्रीको काम उदघाटन मात्रै, मन्त्री, राजदुत र जिएमबन्ने लाईनै बन्यो ! आजको पत्रपत्रिकाहरुमा छापिएको कार्टुनहरु

आज शपथ, भोलिदेखि संसद्

अन्नपूर्ण : काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ आइतबार हुँदै छ भने दुवै संसद्को छुट्टाछुट्टै बैठक सोमबारबाट प्ररम्भ हुने भएको छ। अपराह्न ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र अपराह्न ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिनेछन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य यादव राजपा अध्यक्षमण्डलका नेता हुन् भने राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्ट कांग्रेस नेत्री हुन्। राष्ट्रियसभामा मन्त्रिपरिषद्बाट सिफारिस भएका तीन सदस्यको शपथ भने पछि हुने भएको छ। सर्वोच्चको आदेशका कारण उनीहरूको शपथ तत्काल रोकिएको हो।

स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई संविधान कार्यान्वयन भएको सन्देशसहित बस्ने संसद्मा राष्ट्र र जनताबीच गणतन्त्रप्रतिको प्रतिबद्धतालाई मूल रूपमा उठाउने सांसदहरूले बताएका छन्।

कांग्रेसले सरकारले संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका आधारमा आफ्नो धारणा बनाउने बताएको छ। वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्र भने सरकारलाई पूर्णता दिँदै संसद्मा प्रवेश गर्ने र यथाशीघ्र पार्टी एकता सम्पन्न गर्ने तयारीमा छन्। मधेसवादी दल संसद् प्रारम्भ भएको एक महिनाभित्र संविधान संशोधनको मुद्दा किनारा लगाउने रणनीतिमा छन्।

कांग्रेस सांसद डा.मीनेन्द्र रिजालले कांग्रेसले इतिहासमै सबैभन्दा जिम्मेवार पार्टीका रूपमा प्रमुख प्रतिपक्षीको भूमिका निभाउने बताए। ‘सरकारले संसद्मा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका आधारमा हाम्रो भूमिका तय गर्छौ। संसद्मा छाया सरकारका रूपमा प्रस्तुत हुनेछौं’, उनले भने।

माओवादी नेता सुरेन्द्र कार्कीले पार्टी एकीकरण यथाशीघ्र हुनुपर्ने मान्यतामा आफू प्रतिबद्ध रहेको बताए। उनले भने, ‘एमाले र माओवादीका यिनै प्रतिबद्धताका आधारमा जनताले मतदान गरेकाले सोहीबमोजिम विकास निर्माणमा जुट्छौं।’

राजपा वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले संसद् बसेको १५ दिनभित्र संविधान संशोधन, मधेस आन्दोलनमा चलाएका मुद्दा फिर्ता र विकास निर्माण नै प्रमुख आवश्यकता भएको बताए। ‘सरकारले राजपासँग इमानदारीसाथ वार्ता गर्छ भने १५ दिनभित्र संविधान संशोधन गरी मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै आर्थिक विकासमा नयाँ फड्को मार्न सक्छ।’

फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एक महिनाभित्र संविधान संशोधनमा प्रतिबद्धता जनाउनु जरुरी भएको बताए। उनले भने, ‘हामीले देशभर पाएको मत नै संविधान कार्यान्वयनका लागि स्वीकृति हो।’ संविधान संशोधन आफूहरूको बटमलाइन भएको उनले बताए।