Tuesday, May 29, 2018

प्रदेश ७ का 'गरिब' मुख्यमन्त्रीका धनी मन्त्रीहरु ! (सम्पत्ति विवरणसहित)


टंक कुँवर
धनगढी – प्रदेश नम्बर ७ प्रदेश मुख्यमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद गठनको एक सय दिन पुगेको अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेशका मन्त्रीहरूले आज सम्त्तिी विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणमा प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट सबैभन्दा ‘गरीब’ देखिएका छन् । उनको सम्पत्ति विवरणमा बैंक मौज्दात ७० हजार, एक तोला सुन, १५ तोला चाँदी, एक गाई, एउटा मोबाइल र एउटा हातेघडी रहेको उल्लेख गरिएको छ । भट्टको वित्तीय ऋण एक लाख ४० हजार र व्यक्तिगत ऋण दुई लाख रहेको उल्लेख छ ।तर, मन्त्रीहरु प्रकाश बहादुर शाह, दीर्घ बहादुर सोडारी, पठानसिंह वोहरा, झपट वहादुर बोहरा, माया भट्ट र विनिता चौधरीको सम्पत्ती विवरण हेर्दा आर्थिक रुपमा  सबल देखिन्छन् । सम्पत्ति विवरण अनुसार आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहको सुखनमात्रै ५२ तोला रहेको छ ।  यस्तै आर्थिक मामिलातथा योजना मन्त्री झपट वहादुर बोहराको ४० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

Monday, May 28, 2018

विद्युत समस्या र टेलिकम सेवा विस्तारबारे ध्यानाकर्षण गराउन वडाअध्यक्ष बस्नेत पुगे क्षेत्रीय कार्यालय अत्तरिया

पुनर्वास, जेठ १४
    कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम बहादुर बस्नेत पुनर्वासको विद्युत समस्या र टेलिकम सेवा विस्तारबारे ध्यानाकर्षण गराउन सोमबार क्षेत्रीय कार्यालय अत्तरिया पुगेका छन ।
पुनर्वास नगरपालिकाद्वारा दुईसाता अघि नेपाल सरकारको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरको नेतृत्वमा केन्द्र सरकार समक्ष पुगेर राखेका विविध मागको ध्यानाकर्षण गराउदैँ विद्युत प्राधिकरणका क्षेत्रीय निर्देशक तारानाथ शर्मालाई भेटी पुनर्वासको विद्युत सेवामा देखिएका समस्याहरु तत्काल समाधान गराउन ध्यानाकर्षण गराउनुभएको छ । प्राधिकरणका क्षेत्रीय निर्देशक शर्माले केन्द्र सरकारबाट समेत समस्या समाधानका लागि पत्रचार गरेकाले यथासिघ्र समस्या समाधान गरिने बताए ।

गत महिना स्थापना भएको पुनर्वास बिलिङ काउण्टरले राम्रोसँग सेवाप्रवाह गर्न समेत नसकेको गुनासो वडाअध्यक्ष बस्नेतले राख्नुभएको थियो । त्यसको जबाफमा निर्देशक शर्माले पुनर्वास बिलिङ काउण्टरका लागि असारसम्म छुट्टै सरभर उपलब्ध गराउने बताए ।

प्राधिकरणका क्षेत्रीय निर्देशक तारानाथ शर्मा समक्ष वडाअध्यक्ष बस्नेतले राख्नुभएको ध्यानाकर्षणहरु

१) पुनर्वासमा विद्युत महशुल काउण्टर स्थापना भएपनी सेवा प्रबाह राम्रोसँग हुन नसकेकाले यथासिघ्र छुट्टै सर्भर दिएर सेवा चुस्तद्रुस्त बनाउन
२) वडा नम्बर ४ को कोटिहोम र छेउछाउमा विद्युत भोल्टेज कमजोर रहेकाले यथासिघ्र ट्रान्सर्फमर उपलब्ध गराईदिन
३) लामो समय देखि रोकिएको मिटर वितरण कार्य, वडा नम्बर ४ मा तत्काल सुचारु गरिदिन
५) वडाका विभिन्न ठाँउमा देखिएको भोल्टेज कम हुने समस्या समाधानका लागि आवश्यक ट्रान्सर्फमर उपलब्ध गराईदिन भनी ५ बुँदामा ध्यानाकर्षण गराए ।

विकास र समृद्धिका सक्रिय मानिने वडाअध्यक्ष बस्नेत वडाअध्यक्ष हुनुअधि देखि पुनर्वासको विकासका लागि अग्रसर व्यक्तित्व मानिन्छन् । उनले आजै नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अत्तरिया पुगि पुनर्वास नगरपालिका वडा नम्बर ४ लगायतका नगरभित्रका विभिन्न वडाहरुमा ल्याण्डलाइन सेवा विस्तार, वडा नम्बर ४ को कोटिहोममा टेलिकमको वाइम्याक्स जडित टावर र साविकको परासन गाविस अन्तरगत नयाँ एस्चेन्ज सेवा स्थापनाका लागि डेलिगेसनमा भएका मागहरुको ध्यानाकर्षण गराउदैँ यथासिघ्र समस्या समाधान गर्न आग्रह गरे । उनले आफ्नो वडालाई आधुनिक युग अनुसार फ्री वाइफाई सेवा दिन तयारी गरेका थिए । तर फ्री वाइफाई सेवा दिन झन्झटिलो प्रक्रिया देखिएपछि वडामा नेपाल टेलिकमको ल्याण्डलाइन सेवा र ADSL सेवा विस्तार गर्न लागिपरेका छन । वडावासीले आधुनिक जमाना अनुसार टेलीफोन र ईन्टरनेटको सुविधा पाउनुपर्ने हकअधिकार भएकाले आफु त्यसका लागि प्रयासरत रहेको बताउनुभयो । उनले आफ्नो वडामा फुलभोल्टेज सहितको विद्युत, सबैमा ईन्टरनेटको पहुँच, खाल्डाखुल्डी रहित सडक, भ्रष्टाचार रहित कार्यालय, सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा, गाउँघर क्लिनिक, खानेपानी, सिंचाइ, सुरक्षा, सीमा सुरक्षा लगायतमा आफ्नो विशेष प्राथमिकता रहेको बताए ।

गुण्डा र तस्करहरुको दिनगन्ती सुरुः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताएका छन् ।चन्द्रागिरि नगरपालिका-२ लाई फ्री वाइफाइ वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै यस्ता व्यक्तिहरुको दिनगन्ती सुरु भएको बताएका हुन् ।

सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिए । ‘ अािर्थक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ । दलाली तन्त्र र सिण्डकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन,’ गृहमन्त्री बादलले भने,’ सरकार विकास गर्न प्रतिबद्धता गर्न तयार छ ।’अर्काे फरक प्रशंगमा मन्त्री थापाले काममा आलटाल गर्ने ठेकेदारलाई सरकारले कारवाही अघि बनाइसकेको भन्दै सरकार त्यतिकै नबस्ने बताए ।

४३ प्रतिशत किशोरी महिनावारीको समयमा स्कुल जाँदैनन्

काठमाडौं ।
     महिनावारीको समयमा ४३ प्रतिशत किशोरीहरु स्कुल नजाने गरेको एक सरकारी अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालयले पर्सा, बाजुरा र डडेलधुरामा गरेको अध्यननले यस्तो देखाएको हो । प्रदेश नम्बर ६ का २.३ प्रतिशत किशोरी महिनावारीको समयमा स्कुल नजाने गरेको र ३९ प्रतिशतले शौचालय प्रयोग नगरेको मन्त्रालयले गरेको अध्ययनमा देखिएको छ । त्यस्तै, प्रदेश नम्बर ७ मा ७१ प्रतिशत किशोरी महिनावारीको समयमा स्कुल नजाने गरेका छन् । शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले अझै पनि कतिपयस्कुलहरुमा महिलामैत्री शौचालय नहँुदा महिनावारीको समयमा किशोरीहरु शौचालय नजाने गरेको बताए । “महिलामैत्री शौचालय सबै विद्यालयमा हुनपर्छ । पाठ्यक्रममा समावेश भए पनि महिनावारीको विषयमा पढाउने शिक्षक अभाव भएको छ,” उनले भने । जनस्वास्थ्य विज्ञ राधा पौडेलले महिनावारी महिलाको नियमित प्रक्रिया भएकाले घरबाहिर बस्नुपर्ने, धारा छुन नहुने, दूधजन्य वस्तु खान नहुने आदि सबै अन्धविश्वास भएको बताइन् । यसका लागि चेतना जगाउन सरकारी स्तरबाट कार्यक्रम हुनुपर्ने उनको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले महिलामैत्री शौचालय नभएका सरकारी अस्पताल तथा स्वास्थ्य चौकीमा आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गरेर महिलामैत्री शौचालय बनाइने बताए ।युनिसेफले दुई वर्षअघि १५ देखि४९ वर्ष उमेर समूहका करिब १५ हजार महिलामा गरेको अध्ययनमा पनि नेपालमा ७१ प्रतिशत महिला तथा किशोरी महिनावारीको समयमा घरबाहिर बस्ने गरेको पाइएको थियो ।कानुनविद् दिनेश सत्यालले सरकारले बनाएको छाउपडी विधेयकअनुसार छाउपडीमा बस्न लगाउनेलाई ३ हजार जरिवाना र एक वर्षको कैदको सजाय रहेको बताए  ।आज (सोमबार) देशैभर विभिन्न संघसंसस्थाले राष्ट्रिय मर्यादित र महिनावारी दिवस मनाइरहेका छन् । यसै अवसरमा काठमाडौंमा स्वास्थ्य मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, शिक्षा मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्राालयले गरेको एक कायक्रममा विज्ञहरुले नेपालमा अझै पनि महिनावारीको समयमा स्कुल नजाने र घरमा बस्न नपाउने तथा स्वस्थकर खानेकुराबाट समेत वञ्चित हुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे ।

Sunday, May 27, 2018

‘प्रवेश तामाङ हत्या काण्ड’ मा आरोपित ६ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु, ८ जना विरुद्ध किटानी जाहेरी, ४ जना अझै फरार

हेमन्त न्यौपाने
पुनर्वास, जेठ १३

      पुनर्वास नगरपालिका वडा न. २ अरनिकोबस्ती निवासी उद्योगपति यम बहादुर तामाङका २२ बर्षिय छोरा प्रवेश तामाङ(काले)को बुधबार बीभत्स हत्या भएको प्रहरी मुचुल्काबाट खुल्न आएको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले मृतकका बुवा, हजुरबुवा, हजुरआमा, सुबेदार तामाङ, मायावती तामाङ र राम बहादुर तामाङलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताउनुभयो ।  

मृतक प्रवेश तामाङकी आमा बेतमाया कंडेलका मामा पुनर्वास नगरपालिका वडा नम्बर ४ निवासी राम बहादुर थापाले दिनुभएको किटानी जाहेरीमा अपराधमा संलग्न व्यक्तिहरु कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नम्बर २ अरनिकोबस्ती बस्ने सुब्बा तामाङको छोरा ५० बर्षिय राम बहादुर तामाङ, मृतकका बुवा यम बहादुर तामाङ, चेता तामाङको ३५ बर्षिय छोरा सुबेदार तामाङ, मृतकका बुवा यम बहादुर तामाङकी जेठी श्रीमती गीता तामाङ(उर्जु), विशाल तामाङको श्रीमती मायावती तामाङ, धेनलामा तामाङको २५ बर्षिय छोरा नोलामा तामाङ भन्ने दिपेश तामाङ, दिपेश तामाङको श्रीमती भाईली तामाङ भन्ने भमिता तामाङ, तर्लम तामाङको ३७ बर्षिय छोरा सागर तामाङ गरि पहिलो जाहेरीमा बुवा मात्र र शुक्रबार साँझ दिनुभएको पछिल्लो जाहेरीमा ७ जना थप गरि ८ जना विरुद्ध किटानी जाहेरी दिनुभएको छ ।

किटानी जाहेरीमा उल्लेख भएका ४ जना व्यक्तिहरु मृतककी सौतेनीआमा गीता तामाङ, भमिता तामाङ, दिपेश तामाङ र सागर तामाङ अहिलेसम्म फरार रहेको प्रहरीले बताएको छ । बुधबार मृतक प्रवेश तामाङलाई कटहरको रुखमा बाधेर निर्मम तरिकाले कुटपिट भएको स्थानीयहरुले बताए । शव परिक्षण गर्दा आँखा फुटेको, टाउकोमा ठुलाठुला चोट लागेको, छातीमा चोट, हात भाँचिएको र अण्डकोष फुटेको पाईएको मृतकका आफन्त राम बहादुर थापाले बताए ।

हत्याको जिम्मा अपांग समेत रहेका मृतकका हजुरबुवा कान्छा तामाङ एक्लैले लिएपछी घटना झनै शंकास्पद बनेको छ । प्रहरीले बुधबार प्रहरी सम्पर्कमा नआएका मृतकको बुवा यम बहादुर तामाङलाई विहिबार नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको छभने अन्य व्यक्तिहरुलाई शुक्रबार र शनिबार नियन्त्रणमा लिएको हो ।

पत्रकारसंगको कुराकानीमा मृतकका हजुरबुवा कान्छा तामाङले सुरुमा आफुले हत्या नगरेको बताएपनि पछि स्वीकार गरेका छन । उनले आफुले ईट्टा प्रयोग गरी आफ्नै नातिको हत्या गरेको बताए । धेरै झगडा गर्ने, निउ खोज्ने गरेपछि इट्टा हान्न आफू बाध्य भएको बताए । मृतककी आमा बेतमाया कंडेल यम बहादुर तामाङलाई छोडी अर्कै व्यक्तिसंग बिहेगरि हाल वैदेशिक रोजगारीमा हुनुहुन्छ  ।

Wednesday, May 23, 2018

मन्त्री विना मगरले बुझाईन सम्पति विवरण


हेमन्त न्यौपाने
कञ्चनपुर, जेष्ठ ०९ 
     कञ्चनपुर क्षेत्र नम्बर १ बाट चुनाव जितेर हाल नेपाल सरकारको खानेपानीमन्त्री बन्नुभएकी विना मगरले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक भएको छ ।  ।

उहाँले सार्वजनिक गर्नुभएको सम्पतिमा विवरणमा ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको उल्लेख छ ।

जसलाई उहाँले पैतृक सम्पत्ति उल्लेख गर्नुभएको छ । अन्य विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि बताउनुभयो । मन्त्री मगरले नगद भने सार्वजनिक गर्नुभएन । उहाँले भन्नुभयो एभरेष्ट बैंकमा खाता छ तर ब्याएन्स छैन । साथै, प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि विबरणमा उल्लेख छ ।

Monday, May 21, 2018

पुनर्वासको डेलिगेसन टोलिद्वारा ११ वटा मन्त्रालयमा छुट्टाछुट्टै माग पत्र पेश

खानेपानी मन्त्री विना मगर सहितको टोलिद्वारा पुनर्वासको सर्वाङ्गिण विकासका लागि केन्द्र सरकारसंग आवश्यक बजेट माग

______विशेष प्राथमिकता _____

# यथासिघ्र सीमा समस्या समाधान
# सशस्त्र प्रहरी क्याम्पको स्थापना
# एमबिबिएस चिकित्सक सहितको ५० शैयाको अस्पताल
# पुनर्वास जोड्ने ५० किलोमिटर कालोपत्रे रिङरोड
# कृषि क्याम्पस स्थापना
# विद्युत प्राधिकरणको सव-पावर स्टेसन सहितको शाखा
# आधुनिक ल्याण्डफिल्ड साइडको निर्माण
# विस्थापित छोटी भन्सारलाई पुनःस्थापन
# सुकुम्बासी समस्या समाधान

हेमन्त न्यौपाने
पुनर्वास, जेष्ठ ०६
   

   समृद्ध पुनर्वासको खाका लिएर काठमाडौं पुगेको पुनर्वासको  डेलिगेसन टोलिले शुक्रबार सम्ममा ११ वटा छुट्टाछुट्टै मन्त्रालयमा पुगि माग पत्र पेश गरेको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाको नेतृत्वमा कञ्चनपुरबाट हिडेको टिमलाई खानेपानी मन्त्री विना मगर, राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट, प्रदेश सभा सदस्य तारा लामा तामाङ लगायतले साथ र सहयोग गरेका थियो ।

टोलिले पुनर्वासको सीमा समस्या, सुकुम्बासी समस्या, कटान लगायतका समस्या समाधान गर्दै विकासे योजना लिएर केन्द्र सरकारका विभिन्न मन्त्रालयमा ढोका ढकढ्क्याएको छ । टोलिले माग गरेका बिषयहरु यथासिघ्र सम्बोधन गरिने मन्त्रीहरुले आश्वासन समेत दिएका छन ।

परराष्ट्र मन्त्रालय समक्ष माग

टोलिले नेपालभारत सीमा विवाद यथासिघ्र समाधान गराउन, भारतीय पक्षद्वारा नेपाली भुमि मिच्दै स्थानीयलाई आतंकित पारेकाले अतिक्रमित नेपाली भु-भाग फिर्ता गराई राष्ट्रिय स्तरबाट सीमाको स्पष्ट निर्धारण गर्ने व्यवस्था मिलाउन माग गरेको छ त्यस्तै नेपालभारत सीमा क्षेत्रमा जोडिएको भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट बर्षेनि ठुलो मात्रामा आउने जंगली जनावरका कारण नेपाली जनधनको क्षति हुँदै आईरहेकोमा यस क्षेत्रमा विद्युतिय तारबार गर्ने व्यवस्था मिलाईदिनु हुन भनी माग गरिएको छ ।
सीमा क्षेत्रमा हुनसक्ने अपराधीक गतिविधि न्यूनीकरण गर्न तथा सीमा क्षेत्रको नियमित रेखदेख गर्न सीमा क्षेत्रका विभिन्न स्थानमा सशस्त्र प्रहरी क्याम्प व्यवस्था गरिदिन हुन भनी माग गरिएको छ । नेपाल विद्युत प्राधिकरणको सव-पावर स्टेसन सहितको शाखा व्यवस्था गर्न त्रिभुवनबस्ती स्वास्थ्यचौकीलाई ५० शैयाको बेड सहित एमबिबिएस चिकित्सक रहने गरि स्तरोन्नति गर्ने व्यवस्था मिलाइदिनु हुन भनी माग गरिएको छ ।
________________________________________

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष माग

यस मन्त्रालयमा समेत सीमा समस्याका कुरालाई महत्त्वका साथ उठाईएको छ । पुनर्वास नगरपालिकाको आईबिआरडी बजारमा आधुनिक कम्प्लेक्स सहितको भ्युटावर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिन हुन भनी माग गरिएको छ । वडा नम्बर ११ को मोहना नदिमा रहेको पिकनिक स्पट, वडा नम्बर १० को दोदा नदि किनाराको पिकनिक स्पट, वडा नम्बर ८ को किशान जनजागरण वनको पिकनिक स्पट, वडा नम्बर ११ मा रहेको सिद्धदेवी धाम, वडा नम्बर ९ को प्याराताल, ४ को बन्दाताल, वडा नम्बर ४ कै कोटिहोम क्षेत्र, वडा नम्बर १ को कालेश्वर मन्दिर जस्ता पर्यटकिय क्षेत्रको विकासका लागि आवश्यक बजेट बिनियोजन गरियोस भनी माग गरिएको छ ।

________________________________________

वन तथा वातावरण मन्त्रालय  समक्ष माग

यस मन्त्रालयमा नेपालभारत सीमा क्षेत्रमा जोडिएको भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट बर्षेनि ठुलो मात्रामा आउने जंगली जनावरका कारण नेपाली जनधनको क्षति हुँदै आईरहेकोमा यस क्षेत्रमा विद्युतिय तारबार तथा अन्य कुनै दीर्घकालीन योजना व्यवस्था मिलाईदिनु हुन भनी मागपत्रमा उल्लेख गरिएको छ ।

यस मन्त्रालयमा समेत वडा नम्बर ८ मा रहेको जनजागरण सामुदायिक वन क्षेत्रको पिकनिक स्पटमा भुटावर निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको छ ।
________________________________________

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष माग

पुनर्वास नगरपालिका वडा नम्बर ३ मा कृषि क्याम्पको स्थापना गरियोस, नगरपालिकामा एउटा नमुना विद्यालय स्थापना गरियोस, एउटा प्राविधिक क्याम्पस स्थापना गरिदिन हुन भनी मागपत्रमा उल्लेख गरिएको छ । वडा नम्बर ६ मा रहेको जनता बहुमुखी क्याम्पसमा भवन अभाव रहेको हुँदा १० कोठे भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरियोस भनी माग गरिएको छ ।

________________________________________

खानेपानी तथा सरसफाइ मन्त्रालय समक्ष माग

यसै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका साझा उम्मेदवार भएर प्रतिनिधि सभासदस्य जितेर हाल नेपाल सरकारको खानेपानी मन्त्री बन्नुभएकी मन्त्री विना मगर रहनुभएको यस मन्त्रालयमा टोलिले धेरै आशा र अपेक्षा गर्दै लामो सुचिको मागपत्र प्रस्तुत गरेको छ । सीमा समस्या यथासिघ्र समाधान, भारतीय जंगलबाट आउने जंगली जनावर नियन्त्रण गर्न आवस्यक तारवार तथा अन्य व्यवस्था मिलाईदिन, त्रिभुवनबस्ती स्वास्थ्यचौकीलाई ५० शैयाको बेड सहित एमबिबिएस चिकित्सक रहने गरि स्तरोन्नति र वडा नम्बर १० र ११ मा समेत स्वास्थ चौकीको लागि व्यवस्था मिलाइदिनुहुन भनी मागपत्रमा लेखिएको छ । त्यस्तै, प्रत्येक वडामा स्वास्थ्य क्लिनिक स्थापना, पुनर्वास नगरपालिकाको सबै क्षेत्र छुनेगरि ४० किलोमिटरको ४ लेनको चक्रपथ निर्माण, दोधा नदिमा तटबन्धनको व्यवस्था, त्रिभुवनबस्ती स्वास्थ्यचौकी देखि दोधा पुल सम्मको कृषि सडकलाई कालोपत्रे गर्न आवश्यक प्रवन्ध मिलाई बजेट विनियोजन गराईदिन हुन भनी माग गरिएको छ ।

त्यस्तै, पुनर्वासको पुरानो अनि अति आवश्यक सुकुम्बासी समस्या समाधानका लागि छिटो नितिगत व्यवस्थापन गरिदिन, पुनर्वास नगरपालिकाको विस्थापित छोटी भन्सारलाई पुनःस्थापन र स्तरउन्नतिका लागि आवश्यक व्यवस्था मिलाईदिन, शहरी विकासका लागि व्यवस्थित तथा उच्च प्रविधियुक्त ढल निकास निर्माणको व्यवस्था गतिदिन, विशिष्ट सामाजिक, धार्मिक क्षेत्रको प्रवर्द्धन गर्न धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास तथा भ्युटावरको निर्माण गरिदिन, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पुनर्वासमा उखुको सुपर जोन, केराको ब्लक कार्यक्रम उपलब्ध गराईदिन, मझौला तथा ठुला सिंचाइ आयोजनाहरु व्यवस्था गरिदिन, कृषि सडकहरुको स्तरोन्नति गरिदिन, खेलकुदका लागि छुट्याएको जमिनमा कवर्ड हलको स्थापना गराईदिन, वडा नम्बर ११ को डोके बजार, वडा नम्बर १० को चकमलि बजार, वडा नम्बर ८ प्रगती बजार र वडा नम्बर ४ को आनन्द बजारमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गराईदिन तथा  नगरपालिकामा आधुनिक ल्याण्डफिल्ड साइडको निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिनुहुन माग गरिएको छ ।

________________________________________

भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय समक्ष माग

यस मन्त्रालय पुनर्वास नगरपालिकाको सुकुम्बासी समस्या समाधानका लागि छिटोभन्दा छिटो नितिगत व्यवस्था गरिदिन, नगरपालिकामा एउटा कोल्डस्टोर स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिदिन, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पुनर्वासमा उखुको सुपर जोन, केराको ब्लक कार्यक्रम उपलब्ध गराईदिन, कृषिमा आत्मनिर्भरका लागि साना सिंचाइ परियोजना लागू गरिदिन, नगरपालिकामा एउटा कृषि उत्पादन वस्तुहरुको संकलन केन्द्र स्थापना गरिदिन भनी मागपत्रमा उल्लेख गरिएको छ । 

________________________________________

भौतिक योजना पुर्वाधार तथा यातायात मन्त्रालय समक्ष माग

विकासे योजनाहरुका लागि मानिएको भौतिक योजना मन्त्रालयमा पहिलो बुँदामा पुनर्वास नगरपालिकाको प्रत्यक वडा छुनेगरि लगभग ५० किलोमीटर चार लेन सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन भनी मागपत्र पेश गरिएको छ ।

पुनर्वास नगरपालिका ११ को ६ किलोमीटर भित्री सडक कालोपत्रेका लागि आवश्यक बजेट व्यवस्था गरिदिन, दोधा पुल देखि परासन स्वास्थ्य चौकी सम्मको सडक कालोपत्रेका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, नगरपालिका भित्रका सम्पुर्ण कृषि सडकको स्तरोन्नति गरि कालोपत्रेका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, वडा नम्बर १० को लमौया खोलामा पक्की पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गराईदिनहुन, वडा नम्बर २ भागेश्वर सुगर मिल हुँदै लालझाडी गाउँपालिका १ को बिचमा दोदा नदिमा झोलुङ्गे पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, पुनर्वास नगरपालिका वडा नम्बर ११ को मोहना नदि किनारामा र वडा नम्बर ५ र १० मा पर्ने दोदा नदि किनारामा शवदाह गृह निर्माणका लागि आवश्यक बजेट विनियोजन गराईदिनहुन भनी माग गरिएको छ ।

________________________________________

खेलकुद मन्त्रालय  समक्ष माग

पुनर्वासको खेलकुद विकासको योजना सहित टोलिले खेलकुद मन्त्री जगत विश्वकर्मालाई भेटी वडा नम्बर ५ मा निर्माणाधीन कभर्ड हललाई आधुनिक कभर्ड हल बनाउनका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजन गराइदिन हुन, वडा नम्बर ३को खेलमैदान निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, खेलकुद सामाग्रीका लागि पुनर्वास नगरपालिकामा आवश्यक बजेट उपलब्ध गराइदिन भनी माग गरेको छ ।

________________________________________

page 3

गृह मन्त्रालय सामक्ष माग

टोलिले गृह मन्त्री राम बहादुर थापालाई भेटी नेपालभारत सीमा विवाद यथासिघ्र समाधान गराउन, भारतीय पक्षबाट पटकपटक सीमा मिच्दै स्थानीयलाई आतंकित पारेकाले अतिक्रमित नेपाली भु-भाग फिर्ता गराई राष्ट्रिय स्तरबाट स्पष्ट सीमा निर्धारण गर्ने व्यवस्था मिलाउन हुन, सीमा क्षेत्रमा हुन सक्ने अपराधीक गतिविधि न्यूनीकरण गर्न तथा सीमा क्षेत्रको नियमित रेखदेख गर्न सीमा क्षेत्रका विभिन्न स्थानमा सशस्त्र प्रहरी क्याम्प व्यवस्था गरिदिनुहुन, वडा नम्बर १० को पचकडिया प्रहरी चौकि विस्तापित भएकाले पुनःस्थापनका लागि आवश्यक प्रवन्ध मिलाईदिनुहुन, वडा नम्बर ३ को अस्थायी प्रहरी चौकीलाई स्थायी गरि भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गराईदिनुहुन भनी मागपत्र पेश गरेको।छ ।
________________________________________

सुचना तथा सञ्चार मन्त्रालय  समक्ष माग

पुनर्वास नगरपालिका भित्र नेपाल टेलिकम टावरको क्षमता विस्तार गरिदिनुहुन, पुनर्वास नगरपालिकाको सम्पुर्ण वडाहरुमा ल्यण्डलाइन सेवा विस्तार गरिदिनुहुन र मोबाइल ४ जि सेवाको समेत विस्तार गरिदिनुहुन, पुनर्वास नगर भित्रका सबै वडाहरुमा ईन्टरनेट एडिएसएल सेवा विस्तार गरिदिनुहुन भनी माग गरिएको छ ।

________________________________________

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय  समक्षमाग

पुनर्वास नगरपालिका ६ मा रहेको नेपाल विद्युत प्राधिकरणको जमिनमा सवस्टेसन तथा विद्युत शाखा स्थापना गरिदिनुहुन, पुनर्वास नगरपालिकाका सम्पुर्ण वडाका लागि ३० थान १०० केभीको ट्रान्सर्फमर उपलब्ध गराईदिनुहुन, पुनर्वास नगरपालिका वडा नम्बर ११ को देउराली नालामा लगभग ३ किलोमिटर तटबन्धका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, पुनर्वास नगरपालिका वडा नम्बर ११, २ र ४ मा रहेका डिप ट्युवेललाई सिंचाइ प्रणालीमा परिणत गरि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, पुनर्वास नगरपालिकाका सम्पुर्ण वडाहरुमा ११ वटा डिपट्युवेल तथा ५०० वटा स्यालो ट्युवेलका लागि आवश्यक बजेट बिनियोजन गराईदिनुहुन भनी माग गरिएको छ ।