काठमाडौं ।
महिनावारीको समयमा ४३ प्रतिशत किशोरीहरु स्कुल नजाने गरेको एक सरकारी अध्ययनले देखाएको छ । शिक्षा मन्त्रालयले पर्सा, बाजुरा र डडेलधुरामा गरेको अध्यननले यस्तो देखाएको हो । प्रदेश नम्बर ६ का २.३ प्रतिशत किशोरी महिनावारीको समयमा स्कुल नजाने गरेको र ३९ प्रतिशतले शौचालय प्रयोग नगरेको मन्त्रालयले गरेको अध्ययनमा देखिएको छ । त्यस्तै, प्रदेश नम्बर ७ मा ७१ प्रतिशत किशोरी महिनावारीको समयमा स्कुल नजाने गरेका छन् । शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले अझै पनि कतिपयस्कुलहरुमा महिलामैत्री शौचालय नहँुदा महिनावारीको समयमा किशोरीहरु शौचालय नजाने गरेको बताए । “महिलामैत्री शौचालय सबै विद्यालयमा हुनपर्छ । पाठ्यक्रममा समावेश भए पनि महिनावारीको विषयमा पढाउने शिक्षक अभाव भएको छ,” उनले भने । जनस्वास्थ्य विज्ञ राधा पौडेलले महिनावारी महिलाको नियमित प्रक्रिया भएकाले घरबाहिर बस्नुपर्ने, धारा छुन नहुने, दूधजन्य वस्तु खान नहुने आदि सबै अन्धविश्वास भएको बताइन् । यसका लागि चेतना जगाउन सरकारी स्तरबाट कार्यक्रम हुनुपर्ने उनको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले महिलामैत्री शौचालय नभएका सरकारी अस्पताल तथा स्वास्थ्य चौकीमा आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गरेर महिलामैत्री शौचालय बनाइने बताए ।युनिसेफले दुई वर्षअघि १५ देखि४९ वर्ष उमेर समूहका करिब १५ हजार महिलामा गरेको अध्ययनमा पनि नेपालमा ७१ प्रतिशत महिला तथा किशोरी महिनावारीको समयमा घरबाहिर बस्ने गरेको पाइएको थियो ।कानुनविद् दिनेश सत्यालले सरकारले बनाएको छाउपडी विधेयकअनुसार छाउपडीमा बस्न लगाउनेलाई ३ हजार जरिवाना र एक वर्षको कैदको सजाय रहेको बताए ।आज (सोमबार) देशैभर विभिन्न संघसंसस्थाले राष्ट्रिय मर्यादित र महिनावारी दिवस मनाइरहेका छन् । यसै अवसरमा काठमाडौंमा स्वास्थ्य मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, शिक्षा मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्राालयले गरेको एक कायक्रममा विज्ञहरुले नेपालमा अझै पनि महिनावारीको समयमा स्कुल नजाने र घरमा बस्न नपाउने तथा स्वस्थकर खानेकुराबाट समेत वञ्चित हुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरे ।
Monday, May 28, 2018
४३ प्रतिशत किशोरी महिनावारीको समयमा स्कुल जाँदैनन्
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment