सम्झना अलि शक्तिशाली हुन्छ, यसैले त हरेकलाई आफ्ना सम्झनाहरु प्यारा लाग्छन् । चाहे त्यो व्यक्तिगत घटनाक्रमसँग जोडिएका हुन् वा चाडपर्व या मौसमसँग सम्बन्धित सम्झनाहरु नै किन नहुन् ।
चाडपर्वको कुरा गर्दा अधिकांश नेपालीले उल्लासका साथ मनाउने बडा दसैँको रौनक छ अहिले । यहि पर्वको उत्सवमा रमाइरहेकाहरु बिचमा प्रायः सुन्ने गरिन्छ ‘हाम्रो पालामा यस्तो हुन्थ्यो दसैँ’ । धेरैलाई हुर्किसकेपछिका मनाइरहेका दसैँ भन्दा बाल्यकालमा मनाएका दसैँको सम्झना प्रिय लाग्छ ।
कतिलाई गाउँमा आमा दिदीहरुले ढिकीमा कुटेको चिउराको बासनाले दसैँको संकेत गरेको गरेको हुन्थ्यो । यस्तै त्यसमा मिसिने पारिजात फूलको सुगन्धले दसैँ आएको पक्का गरिदिन्थ्यो । यस्तै विविध दसैँ स्मृति छन् काँठसँग जोडिएका धेरैको ।
विशेषगरी दसैँका रौनक गाउँघरमा बढी देखिन्छ । काठमाडौँ उपत्यकाको काँठ क्षेत्रमा पनि गाउँघरको झल्को पाइन्छ । काँठको दसैँले पनि गाउँघरको दसैँको न्यास्रो मेटाउँछ । तर दसैँको पुरानो रौनक कम हुँदै गएको पाका उमेरकाहरुले मात्रै होइन युवाहरुले नै पनि गर्न थालेका छन् ।
त्यसमाथि काठमाडौँको काँठ क्षेत्रको दसैँको पुरानो रौनक लगभग पूरै हराएको जस्तो लाग्न थालेको छ । केही दशकअघिसम्म दसैँले छपक्कै छोप्ने काठमाडौँ उपत्यकाको काँठ क्षेत्रमा अचेल दसैँ ‘दसैँ जस्तो’ हुन छाडेको छ । बढ्दो शहरीकरण र आधुनिकताले काँठमा दसँैको मौलिकता हराएको छ ।
शहरमा हुने गतितिधिले सायदै छुने काँठमा दसैँमा देखिने परम्परागत रौनकता हराउँदै गएको अनुभव सुनाउनु हुन्छ संस्कृतिविद एवं भक्तपुरका स्थानीय बासिन्दा ओम धौभडेल । नयाँ लुगा लगाउने र मासु खाने पर्वका रुपमा चिनिए पनि यी दुवै चिजको सहजताले दसैँको रौनकता हटेको छ । धौभडेल भन्छन्, ‘मासु खान र नयाँ कपडा लगाउन दसैँ नै कुर्नुपर्ने बाध्यता हटेकाले पनि दसैँको रौनकता कम भएको हो।’
काँठ क्षेत्रका बासिन्दामा आफ्नै उत्पादनले दसैँ मनाउने चलन हटेको छ । दसैँका लागि भनेर ६ महिना अघिदेखि खाद्यन्न जोहो गर्ने परम्परा रहेकोमा अहिले बजारबाट किनेर ल्याउने चलनमा परिणत भएको छ । शंखरापुर नाङ्लेभारेका शिक्षक गोविन्द आचार्य आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘हामी केटाकेटी हुँदा दसैँ नजिकिएसँगै चिउरा, चामल, तेलको जोहो गर्न भ्याइ नभ्याइ हुन्थ्यो । खसी बोका ६ महिना अघिदेखि घरमै पालिन्थ्यो । तर, अहिले सबै चिज बजार आश्रित भएको छ ।’
काठमाडौँको आलापोटमा जन्मेका प्रदेशसभा–३ का सांसद रामेश्वर फुयाल पनि ढिकीमा चिउरा कुटेर गाउँ नै मगमग बास्ना आएपछि दसैँको रौनक छाउने सम्झन्छन् । उनी भन्छन्, ‘जब आमा, भाउजु, दिदीहरुले ढिकीमा चिउरा कुट्नु हुन्थ्यो तब गाउँ नै मगमगाउँथ्यो । तर, अहिले चिउरा मात्र होइन धेरै चिज घरमा बन्न छाड्यो । सबै बजारको भर ।’
बढ्दो शहरीकरणले काँठमा खुला क्षेत्र निक्कै कम भइसकेको छ । खेतबारी घर घडेरीमा परिणत भइसकेका छन् । जसले दसैँका बेला देखिने खुला निलो आकाश, खेतमा झुलेका धानका बाला, ढकमक्क फूल फुलेका बारी, पारितजात फूलको बास्ना, लटरम्म फलेका फलफूलका बोटविरुवा हराएका छन् । यसले दसैँका बेला हुने प्राकृतिक माहोल सम्झनामा मात्र सीमित भएको संस्कृतिविद् धौभडेल बताउँछन् ।
काँठको दसैँबाट हराएको अर्को महत्वपूर्ण चिज हो लिङ्गे र रोटे पिङ्ग । प्रशस्त खुला ठाउँका कारण काँठका चोक चोकमा अग्लाअग्ला बाँस गाडेर लिङ्गे पिङ्ग हाल्ने चलन हो । तर, अहिले सिंगो काँठ घुम्दा पनि पिङ्ग देख्न मुस्किल पर्न थालेको छ । सांसद रामेश्वर फुयाँल पुराना दसैँ सम्झिँदै भन्छन्, ‘हामी केटाकेटी हुँदा चौरमा पिङ्ग खेल्न पाइन्थ्यो । टोलैपिच्छे लिङ्गे पिङ्ग हालिन्थ्यो । तर, अहिले पिङ्ग सम्झनामा मात्रै हुन थालेको छ ।’
दसैँ लागेसँगै घरमा कमेरो, रातो माटो पोत्ने घर आँगन सफा सुघर गर्ने चलन लगभग हटेको छ । मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरेसँगै माटो कमेरो काठका बासिन्दाका लागि एकादेशको कथा जस्तै भइसकेको छ । सांसद फुयाल गाउँभरिका आमा दिदीहरु लस्कार लागेर काभ्रेको साँगासम्म रातो माटो लिन गएको सम्झन्छन् ।
आधुनिकतासँगै काठबाट सामूहिकता पनि बिस्तारै हराउँदै गएको छ । दसँैका बेला बाटो घाटो खन्ने, माटो कमेरो लिन डाँडा पाखामा जानुपर्ने बाध्यता हटेसँगै सामूहिकता कमी आएको छ ।
साथीभाइ भेला हुने, सामाजिक संघसंस्थाले चेतना मुलक कार्यक्रम गर्ने, आफ्ना पुराना साथी सोधी खोजी भेट्ने चलनमा पनि निक्कै कमी भएको छ । इन्टरनेट र स्मार्ट फोनका कारण समाजमा सामूहिकता हराएको संस्कृतिविद् धौभडेलको अनुभव छ ।
No comments:
Post a Comment