आर्थिक अनियमितता भएको आशंका
जनक विष्ट
कञ्चनपुरको लालझाडी गाउँपालिकाकै पहिलो कालोपत्रे सडकमा खबरदारी गर्दा गर्दै मापदण्ड विपरीत काम भएको स्थानीयले आरोप लगाएका छन्। लालझाडी गाउँपालिका वडा नम्बर २ कन्जमा गाउँपालिकामै पहिलो पटक कालोपत्रे गरिएको सडक एक महिना नपुग्दै फुट्न थालेपछि स्थानीयले निर्माण व्यवसायीले मापदण्ड विपरित काम गरेको आरोप लगाएका हुन्।
लालझाडी गाउँपालिका नै पक्की सडक विहिन रहेको अवस्थामा १६ लाखमा ठेक्का सम्झौता गरी कालोपत्रे गरिएको वडा नम्बर २ को कन्जको तीन सय २६ मिटर सडकमा निर्माण व्यवसायीले कमसल काम गरेको आरोप स्थानीयले लगाएका हुन् । करिब एक महिना पहिले मात्र कालोपत्रे गरिएको सडक भत्किन थालेको छ भने कालोपत्रे पनि बजेट जोगाउनका लागि निकै पातलो गरिएको छ।
स्थानीय मदन रानाले सडक कालोपत्रे गर्ने बेला देखी नै मापदण्ड विपरीत काम भएको भन्दै खबरदारी गर्दा गर्दै पनि निर्माण व्यवसायीले कमसल काम गरेको बताए। गाउँपालिकामै पहिलो पटक कालोपत्रे गरिएको सडक नमुना हुनुपर्ने बेला महिना दिनमै भत्कीने बनेपछि समाजका अगुवा, लालझाडी गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा आर्थिक चलखेल भएको स्थानीय दिनेश कुमार रानाले बताए।
विभिन्न स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको मिलमतोमा आर्थिक अनियमितता गर्दै मापदण्ड विपरीत विकास निर्माणका काम भइरहेको जनगुनासो बढिरहेका बेला लालझाडी गाउँपालिकामा पनि आर्थिक अनियमितता गर्नका लागि गुणस्तर हिन काम गरेको पाईएको हो।
तर गाउँपालिकाले भने दाउत निर्माण सेवाले ठेक्का लिएर कालोपत्रे गरिएको सो सडकमा प्राविधिक मूल्याङकन गर्न बाँकी रहेको जनाएको छ। ठेकेदारलाई भुक्तानी पनि नदिइएकाले सडकको गुणस्तरको अवस्था मापन गरेर अगाडी बढ्ने लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जनाए। साईकल चलाउदा समेत कालोपत्रे उप्किरहेको सो सडकमा कमसल काम भएको विषयमा प्रतिक्रिया माग्न खोज्दा दाउत निर्माण सेवाका सञ्चालक दाउत तामाङ भने गाउँपालिका कार्यालयबाटै वेपत्ता भएका थिए।
सडक पूर्वाधारमा निकै पछाडी रहेको लालझाडी गाउँपालिकाले पहिलो पटक कालोपत्रे गरेको तीन २६ मिटर सडकमै आर्थिक अनियमितता गरेर जनप्रतिनिधीले नै कमसल काम गरेपछि स्थानीय निराश भएका छन् भने अगामी दिनमा कार्यान्वयन हुने सडक योजनामा सशक्त खबरदारी गर्ने पाठ पनि सिकेको बताएका छन्।
No comments:
Post a Comment