Friday, February 22, 2019

खाडी भन्दा अमेरिका बाट आउने रेमिटेन्स धेरै




मुख्यतः विद्यार्थी जाने देश अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट रेमिट्यान्समा ३३% योगदान


हाम्रै साझा पत्रिका
कञ्चनपुर, फाल्गुन १०
      उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनी बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरूको हिस्सेदारी पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एकतिहाइ त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् ।
नेपालीहरूको शैक्षिक गन्तव्यका रूपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो । नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानडा, बेलायत पनि नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ ।
गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कुल रेमिट्यान्सको झन्डै ३३.४ प्रतिशत हुन आउँछ । पछिल्लो ६ महिनामा नेपालमा कुल ४ खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसमा करिब ३० प्रतिशत योगदान शैक्षिक भिसामा गएकाहरूको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाको अनुमान छ ।
एकै वर्षमा ६० हजार विदेश अध्ययनमा, साढे पाँच वर्षमा डेढ खर्ब बिदेसियो
भिसा आवेदनमा मात्रै डेढ अर्ब खर्च, अस्ट्रेलियाका लागि मात्रै करिब एक अर्ब
हरेक वर्ष अध्ययनका लागि विदेश जान चाहनेको नेपालीको रेकर्ड तोडिने गरेको छ । ०७४/७५ मा ५८ हजार ७ सय ५८ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिएका थिए । ०७५/७६ को मंसिरसम्म २७ हजार ५७६ ले यस्तो पत्र लगेका छन् ।
यस वर्षको साउनमा ४ हजार ८ सय १६, भदौमा ६ हजार ६ सय ६४, असोजमा ५ हजार ७ सय ८८, कात्तिकमा ३ हजार ६ सय ८१ जना र मंसिरमा ६ हजार ६ सय २७ जनाले एनओसी लिएका थिए । अस्ट्रेलियाका लागि आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् ४५ हजार रुपैयाँजति भिसा आवेदन शुल्क लाग्छ । गत वर्ष विदेश गएका ५८ हजारमध्ये आधाभन्दा बढीले अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । यो आधारमा पनि करिब एक अर्ब रुपैयाँ अस्ट्रेलियाको भिसामा खर्च भएको छ ।
वर्ष ०७०/७१ मा विदेशमा अध्ययनका लागि नेपाली विद्यार्थीमार्फत शुल्कसहितको खर्चमा १५ अर्ब १२ करोड रुपैयाँ बाहिरिएको थियो । वर्ष ०७४/७५ मा आइपुग्दा यो रकम ३८ अर्ब ८ करोड रुपैयाँ पुगिसकेको छ । पछिल्ला साढे पाँच वर्षमा विदेश अध्ययनका लागि नेपालले १ खर्ब ५० अर्ब ९९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

No comments:

Post a Comment