Thursday, March 21, 2019
भीमसेनको लिङ्ग दर्शन गर्दै यौन पर्वको रुपमा मनाइयो होली
भक्तपुर – “भिमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्यूवाने म्वायक सो झायला” नेवारी भाकाको यो गीतको अर्थ हो, ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि ?’ भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा एकसातादेखि यो गीत गुञ्जिरहँदा यहाँ भीमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भिड लागेको छ । होली पूर्णिमा अर्थात आजसम्म हरेक दिन बिहान यसैगरी यो गीत गुञ्जिने गर्छ । होली पर्वको अवसरमा भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनसँगै बिदाई गर्दछन् । होली पूर्णिमासम्म सातदिनसम्म भक्तपुरमा चल्ने फागु अर्थात होली पर्व हेर्न र संगीतमा रमाउन स्थानीय सधैँ जम्मा भएर यसरी नै होलीको परम्परालाई धान्दै आएका छन् । फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इञ्च मोटो काठबाट बनेको लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा घुमाउने परम्परा छ । यसरी टोलटोलमा ल्याएपछि भिमसेनको लिङ्गका रुपमा दर्शन गर्ने परम्परा छ । घर र पसलमा घुमाएको लिङ्गलाई भक्तजनले स्पर्र्श गरी ढोग्ने र दान दक्षिणा दिने गर्दछन् । यद्यपि यसवर्ष भने लिङ्गलाई काँधमा नबोकी सवारी साधनमा राखेर घुमाइएको छ । यसरी घुमाउँदा वर्षौंदेखिको परम्परा लोप हुने र संस्कृतिमा विकृति पस्ने भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ । भक्तपुरमा होली पर्व पृथक शैलीमा मनाइन्छ, यहाको भीमसेन गुठीले परम्परादेखि नै होलीलाई यौन पर्वको रुपमा दाँज्दै आएको छ । गुठीले हरेक वर्ष झैँ यसवर्ष पनि फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनिको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ । यसलाई पूजा एवं दर्शन गर्न स्थानीयहरुको सधै बिहान आउने गर्दछन् । संस्कृतिकर्मी ओम धौभडेल भन्नुहुन्छ, ‘फागुनशुक्ल अष्टमीको दिन बिहान काठको लिङ्गलाई भक्तपुरको टोल छिमेक, घर, पसलैपिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइन्छ । नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिन्छ । चीरस्वायगू अथार्त लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा रहेको छ ।’ काठको यो लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको यानि आकारको प्वाललाई द्रौपदीको योनिका रुपमा लिने गरिएको छ । भीमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र योनिको प्रतप्कलाई यहाँका बासिन्दाले विकृतिको रुपमा नभई साँस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएको उहाँ बताउनुहुन्छ । बजार घुमाएपछि भिमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनि आकारको प्वाल भएको रातो कपडासमेत भीमसेन पाटीमा झुण्ड्याउने परम्परा छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनि आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई भीमसेन र द्रौपदीको यौन समागमको रुपमा लिइने संस्कृतिकर्मी धौभडेल बताउनुहुन्छ । सांकेतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अथार्त होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भएप नि विशेषत भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहेने गरेको छ । चीर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होलीभरि भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । ‘जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवाणको पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता किराफट्याङग्रादेखि पशुपंक्षीमा समेत छ । यौनबिनाको जीवन अधूरो हुन्छ । भिमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ’, स्थानीय श्यामलाल श्रेष्ठ बताउनुहुन्छ । मन्दिरमा झुण्ड्याएर राखिएको लिङ्ग र योनिको अवलोकन गर्न, यसको दर्शन गर्न भक्तपुरका मात्र नभई उपत्यकाकै व्यापारी, धार्मिक विश्वास राख्ने व्यक्तिहरु आउने भिमसेन गुठीयार बताउँछन् । पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वासकै आधारमा झुण्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन् । फागु पूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा रहेको स्थानीय कुमार प्रजापति बताउनुहुन्छ । यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यसवर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिस्पर्धा चल्ने गर्दछ । लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि होली समाप्त हुने गर्दछ । भीमसेनको मन्दिरको स्थापना १७ औँ शताब्दीमा राजा जगतप्रकाश मल्ल निर्माण गरेको इतिहासमा उललखे छ । भक्तपुरको मौलिक शैलीको होलीको प्रचलन त्यही समयदेखि भएको अनुमान गरिएको छ । मल्लको समयमा ने.स.७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने धौभडेल बताउनुहुन्छ । वसन्त ऋतुको आगामन फागुन महिनादेखि हुने भएको र यो समय यौन उर्जाको समय मानिने भएकोले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment