शोभा पौडेल आचार्य
कोहलपुर, चैत १७
बाँके र बर्दियामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बर्दियाको बारबर्दियामा मोटरसाइकल एक आपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ भने बाँकेको नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । साइकलमा सवार नेपालगञ्ज २० मनिकापुरका ६५ बर्षीय बलराम मिश्रलाई आज विहान कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा. ८ ख. १६८४ नम्बरको ट्रकले कारकाँदोमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका–९ बनगाईंमा आज विहान दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दिया मधुवन नगरपालिका–१ इन्द्रपुरका २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का खगेन्द्र बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो।
उनीहरुमध्ये सुरज र कृष्णाको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको भे. ८ प. ६९६८ र बिपरित दिशाबाट आइरहेको बा. ९१ प. ९३७७ नम्बरका मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको हो ।
- शोभा पौडेल आचार्य हाम्रै साझा पत्रिकाको प्रदेश ५ का संवाददाता हुनुहुन्छ ।
No comments:
Post a Comment