Tuesday, March 5, 2019

छिमेकीको ज्यादती र हाम्रो मौनता

लेख/बिचार
 —दुर्योधन बस्नेत
      गत माघ ७ गते आफन्त भेटघाटको क्रममा सुदुरपश्चिम प्रदेशमा पर्ने कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका पुगेको थिए । विकासको दृष्टिकोणबाट होस वा विचार र चेतनाका दृष्टिले यो क्षेत्र तुलनात्मक रुपमा निक्कै अगाडी बढेको पाए । भौगोलिक सुगमताका कारण पुर्बाधारका संरचना निर्माणमा सहज हुने भएकोले पनि होला लगभग सबै ठाउँमा बाटो, पानी र बिजुली पुगेको छ । हुन त सुगम भएर मात्र पनि हुँदैन । स्थानिय बासिन्दामा विकासप्रेमी भावना, मेलमिलाप र नेतृत्व बर्गमा जिम्मेवारीपन, कर्तब्यनिष्टता, लगनशिलता, प्रबल ईच्छाशक्ति, त्याग र समर्पण हुनु जरुरी छ । सायद यसैले होला पुर्नवास अगाडी बढेको पनि । ४÷५ दिनको बसाईका क्रममा यिनै विशेषताहरु पाएं मैले पुर्नवासमा जुन अनुकरण गर्न लायक छन ।

त्यहाँका बासिन्दाको एउटै दर्दनाक पिडा भनेको सिमा शुरक्षाका लागि बसेका भारतिय सिमा शुरक्षा बलको ज्यादती हो । कञ्चनपुर जिल्लाको दक्षिण भेगमा पर्ने निर्वाचन क्षेत्र नं.१ अन्र्तगतका पुर्नावास नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँ पालिकाको भु–भाग भारतको सिमा संग जोडिएको छ । जसले गर्दा भारतको नेपालप्रतिको दृष्टिकोण त्याहां प्रष्टै देख्न सकिन्छ । दुई बर्ष अगाडी मात्र २०७३ साल फागुन २६ गते भारतीय सिमा सुरक्षाबल नेपाल भित्र पसेर पुर्नवास नगरपालिकाको ४ न. वडाका निवासी गोबिन्द गौतमको आनन्द वजार नजिकै गोली हानी अमानविय रुपमा विभत्स ढंगले हत्या गरेका थिए । जुन घटनाले हरेक नेपालिको मन छिया छिया बनाएको छ । त्यसैगरी बेलौरी नगरपालिका वडा नं. १ निवासी मान वहादुर सुनुवारको लाल पुर्जा भएको जग्गा १५÷१६ बर्ष अगाडी देखी नै भारतिय सिमा शुरक्षा बलले हड्पेर खेती गर्न दिईरहेको छैन । बेलौरी नगरपालिकाको १ नं.वडा र पुर्नवास नगरपालिकाको ४ नं. वडाको भारतिय सिमामा पर्ने जङ्गे पिलर हराईरहेको छ । जुन विषयमा वारम्वार नेपाली पक्ष र भारतिय पक्ष विच विबाद परिरहन्छ । यतिबेला भारतिय शुरक्षा बलले पुर्नवास नगरपालिकाको ११ नं. वडाको भारतिय सिमामा पर्खाल लगाउने काम गरिरहेको छ । जव कि सुगौली सन्धिको नियम अनुसार दशगजाभित्र कुनै पनि मानविय हर्कत गर्न पाईने छैन । सिमामा बसोबास गर्ने नेपाली पक्षको बिरोधको बाबजुद पनि उसले पर्खाल लगाउने काम रोकेको छैन । यदी सिमामा यस्तै किसिमले एक तर्फी ढङ्गले बल मिचाई गरिरहने र राष्ट्रिय स्तरमै राज्यले नै पर्खाल लगाउन नरोक्ने हो भने सिमा निवासी स्वाभामानी अन्य नेपालीहरु प्नि गोविन्द गौतम नबन्लान भन्न सकिंदैन  । यस मामिलामा राज्य गम्भिर हुनु जरुरी छ ।
यि त केही प्रतिनिधी घटनाहरु मात्र भए । भारतिय शुरक्षा वल नेपाल भित्र पसेर सिमाका नेपालिहरुलाई हातपात, लछारपछार गर्ने, कुटपिट गर्ने गरेका कैंयौ उदाहरणहरु भेटिन्छन । त्यती मात्र होईन नेपाल भित्र पसेर नेपाली चेलीहरु माथी दुव्र्यवहार सम्म गरेका छन उनिहरुले । हुन त भारतले नेपाल र ब्रिटिशकालिन भारतविच ४ मार्च १८१६ मा भएको सुगौली सन्धिले नेपाल र भारत विच सिमाना निर्धारण गरी व्रम्हदेवमण्डिदेखी फालेलुङ सम्म खडा गरिदिएका –९१३ वटा जङ्गे स्तम्भ लगभग सवै उखेलेर फाल्ने काम गरिसकेको छ । वांकी रहेका केहीलाई नेपालको भू–भाग तर्फ सारेको छ भने कती ठाउंमा नेपालको भू–भाग मिचेर नयां स्तम्भहरु खडा गरेको छ । त्यती मात्र होईन छुनै नपाईने दशगजा भित्र पसेर वालिनाली लगाउने र वसोवास समेत गरेको पाईन्छ ।
शान्तिका प्रतिक नेपालको पहिचान, नेपालको धरोहर गौतमबुद्ध भारतमा जन्मेका हुन भन्न लाज नमान्ने भारतले ऐलेसम्म सुस्ता कालापानी  लगायत ७० भन्दा बढी स्थानहरुमा एकाध बिगाहा जमिनदेखी हजारौं बिगाहा सम्म नेपालको जमिन अतिक्रमण गरेको छ । यसरी एकातर्फ हजारौं विगाहा जमिन अमिक्रमण गरेको छ भने अर्कोतर्फ नदी सिमाहरुमा अन्तर्राष्ट्रिय नियमहरुको उल्लंघन गरी एकतर्फी रुपमा आफुखुसी बांध बांधेर नेपालका कैयौं खेतियोग्य जमिन, कैयौं बस्तीहरु जलमग्न बनाईदिएर उजाड पार्ने काम गरेको छ । हेलसिंकी अभिसन्धी १९६६ तथा जलसम्बन्धी नन्–नेभिगेसन कानून १९९७ जस्ता कानूनमा उल्लेख भए अनुसार सिमारेखाको ८ की.मी. सिमावर्ती ईलाकाभित्र एकतर्फीरुपले कुनै एक देशले बांध बनाउन नपाईने अन्तर्राष्ट्रिय मान्यतालाई समेत उल्लंघन गरेर भारतले लक्ष्मणपुर बांध, महलीसागर बांध, पुर्णागिरी बांध, रसियावाल, खुर्दलोटन बांध, कोईलाबास बांध, लालबकैया, टनकपुर, शारदा, खांडो बक्राहा, कमला र लुना नदी बांधहरु बांधेर नेपाली सिमावर्ती जनतालाई बर्सेनी डुवानमा पार्ने काम गरिहेको छ । यसरी भारतले सिमा अतिक्रमण गरेर, सिमावर्ती क्षेत्रलाई डुवानमा पारेर, सिमानाका नेपालीमाथी भौतिक आक्रमण गरेर, नाकाबन्दी गरेर विविध किसिमबाट नेपालको सार्वभौम अखण्डता, स्वतन्त्रता र स्वाभिमानमाथी बारम्वार हस्तक्षेप पु¥याईरहेको छ । हामी माथीको उसको यो हेपाहा प्रवृतिलाई कहिलेसम्म शिरोपर गर्नुपर्ने हो थाहा छैन ।

1 comment: