पुनर्वास, चैत २१
कञ्चनपुरको पुनर्वास नगरपालिकाको सबैभन्दा ठुलो वनको रुपमा चिनिने जनजागरण सामुदायिक वनलाई वैज्ञानिक वनमा व्यवस्थापन गरिने भएको छ । यसै आर्थिक बर्ष २०७५/७६ बाट बुढा र उमेर पुगेका सालका रुखहरुलाई कटान गरि नयाँ विरुवा रोप्दै वनलाई वैज्ञानिक तवरमा व्यवस्थापन गर्ने तयारीमा जुटेको जनजागरण सामुदायिक वनले भोलि शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै वैज्ञानिक वनबारे छलफल गर्ने भएको छ ।
वैज्ञानिक वन व्यवस्थापन गरिदा सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त र वनले प्रदान गर्ने वस्तु तथा सेवाको निरन्तरता वा बृद्धि हुनेगरी वैज्ञानिक वनको नीति अवलम्बन गर्न सकिने सेक्टर वन कार्यालय पचकडियाका प्रमुख सहायक वन अधिकृत दिनेश यादवले जानकारी जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ वैज्ञानिक वन बारे प्रष्ट हुन जरुरी छ । धेरैले वैज्ञानिक वन बारे अनभिज्ञता प्रकट गर्ने गर्दछन । ठुला रुख काट्नु कानुनी विपरीत हो भन्ने बुझाई छ । यसबारे सबै प्रष्ट हुन जरुरी छ ।” उहाँले भन्नुभयो ।
जनजागरण सामुदायिक वनका अध्यक्ष कृष्ण तामाङ वनलाई वैज्ञानिक वनमा व्यवस्थापन गरिनु आजको आवश्यकता रहेको बताउनुहुन्छ । उहाँले आर्थिक तथा वातावरणिय हिसाबले पनि वैज्ञानिक वन अति नै उत्तम हुने धारण राख्नुहुन्छ । उहाँले भन्नुभयो “यस प्रणालीमा ३० सेमिसम्म व्यास भएका रूखहरूलाई एड्भान्स ग्रोथ अर्थात् बालीका रूपमा कायम गरिन्छ र पुनरुत्पादन (रि–जेनेरेसन) को सुनिश्चित हुनेगरी उमेर पुगेका बूढा रूखहरूलाई क्रमशः हटाउँदै लगिन्छ ।यसका लागि छनोट भएको वनलाई विभिन्न फेलिङ सिरिज (कम्पार्टमेन्ट) र आवधिक खण्ड (सबकम्पार्टमेन्ट) मा विभाजन गरिन्छ । यसैका माध्यमबाट वनको दिगोपना र वार्षिक रूपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण हुन्छ । वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रूखहरू काट्ने र नयाँ बिरुवाहरू उत्पादन गर्ने गरिन्छ ।”
उहाँले वैज्ञानिक वन व्यवस्थापन अनुसार कार्य गर्ने हो भने ८० वर्ष भित्रमा हाल भएका सबै रुखहरू काटिने र त्यसको ठाउँमा नयाँ रुखहरू हुर्किसक्ने बताउनुभयो । सरकारले सामुदायिक वन संरक्षणमुखी मात्रै भएको र आम्दानी नदिएको भन्दै नयाँ व्यवस्थापन अनुसार जानुपर्ने नीति लिएको छ । यस बारे वनका कर्मचारी तथा वनका पदाधिकारीहरुले शुक्रबार वनको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रशिक्षण तथा छलफल चलाउने भएका छन ।
No comments:
Post a Comment