हेमन्त न्यौपाने
पुनर्वास, चैत २२
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडामा फैलिएको पुनर्वासकै ठुलो जनजागरण सामुदायिकलाई वैज्ञानिक वनमा व्यवस्थापन गर्न एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वनकै पिकनिकस्पोर्टमा एक कार्यक्रमको आयोजना गर्दै वैज्ञानिक वनबारे वैज्ञानिक वन विशेषज्ञहरुले प्रकाश पार्नुभएको थियो ।
वनको २.५४ हेक्टरमा जमिन अर्थात ४ विगाहा क्षेत्रफलमा वैज्ञानिक वनको अवधारणा लागु गरिने वनका अध्यक्ष कृष्ण तामाङले बताउनुभयो । उहाँले यसै आर्थिक बर्ष २०७५/७६ बाट बुढा र उमेर पुगेका सालका रुखहरुलाई कटान गरि नयाँ विरुवा रोप्दै वनलाई वैज्ञानिक तवरमा व्यवस्थापन गर्न लागिएको जानकारी गराउनुभयो । उमेर पुगेका बुढा र सुकेका रुखहरुमा रातो र माउ रुखहरुमा सेतो घेरा लगाईएको छ । सेतोघेरा लगाईएको माउ रुखको आयु ८० बर्ष सम्म हुन्छ ।
बीउका लागि छाडिएका सालका माउ विरुवाबाट उत्पादन हुने बीउबाट नयाँ बिरुवा उमार्न सकिनेछ । वैज्ञानिक वन व्यवस्थापन गरिदा सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त र वनले प्रदान गर्ने वस्तु तथा सेवाको निरन्तरता वा बृद्धि हुनेगरी वैज्ञानिक वनको नीति अवलम्बन गर्न सकिने सवडिभिजन वनकार्यालय पचकडियाका प्रमुख सहायक वन अधिकृत दिनेश यादवले बताउनुभयो । उहाँले भन्नुभयो“ वैज्ञानिक वन बारे प्रष्ट हुन जरुरी छ । धेरैले वैज्ञानिक वन बारे अनभिज्ञता प्रकट गर्ने गर्दछन । ठुला रुख काट्नु कानुनी विपरीत हो भन्ने बुझाई छ । यसबारे सबै प्रष्ट हुन जरुरी छ ।” उहाँले भन्नुभयो ।
वनका अध्यक्ष कृष्ण तामाङ वनलाई वैज्ञानिक वनमा व्यवस्थापन गरिनु आजको आवश्यकता रहेको बताउनुहुन्छ । उहाँले आर्थिक तथा वातावरणिय हिसाबले पनि वैज्ञानिक वन अति नै उत्तम हुने धारणा राख्नुहुन्छ । उहाँले भन्नुभयो “यस प्रणालीमा ३० सेमिसम्म व्यास भएका रूखहरूलाई एड्भान्स ग्रोथ अर्थात् बालीका रूपमा कायम गरिन्छ र पुनरुत्पादन (रि–जेनेरेसन) को सुनिश्चित हुनेगरी उमेर पुगेका बूढा रूखहरूलाई क्रमशः हटाउँदै लगिन्छ । यसका लागि छनोट भएको वनलाई विभिन्न फेलिङ सिरिज (कम्पार्टमेन्ट) र आवधिक खण्ड (सबकम्पार्टमेन्ट) मा विभाजन गरिन्छ । यसैका माध्यमबाट वनको दिगोपना र वार्षिक रूपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण हुन्छ । वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रूखहरू काट्ने र नयाँ बिरुवाहरू उत्पादन गर्ने गरिन्छ ।” यसअघि सम्म चरिचरणका लागि छाडिएको क्षेत्र अहिले खाली बन्न पुगेपछि यसको संरक्षणमा जुटेको अध्यक्ष तामाङले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापाले पुनर्वासकै सबैभन्दा पुरानो वन भएकाले यो वनलाई वैज्ञानिक वनमा लैजान आवश्यक भएकाले वैज्ञानिक वन व्यवस्थापनको नितिलाई अवलम्बन गर्दै गएको प्रति वनसमितिसंग खुशी व्यक्त गर्नुभयो ।
“वैज्ञानिक वन व्यवस्थापनमा पुराना बुढा र उमेर पुगेका रुखहरुलाई कटान गर्दै माउ रुखहरुबाट नयाँ बिरुवा उमार्ने पद्धति हुन्छ । यसो हुँदा बर्षौंबर्ष सम्म पनि सालका रुख मासिने, जंगल मासिने, घास, पात, काठ, दाउराको अभाव झेल्नु पर्ने हुँदैन । तसर्थ यो एकदमै राम्रो काम हुँदैछ ।”उहाँले भन्नुभयो ।
वनका माउ रुखहरुमा जिपिएस सिस्टम जडान गरिएकाले रुखको अवस्थाबारे जहाँबाट पनि जानकारी लिन सकिने छ । वनलाई वैज्ञानिक वनमा व्यवस्थापन गर्दा आर्थिक तथा पर्यावरणीय हिसाबले समेत लाभदायक मानिन्छ । वैज्ञानिक वन व्यवस्थापन लागु नभएका वनहरुमा रुख बुढा भएभनी काट्न पाइदैन । वनको स्थिति, सालका बिरुवाहरु र वैज्ञानिक पद्धतिमा अटाउन सक्ने वनहरुलाई मात्र अहिले वैज्ञानिक वन व्यवस्थापनमा लगिएको छ ।
कार्यक्रममा नगरउपप्रमुख शारदा बिष्ट, वडा नम्बर ७ का अध्यक्ष रामदुलारे राना, वडा नम्बर ८ का अध्यक्ष राना श्रावण, वडा नम्बर ९ का वडाअध्यक्ष, वैज्ञानिक वन व्यवस्थापनका विज्ञहरु, वनका पदाधिकारीहरु, स्थानीय तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अमर साउदले गर्नुभएको थियो ।
No comments:
Post a Comment