-सुनिलकुमार लो
कञ्चनपुर, १७ जेठ ।रुकुममा गत जेठ १० गते भएको हत्याकाण्डले नेपालमा बस्ने साठी लाख दलित समुदायको अपमान भएको भन्दै विश्वकर्मा समाज, पुनर्वासले शुक्रबार प्रेस विज्ञप्ति निकालेको छ ।
विश्वकर्मा समाज, पुनर्वासका अध्यक्ष परशुराम विश्वकर्माद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तिमा जातीय विभेदकै कारण रुकुममा दलित युवाहरुको हत्या भएकोमा विश्वकर्मा समाज, पुनर्वासको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । विज्ञप्तिमा नेपालको संविधानको धारा १८ ले समानताको हक तथा धारा २४ ले छुवाछुत र भेदभाव विरुद्धको हक सुनिश्चित गरीसकेको अवस्था तथा देशमा गणतान्त्रिक व्यवस्था आईसकेको परिप्रेक्ष्यमा एउटा दलित समुदायको युवाले अन्तरजातीय विवाह गर्न खोज्दा ज्यान गुमाउनु परेको घटना अत्यन्तै निन्दनीय र दु:खद रहेको बताईएको छ ।
यस घटनाको छानबिनको लागि दलित समुदायको प्रतिनिधित्व हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति,न्याय र सामाजिक न्यायको ग्यारेण्टी गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ ।
जाजरकोट जिल्लाको भेरी नगरपालिकाका २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन १९ जनाको समूह लिएर पुगेपछि काण्ड भएको थियो । गाउँलेले नियन्त्रणमा लिएर नवराज विकसहित पाँच जनालाई हत्या गरी भेरी नदिमा फालेकोमा हालसम्म चार जनाको शव फेला परिसकेको छ भने १७ बर्षिय गोविन्द शाहीको खोजी भईरहेको छ ।
No comments:
Post a Comment