काठमाडौँ, ३१ जेठ । प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
२ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद भने अनुपस्थित रहेका थिए । ४ जना सांसद भने निलम्बनमा छन् । सभामुखले विधेयकमाथिको मतदानमा सहभागिता जनाउँदैनन् ।
विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिताकुमारी गिरी र ज्ञानकुमारी छन्त्याल रहेको संसद सचिवायलयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
सरिता गिरीबाहेकका सांसद आजको बैठकमा अनुपस्थित थिए । सांसद गिरीले भने बैठक बहिष्कार गरेकी थिइन् ।
सांसदहरू हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार निलम्बित छन् ।
No comments:
Post a Comment