Monday, July 20, 2020

नेपाली कांग्रेस कञ्चनपुरद्वारा बेलौरी नगरपालिकामा तालाबन्दी, विधि र प्रक्रिया अनुसार आउन नगर प्रमुखको आग्रह



-यम प्रसाद आचार्य
कञ्चनपुर, ५ साउन ।
नेपाली काँग्रेस कञ्चनपुरद्वारा बेलौरी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
सोमबार काङ्ग्रेस युवा नेता एवम् महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्टको नेतृत्वमा तालाबन्दी गरिएको हो ।
उहाँले स्थानीय सरकारले विकास निर्माण कार्यमा ढिलासुस्ति एवम् लापरवाही गरेको र पटक पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको बताउँदै नगरपालिका विरुद्ध विरोध कार्यक्रमको आयोजना गरी तालाबन्दी गर्नुपरेको बताउनु भएकोछ ।

यता, बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले विकास सबैको चाहना भएको जनाउँदै काँग्रेसले गरेको विरोधका विषयमा आवश्यक छलफल गरी समाधान खोजिने बताउनु भएको छ । तर बिना संवाद अचानक तालाबन्दी गर्नुले आफू आश्चर्यमा परेको पनि मेयर चौधरीले बताउनु भयो। यदि कुनै पनि बिकास निर्माणका काममा अनियमितता भएको भए त्यतिखेर नै काम रोक्नु पर्थ्यो, भुक्तानी रोकिन्थ्यो तर आर्थिक बर्ष सकिएपछि बिना संवाद, बिना ज्ञापन पत्र एक्कासि तालाबन्दी गर्नु विरोधका लागि विरोध मात्र भएको नगरपालिकाको बुझाई छ । कतिपय योजनागरुको डिपिआर भैसकेको र गुरु योजना अनुसार संघीय र प्रदेश सरकारको समेत बजेट बन्ने भएकाले कोहि पनि आत्तिन नहुने धारणा नगर प्रमुख चौधरीको छ ।
यदि कुनै गलत भएको भए विभिन्न निकाय छ, स्वयं नगरपालिका सबैको गुनासो सुन्न तयार छ तर यो सबैलाई लत्याएर बिरोधका लागि बिरोधमा आउनु कसैका लागि पनि उपयुक्त नहुने भएकाले विधि र व्यवस्था अनुसार आफ्ना जायज माग राख्न समेत उहाँले अनुरोध गर्नु भएको छ ।
नगरपालिकामा तालाबन्दीका साथै काँग्रेसले कञ्चनपुर क्षेत्र नम्बर १ का किसानहरुले भोग्नुपरेको मलखादको समस्या, बेलौरी-कलुवापुर-बैशाखा सडकखण्ड निर्माण, सीमा समस्या समाधान लगायतको माग गर्दै बेलौरीमा विरोध र्‍याली निकाल्नुका साथै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

No comments:

Post a Comment