Tuesday, July 25, 2023

पुनर्वासको आनन्द बजारबाट खैरो हेरोईनसहित दुईजना युवा पक्राउ


कञ्चनपुर/९ साउन ।
पुनर्वासको आनन्द बजारबाट खैरो हेरोईनसहित दुईजना युवा पक्राउ परेका छ्न ।
पक्राउ पर्नेमा  कैलालीको धनगढी उप-महानगरपालिका ५ मटियारी बस्ने वर्ष २९ को लक्ष्मण खड्का र सोही ठाँउ बस्ने वर्ष २० को आदित्य चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा दुवै जनाको साथबाट उक्त पदार्थ फेला परेको हो ।  मोटरसाईकल सहित दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ। 


पत्रकार भाष्कर के.सी. सम्मानित



कञ्चनपुर/पत्रकार भाष्कर के.सी. सम्मानित भएका छ्न ।
पतंजली योग समिति कञ्चनपुरले पत्रकार भाष्कर केसीलाई सम्मान गरेको हो ।
पतंजली योग समिति कञ्चनपुरले पत्रकार केसीलाई नवौँ अन्तर्राष्ट्रिय  योग दिवसको अवसरमा सम्मान गरेको हो ।
सुदूर दर्पण दैनिकका सम्पादक केसीले जिल्लाको योग तथा आयुर्वेद क्षेत्रमा संचार माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
मंगलबार एक कार्यक्रमका विच पत्रकार के.सी.लाई पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी सहितका योगगुरुहरुले प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ । झण्डै डेढ दशकदेखि संचार क्षेत्रमा काम गर्दै आएका पत्रकार के.सी. सुदूर दर्पण दैनिकको सम्पादक एवम प्रेस सेन्टर नेपाल कञ्चनपुरका सचिव तथा नेपाल पत्रकार महासंघ जिल्लाका निवर्तमान कार्यवाहक कोषाध्यक्ष हुन । उनले पतंजली योग समितिले संचारकर्मीलाई गरेको सम्मानले थप काममा उर्जा थपिएको बताए ।

Friday, July 21, 2023

अभिनयमा जम्दै दुर्गा भट्ट, मुख्य अभिनय रहेको ‘जाँदैछु विदेश’ सार्वजनिक

कलाकार दुर्गा भट्टको मुख्य अभिनय रहेको गीत जाँदैछु विदेश सार्वजनिक भएको छ । आर्थिक समस्याका कारण नेपालीहरुले विदेशिनुको पिडा उक्त गीतमा देखाइएको छ । गीतमा श्रीमानको भुमिका रहेका रोबर्ट सिंह बडैलाले साहुको ऋण तिर्न नसक्दा घरमा भएको मोटरसाइकल नै हडेपेर लगेको कारुणिक दृश्यलाई अत्यन्तै सुन्दर तरीकाले प्रस्तुत गरिएको छ ।
  त्यस्तै श्रीमतीको भुमिकामा रहेकी दुर्गा भट्टले आफ्नो लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा जिवनसाथी बाध्यताले परदेशीदा मन असाध्यै दुखेको र गाउँघरमा बस्न असहज भएको अभिनयमा व्यक्त गरेकी छन् ।
"जाँदैछु विदेश" गीतमा स्वर सुवास दियालीको रहेको छ भने शब्द तथा संगीत समशेर दियालीको रहेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको उक्त गीत सदाबहार गीत भएकोले दर्शकले बिस्तारै माया गर्ने कलाकार दुर्गा भट्टले बताइन ।
को हुन दुर्गा भट्ट?
भनिन्छ नि खाने मुखलाई जुँगाले छेक्दैन भनेर ,तपाईंसँग काम गर्ने इच्छाशक्ति छ भने जस्तोसुकै अभाव र पिडाले त्यसलाई रोक्दैन एकदिन सफलता जसरी नि मिल्छ । हो त्यस्तै भएको छ कलाकार दुर्गा भट्टलाई । कृष्णपुर नगरपालिका वडा न ८ बिचवा निबासी बुवा नारद प्रसाद भट्ट र आमा बिस्नादेवी भट्टको कोखबाट जन्मीएकी दुर्गा भट्ट कलाकारीतामा लागेको झण्डै ६ वर्ष पुगेको छ ।
विद्यालय जिवनदेखी नै टेलिभिजनको पर्दामा देखिने रहर पालेकी भट्ट अहिले डिजिटल प्लेट फार्म मार्फत दर्शक श्रोतामा माझ सकृय रूपमा देखिन थालेकि छन् । ६ वर्षको कलाकारीतामा उनले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरीसकेकी छन् । पछिल्लो समय उनको मुख्य अभिनय रहेको जाँदैछु विदेश गीत सार्वजनिक भएको छ । सुरुमा छोडी जाने निस्टुरी गीतमा सानो भुमिका पाएकी उनले पछि चर्चित कलाकार शंकर बिसीसँग जस्ले जे भन्छ नाँच्छु मजाले तीज गीतमा अभिनय गर्न पाउँदा अत्यन्तै खुशी भएको अनुभव सुनाइन ।
देशकै लोकप्रिय कलाकारसँग सो तीज गीतमा अभिनय गर्दा दर्शक स्रोता माझ चिनाउन सफल भएको उनी बताउँछन् । मलाई कलाकार नै बन्नु थियो त्यसैले अत्यन्तै दुःख गरियो अहिले पनि लोकप्रिय हुन नसकेनी आफुलाई सन्तुष्टि भने मिलेको दुर्गा बताउँछिन । आफुले अभिनय गरेका म्युजिक भिडियो दर्जनौं सुटिङ भए तर के कति कारणले ती सबै सार्वजनिक भएनन थाहा छैन आशा छ कुनैदिन ती सबै सार्वजनिक हुनेछन् ।
डडेलधुराबाट तत्कालीन रैकवार बिचवा गाविस कंचनपुरमा बाआमा बसाइँसराइ गरेर आउँदा दुर्गा जम्मा ७ वर्षकी थिइन । आर्थिक अवस्था सामान्य रहेका कारण उनले कक्षा १ देखि एस एल सीसम्म स्थानीय कन्चन माध्यमिक विद्यालयमै पढिन । त्यतिबेला गेटामा रहेको सरस्वती मावि अत्यन्तै लोकप्रिय विद्यालय भएकोले उनले पनि साथीहरूसँग ११ र १२ त्यतै पढिन । उमेर बढ्दै गयो १२ को पढाइ सकेपछि आफ्नो खर्च पनि कसरी धान्ने भन्ने उनलाई पिरले सताउन थालेपछि अत्तरीयामा रहेको एउटा स्थानीय पत्रीकामा बजार प्रतिनिधिको रूपमा काम गर्न थालिन त्यहाँ पनि काम असाध्यै गर्नुपर्ने तर पारिश्रमिक भनेजस्तो नपाएपछि छोडिदिइन, उनले पुनः इन्स्योरेन्समा एजेन्ट भएर काम गर्न थाकिन त्यहाँ पनि दुर्गालाई सन्तुष्टि मिलेन ।
त्यसपछि भने उनले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढाइलाई निरन्तरता दिन सकिनन बरु उनमा कलाकारिताबाट नाम कमाइन्छ राम्रो गरे दाम पनि भन्ने हुटहुटी जाग्यो र २०७४ सालबाट कलाकारीतामा होमिइन । सुरुमा सुदूरपश्चिमका विभिन्न मेला महोत्सवमा उनले आफ्नो नृत्य देखाउन थालिन जसोतसो १ वर्ष उनले यतै गुजारिन ,त्यो बिचमा केही म्युजिक भिडियो र ७/८ सर्ट मुभिमा काम गर्ने अवसर पाईन तर सोचेजस्तो भने त्यहाँ पनि भेट्टाइनन । प्रोड्युसरले ६र७ दिन सुटिङमा सँगै बस्नुपर्छ घर आउन जान मिल्दैन भनेपछि उनले त्यो प्रस्ताव इन्कार गरिन त्यसपछि उनले अभिनय गरेका सर्ट मुभिलाई अर्को पात्र राखेर पुनः रि-सुटिङ गरेको उनले नमिठो अनुभव सुनाइन ।
   एक समय कलाकारीता मेरो लागि होइन कि, म सक्दैन कि क्या हो जस्तो पनि बेलाबेलामा दुर्गालाई लागिरह्यो तर उनले हिम्मत हारिनन सुदूरपश्चिमका मेला महोत्सवमा नृत्य गर्दागर्दै बिस्तारै उनले आफ्नो परिचय बनाउँदै लगिन, केहिले चिन्न थाले, हौसला दिन थाले, त्यसपछि उनलाई कलाकारीताको नशा चढ्यो, सुदूरपश्चिम बाहिर जसरी पनि देशभर चिनिने भन्दै काठमाडौ जाने योजना बनाउन थालिन । काठमाडौ जाने त जाने तर कसरी जाने ? घरपरिवारसँग काठमाडौसम्म पठाउने भाडा समेत थिएन, दुर्गाले पछि आफू काठमाडौ जान्छु भन्दा बाआमाले सुरुमा प्रस्ताव मान्दै मानेनन् तर बिस्तारै उनले घरपरिवारलाई मनाइन जाँदा बाले ३०० सय रूपमा हातमा थमाइदिए त्यसले अब के गर्नु भाडा तिर्नु कि खाना खानु तर आफुले नृत्य गरेका केही ठाउँबाट १ हजार ५ सय बचाएकि रहिछन् र सपनाको शहर काठमाडौ हिडिन ।
ठुलो शहर, फराकिला सडक, नयाँ नयाँ मान्छे सब बिराना उनी आफू सुरुमा अक्क न पक्क परेको सम्झिन्छिन । न कोहि चिनेको छ,न खानाको टुंगो छ न त बस्न कै १५ दिनसम्म चाउचाउ र पानी खाएरै उनले काठमाडौमा बिताइन । पछि बिस्तारै चिनजान बढाउँदै लगिन,केही साथी बने र कोठासम्म खोजिन अनि अब यसरी हुन्न काम गर्नुपर्छ भनेर काठमाडौ थुप्रै कलाकारलाई गुहारिन तर सुरुमा कसैले पत्याएनन पत्याउन पनि कसरी किन कि उनको प्रतिभा कसैले देखेका थिएनन् । पछि आफूमा भएको क्षमता बिस्तारै अरुलाई देखाउँदै गइन र काम पाउन थालिन ।
अहिले दुर्गा लगभग व्यस्त नै हुन्छिन् काठमाडौमा, कहिले छिमेकी मुलुक भारतमा रहेका नेपाली दाजुभाइले आयोजना गरेका सांस्कृतिक कार्यक्रममा पुग्छिन, त कहिले देशका विभिन्न मेला महोत्सवमा । ३०० रूपमा बोकेर काठमाडौ हिडेकी उनी अहिले महिनाको ३० र ४० हजार मज्जैले कमाउने गरेको बताउँछिन । अभिनय सँगसँगै स्टेज कार्यक्रममा अफर बढी आउन लागेको उनी बताउँछन् । अहिले आफै गीत लेख्ने, म्युजिक भिडियोमा अभिनय गर्ने लगायत कलाकारितामै आफू व्यस्त रहेको दुर्गा भट्ट बताउँछन् । छोरी मान्छेलाई राम्रो भन्दापनि नराम्रो नजरबाट हेर्नेको जमात बढी रहेछ आफुलाई विभिन्न प्रलोभन आएपनी आफू त्यसबाट जोगिएको र सतर्क समेत रहेको उनको भनाई छ । हाल लोकदोहोरी प्रतिस्ठानकी सदस्य समेत रहेकी दुर्गा भट्ट आगामी दिनमा कलाकारिताबाटै अघि बढ्ने योजना रहेको बताउँछन् ।



Wednesday, July 19, 2023

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको २० औँ जिल्ला परिषद् सम्पन्न


कञ्चनपुर,३ साउन ।
 नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको २० औँ जिल्ला परिषद् सम्पन्न भएको छ । 
मंगलबार बेलौरी उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित जिल्ला परिषद्लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख वक्ता समेत रहनु भएका नेकपा (एमाले) कञ्चनपुरका ईन्चार्ज एवम् पोलिटब्युरो सदस्य नारद मुनी रानाले २० औँ परिषद्को पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधारमा जोड दिन सबैलाई अनुरोध गर्नुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य भवानी चन्द, प्रदेश अध्यक्ष दामोदर भट्ट, नेकपा (एमाले) कञ्चनपुरका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, नेकपा (एमाले) कञ्चनपुरका सचिव पल्लवराज भट्ट, नेपाल निजामती कर्मचारी केन्द्रीय सदस्य मान बहादुर चन्द, सङ्गठनका पूर्व अध्यक्ष हरिश प्रसाद जोशी, कर्ण बहादुर बुढा, सेवा निवृत्त शिक्षक श्यामलाल सुवेदी लगायतका वक्ताहरूले सङ्गठनको भूमिका र अवस्थाका साथै भावी कार्यक्रम बारे सुझाव तथा समसामयिक शैक्षिक सवालहरूमा आआफ्ना धारणा राख्नुभएको महिला उपाध्यक्ष भुवनेश्वरी रावल जानकारी दिनुभयो ।

सङ्गठनका पूर्व अध्यक्ष कर्ण बहादुर बुढा, हरिश प्रसाद जोशी, रामचन्द्र नेपाल, तुलाराम खरेल, दामोदर भट्टलाई कदर पत्र तथा सेवा निवृत्त  शिक्षकहरू रामचन्द्र भट्टराई, लाल बहादुर चौधरी, धर्मानन्द भट्ट, लोहित भट्टराई लगायतका शिक्षकहरूलाई सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुर जिल्ला समितिका अध्यक्ष वेद प्रसाद उपाध्यायले बताउनु भयो । २०औँ जिल्ला परिषद्ले कञ्चनपुर जिल्लामा रहेका शैक्षिक समस्या र समाधानका लागि गहन छलफल गरी समाधानका लागि समसामयिक प्रस्तावहरू समेत पारित गरिएको सङ्गठनका केन्द्रीय प्रतिनिधि हरिप्रसाद रिजालले बताउनुभयो । २० औँ परिषद्ले सचिव उत्तम विष्टद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष धनञ्जय जोशीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र गजेन्द्र के. सी. द्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदनहरू माथि समूहगत छलफल गरी सुझाव सहित पारित गर्दै २० औँ जिल्ला परिषद् सम्पन्न गरिएको बताइएको छ ।

Monday, July 17, 2023

पुनर्वासमा कार दुर्घटना


कञ्चनपुर/ १ साउन ।
पुनर्वासमा कार दुर्घटना भएको छ ।सोमबार बेलुकी १०.३० बजेतिर पुर्नवास नगरपालिका वडानम्बर ५  सिम्री चोकमा आई.बि.आर.डि. बजारबाट धनगढीतर्फ जाँदै गरेको
 बाग्मती प्रदेश ०१-०२६च ३३८९नम्बरको कार  दुर्घटना भएको हो । गाडी के कारणले दुर्घटना भयो भन्ने बारेमा विस्तृत विवरण आईसकेको छैन ।  मानविय क्षति भने नभएको पुनर्वास ५ का वडाध्यक्ष पदम रोकायाले सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराएका छ्न ।

Sunday, July 16, 2023

स्वचालित मूल्य प्रणाली आजबाट लागु: पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो


काठमाडौं/३१ असार ।
नेपाल आयल निगमले आजै रातिबाट  स्वचालित मूल्य प्रणाली लागु गरेको छ । पत्रकार सम्मेलन गर्दै डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय गरिएको जानकारी दिइएको छ ।

नेपाल आयल निगमको यो निर्णयले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ कम हुनेछ भने पेट्रोलमा ६, डिजेल र मट्टीतेलमा ४–४ रुपैयाँ घट्नेछ ।

पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यो मूल्य आजै राति १२ बजेबाट लागु हुनेछ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम हुनेछ भने डिजेलको मूल्य १४६ रुपैयाँ कायम हुने छ । आजसम्म पेट्रोलको मूल्य १७० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ ।

Friday, July 14, 2023

नेपाल राहत शिक्षक पुनर्वासको अध्यक्षमा मडै सर्वसम्मत


कञ्चनपुर, २९ असार ।
नेपाल राहत शिक्षक पुनर्वासको अध्यक्षमा जयबहादुर मडै सर्वसम्मत चयन भएका छ्न । 
"पेशागत सुरक्षाका लागि सबै राहत शिक्षक एकजुट होऔ" भन्ने नाराका साथ शुक्रबार सम्पन्न नेपाल राहत शिक्षक पुनर्वासको दोश्रो नगर अधिवेशनले मडैलाई  सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यसैगरी उपाध्यक्षमा धनु ओलि,सचिवमा नवराज ओझा,कोषाध्यक्षमा भागिरथी बिष्ट, सह-सचिवमा काली नेपाली चयन भएका छ्न । त्यसैगरी सदस्यहरुमा पुष्पा राना, रामफल राना, मीनबहादुर गुरुङ,सुनिलकुमार लो लगायतका व्यक्तिहरु चयन भएका छ्न । बाँकी दुईजना सदस्यहरु पछी मनोनीत गरिने बताईएको छ । जिल्ला प्रतिनिधिमा धौलसिंह जागरी, शिवबहादुर पाण्डेय,प्रकाश जोशी र भक्तबहादुर बोहरा चयन भएका छ्न ।
त्यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिका रुपमा धनवीर मोक्तान तामाङ र प्रेमप्रसाद जैसीलाई चयन गरेको छ । कार्यक्रममा लामो समयसम्म राहत शिक्षकका रुपमा सेवा गरि उमेर हदका कारण सेवा निवृत्त भएका शिक्षक टेकराज जोशीलाई सम्मान गरीएको थियो । त्यसैगरी विरामी अवस्थामा रहेकी निवर्तमान कोषाध्यक्ष सम्झना राजभण्डारीको उपचारका लागि सहयोग संकलन समेत गरिएको थियोे ।
पुनर्वास ६ स्थित जीवनज्योती माध्यमिक विद्यालयमा सो अधिवेशन सम्पन्न भएको थियोे ।
कार्यक्रममा नेपाल राहत शिक्षक पुनर्वासका अध्यक्ष जयबहादुर मडैको सभापतित्व र नेपाल राहत शिक्षक केन्द्रिय समिति वरिष्ठ सह-अध्यक्ष नवीनसिंह धामीको प्रमुख आथित्य रहेको थियोे । विशिष्ट अतिथिका रुपमा रामप्रसाद जोशी (उपाध्यक्ष केन्द्रिय कार्य समिति),धौलसिंह जागरी(वरिष्ठ उपाध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश कार्य समिति),कुसुम न्यौपाने(सदस्य,प्रदेश कार्य समिति) थिए । अतिथिका रुपमा लवदेव अवस्थी,विरेन्द्रबहादुर सिंह,गणेशबहादुर धानुक,काली नेपाली,अम्बिकाप्रसाद खतिवडा,शिवबहादुर पाण्डेय,विरेन्द्रसिंह बोहरा लगायतका व्यक्तिहरु थिए । कार्यक्रमलाई  सचिव नवराज ओझाले सञ्चालन गरेका थिए ।





बेलौरीमा रहेको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेश वडायक माथी कुटपिट




कञ्चनपुर, २९ असार ।
 बेलौरीमा रहेको फेमिली रेस्टुरेण्टका सञ्चालक सुरेश कुमार वडायक माथी गए राती कुटपिट भएको छ ।
आफुलाई धारिलो बस्तुले प्रहार गरि कुटपिट भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छ्न  । बडायकले फेसबुकमा फोटो र भिडियो हालेर आफुलाई प्रहरीको
आरआइटी र सिआइबीको टिमले कुटपिट गरेको भनेका छन् ।
वडायकको निधारमा गहिरो चोट लागेको तस्बिरमा देखिन्छ । कसले के कारणले कुटपिट गरेको भन्ने त पुष्टि भएको छैन । तर वडायकले अस्पतालको शय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा हालेको सानो भिडियोमा उनले आरआइटी र सिआइवीको टिमका बबिन भट्ट भन्ने व्यक्तिले कुटपिट गरेको भनेका छन् । रातिको समयमा अचानक केही अराजक तत्त्व डिआइजीको मान्छे भन्नेले आफूलाई साङ्घातिक हमला गरेको र बेलौरी इलाका प्रहरी कार्यालयले पनि कुनै सुनुवाइ नगरेको उनले आरोप लगाएका छन् । यस विषयमा थप विवरण खुल्न बाँकी छ ।

Wednesday, July 12, 2023

नेपाल राहत शिक्षक पुनर्वासले दोश्रो नगर अधिवेशन गर्ने


कञ्चनपुर, २७ असार ।
नेपाल राहत शिक्षक पुनर्वासले दोश्रो नगर अधिवेशन गर्ने भएको छ । गत असार २५ गतेका दिन बसेको बैठकले दोश्रो नगर अधिवेशन गर्ने निर्णय गरेको थियोे । 
 नगर अधिवेशन यहि असार २९ गतेका दिन पुनर्वास ६ स्थित जीवनज्योती माध्यमिक विद्यालयमा हुने  र सो अधिवेशनले नयाँ कार्यसमिति गठन गर्ने बताईएको छ । 
नयाँ समितिले  राहत शिक्षकको पेशागत सुरक्षाको लागि गरिने आन्दोलनलाई थप उचाइमा पुर्‍याउन योगदान दिने  नेपाल राहत शिक्षक पुनर्वासका अध्यक्ष जयबहादुर मडैले बताए ।

Sunday, July 9, 2023

पुनर्वासको प्यारातालमा माछाको प्रतिमा बनाउन "प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति " गठन


कञ्चनपुर, २४ असार ।
पुनर्वास नगरपालिका ९ स्थित
प्यारातालमा माछाको प्रतिमा बनाउन "प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति " गठन भएको छ ।
पुनर्वासका वरिष्ठ पत्रकार दीपेन्द्र बस्नेतले प्यारातालको ऐतिहासिक पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धनका लागि भन्दै माछाको प्रतिमा राख्नका लागि अभियानको सुरुवात गरेका हुन । सोही अभियानलाई सशक्त, पारदर्शी , चुस्त दुरुस्त , संगठित , अनुशासित र गतिशील बनाउन "प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति" गठन गरिएको पत्रकार बस्नेतले बताए । 
तदर्थ समितिका निम्न व्यक्तिहरु रहेका छ्न ।
१) दीपेन्द्रकुमार बस्नेत - अध्यक्ष 
२) प्रेमप्रसाद जैसी      -  सचीव 
३) गीता शर्मा जैसी      - कोषाध्यक्ष 
४) प्रीतमदेव गिरी       - सदस्य 
५) बुद्धिप्रसाद शर्मा    - सदस्य 
६) मानबहादुर खत्री    - सदस्य 
७) वीरबहादुर सुनार   - सदस्य 
 त्यसैगरी सल्लाहकारहरुमा
पुनर्वास ९ का वडाध्यक्ष नरबहादुर बिक,समाजसेवी अमरजन साउद,
पूर्व वडाध्यक्ष नारायणप्रसाद जैसी रहनुभएको छ । 
यस कार्यलाई सफल बनाउन रेखदेख तथा संरक्षण उपसमितिको समेत निर्माण गरिएको छ । उपसमितिमा देहायका व्यक्तिहरु रहनुभएको छ । 
१) कृष्णबहादुर बस्नेत संयोजक 
२) रवी बुढा क्षेत्री         सदस्य 
३) भरत सुनार            सदस्य
४) सञ्जु रोकाया         सदस्य 
५)  दिपक मगर          सदस्य 
त्यसैगरी निकट भविष्यमा  राष्ट्रिय वाणिज्य बैंकको पुनर्वास शाखा  शिवसरोजस्थलमा यस प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिको खाता सञ्चालन गर्ने र खाता नम्बर सामाजिक सञ्जालबाट  सार्वजनिक गरीने समेत पत्रकार बस्नेतले जानकारी गराएका छ्न ।
 अहिलेसम्म पुनर्वास ७ का बुद्धिमान तामाङले ५,५०० , पुनर्वास ८ दधिराम गौतमले ५,१०० , पुनर्वास ८ का अर्जुन बोगटी ५,१०० , पुनर्वास ९ का करण भाट क्षेत्री ५००० , पुनर्वास ९ का बिष्णु शर्माले  ३०००, नारायण सुवेदी ३००५ ,  पुनर्वास ८ का बुद्धि कटुवाल २५००,  पुनर्वास ९ का  मानबहादुर धामी २१२१ , पुनर्वास ९ का कृष्ण जैसी २१००, पुनर्वास ५ का दीपक सुनार २१००, पुनर्वास ९ का  मनिराम खनालले २००० , पत्रकार केशव भट्टराई ११११ , वन संरक्षणकर्मी रेशम शर्माले ११११ , पुनर्वास ६ का राजेन्द्र बरालले १००० , पुनर्वास ८ अर्जुन केसीले १००० , पुनर्वास ६ श्रीराम हमालले १००० , पुनर्वास ६ भुपेन्द्र बस्नेतले ५०० र पुनर्वास ७ का वडा सदस्य केशव एसकेले १,५०० , प्रीतमदेव गिरी पुनपा ९ ले १५०५ , पुनपा २ हिक्मत खडायतले  ११११ , हाल धनगढी बिरेन्द्र श्रेष्ठले रु २१०० , पुनपा ५ बिमल बिश्वकर्माले १५५५ , अनिता मालीले २१००, पुनपा ९ का कमलप्रसाद उपाध्यायले २१००, पुनर्वास ९ का बुद्धि प्रसाद शर्माले ११११ , पुजमाविका पूर्व विद्यार्थी (हाल काठमाडौं) अनिल बुढाथोकीले ५,५५५/- , पुनपा ९ (हाल काठमाडौं) प्रेम प्रसाद जैसीले २१००/-  बेलौरी नगरपालिका ८ कलकत्ताका दानबहादुर पाण्डेले १५००/- पर्वत फलेवास न.पा. ५ झकलक बस्ने  अमृता क्षेत्रीले ५००५/- रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ  ।

Tuesday, July 4, 2023

कुण्डा सव डिभिजन वन कार्यालय पचगडियाद्वारा निशुल्क बिरुवा वितरण


कञ्चनपुर,१९, असार ।
 पुनर्वास नगरपालिका वडा नं १० मा रहेको कुण्डा सव-डिभिजन वन कार्यालय पचगडियाले निशुल्क बिरुवा वितरण गरेको छ । पुनर्वास नगरपालिका र डिभिजन वन कार्यालय कञ्चनपुरको  आर्थिक सहयोग र कुण्डा सव-डिभिजन वन कार्यालय पचकडियाको सहकार्यमा उत्पादन भएका विरुवाहरू आज निशुल्क वितरण गरिएको हो।
 कुण्डा सव-डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित निशुल्क  बिरुवा वितरण कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्य र उपप्रमुख भुलिया कुमारी रानाको विशिष्ट आथित्य रहेको थियो।  अतिथिमा रुपमा वडा नं ६ का वडाध्यक्ष मित्रसिंह लामा,वडानम्बर  १० का वडाध्यक्ष सुकदेव राना , ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज प्रहरी निरीक्षक नरेशराज मल्ल ,स्थानिय वडा सदस्यहरु, समाजसेवी , बुद्धिजीवी र कृषकहरूको उपस्थिति रहेको थियो। नगरपालिकालाई हरियाली र सुन्दर बनाउने उद्धेश्यले "सन्ततिका लागि सोचौ, समृद्धि र हरियाली को लागि वृक्षारोपण गरौ" भन्ने मुल नाराका साथ नगर र वन कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत १ लाख विरूवा उत्पादन गरि निशुल्क रूपमा वितरण गर्न लागेको कुण्डा सव वन डिभिजन कार्यालय पचगडियाका प्रमुख यादवले जानकारी दिनुभयो । प्रमुख अतिथिको रूपमा रहेका नगर प्रमुख तोय प्रसाद शर्माले "हरियो वन नेपालको धन” भन्ने मूल मन्त्र लाई अंगीकार गर्दे वृक्षरोपण फेसनका लागि होइन रोपेको बिरुवा जोगाउन जरुरी भएको बताउनुभयो ।
 यसैगरी बिरूवा वितरण कार्यक्रममा नगर उपप्रमुख भुलिया कुमारी रानाले नर्सरी उत्पादन निकैनै राम्रो भएको  र यस कार्यमा अहोरात्र खटिएका वन कार्यालय परिवार र कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादवलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यालयद्बारा उत्पादन गरिएका बिरुवाहरूमा टिक,अमला,मसला, बकाइनो, जामुन,टाकी, निम, पारिजात प्रजातिको रहेको छ। बिरूवा वितरण गर्दा सहज बनाउन बिरूवा लिन आउने सेवाग्राहीले ५० गोटा बिरुवा को लागि नेपाली नागरिकताको प्रतिलिपि, ५१ गोटा देखि २९९ गोटा सम्म जग्गाधनी प्रमाण पत्र को प्रतिलिपि,३०० गोटा देखि माथि सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नुपर्ने र संघसस्थाको लागि प्रावधान रहेको कुण्डा सव-डिभिजन कार्यालय पचगडियाका प्रमुख यादवले बताए। वन कार्यालयले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण तथा बन जङ्गल क्षेत्रमा वृक्षारोपण गर्दै आइरहेको छ ।