Wednesday, June 26, 2024

राष्ट्रिय परिचयपत्र विवरण अब सम्बन्धित वडाबाटै


काठमाडौं/स्थानीय तहसँग समन्वय गरेर राष्ट्रिय परिचयपत्र सम्बन्धी आवश्यक विवरण संकलन गर्नका लागि गृह मन्त्रालयले निर्देशन दिएको छ।

पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै २४ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार समाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएको हुनुपर्ने भएपछि नागरिको सेवा र सहजतालाई मध्यनजर गर्दै सम्बन्धीत स्थानीयतहसँग समन्वय गर्न निर्देशन गरेको हो ।

सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई यस्तो निर्देशन दिएको हो ।







Monday, June 10, 2024

पुनर्वासका वीर बहादुर थापा बने मन्त्री

धनगढी/पुनर्वास निवासी वीर बहादुर थापा "पातल" मन्त्री बन्न सफल भएका छ्न । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तेस्रोपटक मन्त्रीमण्डल विस्तार गर्दा थापा मन्त्री बन्न सफल भएका हुन ।
 किशोरावस्थादेखि  माओवादीमा आबद्ध मन्त्री थापाले माओवादी जनयुद्धमा कठिन संघर्षपूर्ण अवस्थामा  ज्यानको पर्वाह नगरी योगदान दिएका थिए ।  सशस्त्र द्वन्द्वको समयमा  ७ वर्ष जेल बसेका थापा तत्कालीन शाही सेनाको चरम यातनाका कारण अझै शारीरिक रुपमा कमजोर छ्न ।  तत्कालीन माओवादी र एमाले एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेका बेला उनी कञ्चनपुर जिल्ला कमिटी संयोजक बनेका थिए । पछी  नेकपा फुटदा  उनी एमाले तर्फ लागेका थिए । 
 माओवादीमै हुँदा उनी पुनर्वास नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा चुनाव लड्दा नेकपा एमालेसँग पराजित भएका थिए ।
एमालेमा लागेपछि उनी कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । एमालेले उनलाई सार्वजनिक लेखा समितिको सभापति समेत बनाएको थियो । सोमबार भएको मन्त्रिपरिषद् विस्तारमा कञ्चनपुर जिल्लाबाट ४ मन्त्री नियुक्त भएका छन् । थापासहित एमालेका हिरा सार्की, माओवादीका ओमविक्रम भाट ‘सरल’ र एकीकृत समाजवादीका माया पन्त मन्त्री बनेका छन् । सोडारीले एमालेका सुरेन्द्रबहादुर पाल, माओवादीका अक्कलबहादुर रावल र लक्ष्मी विकलाई समेत मन्त्री बनाएका छन् । यसअघि मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।

तीन दिन अगाडि भित्रियो मनसुन


  
काठमाडौं/ यस वर्ष मनसुन सरदर मितिभन्दा तीन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि तीन दिन अगाडि अर्थात् आज जुन १० तारिखमै भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन क्रमिक रूपमा केही दिनभित्र देशभर फैलने महाशाखाले जनाएको छ । अघिल्ला वर्षहरूको अनुभवअनुसार पूर्वबाट देशमा मनसुन भित्रिएपछि पश्चिमसम्म पुग्न एक हप्ता समय लाग्छ ।

यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागकाअनुसार यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भू–भागमा सरदर वर्षा हुने छ ।

Thursday, May 30, 2024

गर्मी बढेपछि पढाई प्रभावित, कतै विद्यालय बन्द, कतै समय परिवर्तन

कञ्चनपुर/१७ जेठ
तापक्रम ४३ डिग्री उकालो लागेपछि कञ्चनपुरका विद्यालयहरुमा पढाइ प्रभावित भएको छ । गर्मी छ्ल्न कतै विद्यालय बन्द गरिएको छ भने कतै  पठनपाठनको समय परिवर्तन गर्न गरिएको छ । जिल्लास्थित पालिकाहरुले ती पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा तथा पठनपाठनको समय परिवर्तन गर्न भन्दै सूचना जारी गरेका छन ।
कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाले १७ र १८ गते गरी दुई दिन विद्यालयमा पठनपाठन रोक्न भनेका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा निकै समस्या भएको र अभिभावकहरुले पनि बिदाको माग गरेकाले दुई दिन विद्यालयहरु बन्द गर्न भनिएको छ । उक्त बिदा हिउँदे तथा वर्षे बिदाबाट मिलान गरिने पनि सूचनामार्फत जनाइएको छ ।
बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, दोधराचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले भने विद्यालय सञ्चालनको समय परिवर्तन गर्न भनेका छन् ।
बेलडाँडीले हिजो १६ गते सूचना जारी गर्दै सोही दिनदेखि २१ गतेसम्म बिहान १०:४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको छ । बेलौरीले आज र भोलि (१७ र १८ गते) दुई दिन ७ देखि १०:३० बजेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ । शुक्लाफाँटाले भने १४ गते नै सूचना जारी गर्दै सोही दिनदेखि २० गतेसम्म बिहान ७ देखि १० गतेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ ।

पुनर्वासले पनि हिजो १६ गतेबाट २० गतेसम्म ७ देखि १०:४५ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न भनेको छ भने दोधाराचाँदनीले आजबाट २३ गतेसम्म ७ देखि १० बजेसम्म विद्यालय सञ्चालन गर्न भनेको छ ।
जिल्लाका ९ मध्ये ७ पालिकाका विद्यालयहरुमा बिदा तथा पठनपाठनको समय परिवर्तन गर्न लगाइएको छ ।

Tuesday, May 28, 2024

अत्यधिक गर्मीका कारण विद्यालयहरु बिहान दस बजेसम्म मात्र सञ्चालन हुने


कञ्चनपुर, १५ जेठ 
 अत्यधिक गर्मीका कारण भीमदत्तनगरका विद्यालयहरु बिहान दस बजेसम्म मात्र सञ्चालन हुने भएको छ । 
नगरपालिकाले एक सूचना प्रकाशित गर्दै
गर्मीका कारण शिक्षक तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर परेको र  पोलियो विरुद्धको IPV खोप कार्यक्रमलाई मध्यनजर गर्दै  जेठ १६ गतेदेखि जेठ १९ गतेसम्मलाई नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत बिहान सात बजेदेखि दस बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
केही दिन यता कञ्चनपुर लगायत तराईका जिल्लाहरुमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।

Tuesday, April 23, 2024

सुनको मूल्यमा भारी गिरावट, तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

काठमाडौं/११ बैशाख ।
सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाकाे एक लाख ३८ हजार दुई सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी तोलाको एक हजार छ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय पाँच रुपैयाँ थियो ।

Monday, April 22, 2024

भोलि सार्वजनिक बिदा हुने


 काठमाडौँ/१० बैशाख ।
सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कतारका अमिरले नेपाल भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

Thursday, April 11, 2024

पुनर्वासको कालिका मन्दिरमा श्रीमद्भागवत सप्ताह महायज्ञ सुरु



कञ्चनपुर/२९ चैत ।
पुनर्वास ४ मा अवस्थित  कालिका मन्दिरमा श्रीमद्भागवत सप्ताह महायज्ञ बुधबारबाट सुरु भएको छ । पुनर्वासको ४ को वडा कार्यालयको परिसर भित्र  रहेको कालिका मन्दिरको स्तरोन्नति गर्ने उद्देश्यले  महायज्ञ लगाईएको आयोजकले जनाएको छ ।
 महायज्ञमा  प्रमुख कथावाचक पण्डित प्रमोदप्रसाद पौडेल, उपप्रमुख कथावाचक चेतन अधिकारी रहनु हुनेछ ।  सप्ताहमा दैनिक रुपमा धनधान्याञ्चल तथा १ हजार ८ शालिग्राम पुजा, श्रीमद्भागवत  पुजन साथै दैनिक रुद्रीपाठ परायण, दिउँसो प्रवचन, भजन कृतन, दिव्य झाँकीलिलाहरु हुने आयोजकले बताएको छ ।
उक्त कार्यक्रम आगामी बैशाख ५ गते सम्म चल्नेछ ।

ईदको अवसरमा आज सार्वजनिक विदा

काठमाडौं/चैत २९ 
 ईदको अवसरमा सरकारले आज बिहीबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले हिजो एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक विदा दिएको जनाएको छ । 
सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा आज इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
मिति २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,गृह मन्त्रालयले भनेको छ ।

Tuesday, April 9, 2024

भारतमा गाडी दुर्घटना हुँदा कञ्चनपुरका सात जनाको मृत्यु, दुई घाइते


काठमाडाैं | चैत २७
भारतमा गाडी दुर्घटना हुँदा कञ्चनपुरका सात जनाको मृत्यु भएको छ ।
भारतको नैनीतालमा गाडी दुर्घटना हुँदा कञ्चनपुरपुरवासी सात नेपालीको मृत्यु भएको हो । नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
समाचारमा जनाइएअनुसार दुर्घटनामा कूल आठ जनाको मृत्यु भएको छ । जसमध्ये सात जना नेपाली हुन भने एक जना गाडी चालक भारतीय हुन् ।  मृत्यु हुनेमा चालक राजेन्द्र कुमार भने भारतकै बेतालघाटका हुन् । 
सोमबार राति साढे १० बजे दुर्घटना भएको हो । गाडी १५० मिटर मुनि खसेको थियो । 
गाडीमा कूल ९ जना नेपाली थिए । उनीहरू सबै कञ्चनपुरको महेन्द्रनगरका हुन् । उनीहरू घर जाँदै गर्दा दुर्घटना भएको समाचारमा उल्लेख छ । उनीहरूको सनाखत हुन बाँकी छ । दुर्घटनामा दुई नेपाली घाइते भएका छन् । 
    दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरू भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरू भएको बताइएको छ ।

Monday, April 8, 2024

हराएका पुनर्वासका शिक्षक विरामी अवस्थामा होटलमा भेटीए


कञ्चनपुर, २६ चैत ।
हराएका भनिएका पुनर्वासका शिक्षक विरामी अवस्थामा होटलमा भेटीएका छन। पुनर्वास ६ निवासी रविन्द्र बहादुर रावल चितवन भरतपुरस्थित  मालपोत कार्यालय नजिकै रहेको आशिष गेष्ट हाउस एण्ड लजको कोठामा अस्वस्थ अवस्थामा भेटीएको उद्धारमा संलग्न बलराम पाण्डेलाई उद्धृत गर्दै शिक्षक नवराज ओझाले  जानकारी दिनुभएको छ । सोमबार बिहान ११.२२ बजे भेटीएका रावललाई उद्धार गरि अस्पताल लगीएको पनि बताईएको छ ।
चितवन जिल्लाबाट शिक्षक सेवा आयोगबाट प्रावि तहमा नाम निकाल्न सफल भइ  नियुक्ति लिन उनी  चितवन पुगेका थिए । शुक्रबार विहानसम्म परिवारसंग फोन  सम्पर्कमा रहेका रावल शुकवार दिउँसोदेखि सम्पर्क विहिन भएका थिए ।

Sunday, April 7, 2024

पुनर्वासका एक जना शिक्षक चितवनमा हराए


कञ्चनपुर, २५ चैत ।
पुनर्वासका एकजना शिक्षक चितवनबाट हराएका छ्न ।
पुनर्वास नगरपालिका -६ प्रतिभानगर  टाउन निवासी रविन्द्र बहादुर रावल गत शुक्रबार देखि चितवनको भरतपुरबाट सम्पर्क विहिन भएका हुन ।  चितवन जिल्लाबाट शिक्षक सेवा आयोगबाट प्रावि तहमा नाम निकाल्न सफल भइ  नियुक्ति लिन उनी  चितवन पुगेका थिए । शुक्रबार विहानसम्म परिवारसंग फोन  सम्पर्कमा रहेका रावल शुकवार दिउँसोदेखि सम्पर्क विहिन भएको उनका भाई टेक बहादुर रावलले जानकारी दिएका छ्न ।  
  चितवनदेखि उनी सम्पर्क विहिन भएकाले उनका परिवारका सदस्यहरु अहिले भरतपुर पुगेका छ्न ।
निजलाई देख्नुहुने महानुभावले निम्न फोननम्बरमा सम्पर्क गरीदिन परिवारले अनुरोध गरेका छ्न ।
9749836378 /9844889671
                 

Wednesday, April 3, 2024

धनगढीमा पनि पठाओ सुविधा आउँदै

कैलाली/ धनगढीमा पनि पठाओ सुविधा आउने भएको छ । राइड सेयरिङ व्यवसाय कम्पनी पठाओले कैलालीको धनगढी सहरमा पनि ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको हो ।
मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार धनगढीमा पनि सेवा विस्तार गरिने पठाओ नेपालका प्रबन्ध–निर्देशक असिममानसिंह बस्न्यातले बताए। राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब धनगढीसम्मै पुग्ने भएको हो। नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टरसिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ। यसका लागि बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ।
राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन कम्पनीले आह्वान समेत गरेको छ। कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई अनलाइनमार्फत तालिम दिइनेछ। नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ।