हेमन्त न्यौपाने
कञ्चनपुर, असोज १३
पुनर्वास नगरपालिकाको श्री पुर्णालक्ष्मी चलचित्र मन्दिरमा चर्चित चलचित्र ‘रामकहानी’ प्रदर्शन भईरहेको छ । असोज ११ गतेबाट प्रदर्शन भईरहेको चलचित्र देशभरका चलचित्र हलहरुमा भव्यताका साथ प्रदर्शन भईरहेको छ । चलचित्र हलका प्रोप्राइटर रबिन्द्र नकर्मीले चलचित्र ११ गतेबाट नै राम्रोसँग चलेको प्रतिक्रिया दिनुभयो । चलचित्र हेर्ने दर्शनहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएको प्रोप्राइटर नकर्मीले जानकारी गराए ।
कस्तो छ त फिल्म रामकहानी ?
लभस्टोरी फिल्म बनाउँदै आएका सुदर्शन थापा यसका नाइके हुन् । पूजा शर्मा निमात्री र अभिनेत्रीको रुपमा आएकी छिन् । झट्ट सोच्दा फिल्म कमेडी हो कि भन्ने पर्छ । केही दृश्यले हरर फिल्मको झल्को पनि दिन्छ । निसन्देह यो लभस्टोरी नै हो । तर, दर्शकले सोचेभन्दा फरक ढंगको ।
कस्तो छ कथा ?
कथा वैदेशिक रोजगारका क्रममा जेल सजाय भुक्तान गरिरहेका चार नेपाली ठिटोबाट सुरु हुन्छ । उनीहरु बेकसुर जेल परेका छन् । जेलभित्रै सही, हाँसी मजाक गरेर दैनिकी बितेको छ । जेलमा तीन लगौंटियासँगै छन् राम -आकाश श्रेष्ठ) । उनी उदास छन्, गंभिर छन् । हाँसीमजाकमा कुनै दिलचस्पी छैन । र, यसो हुनुको पछाडि जेलमै सडिएला भन्ने भय होइन, घरगाउँको अतृप्त प्रेम पनि होइन । बरु, गाउँमै छाडिएकी माया -पूजा शर्मा) हो ।
ट्रेकिङ गाइडको रुपमा काम गर्दा मायासँग उनको माया पिरती झांगिएको हुन्छ । बुबाको करकापमा विदेश आएपनि उनलाई मायाकै मायाले तानिरहन्छ । रामलाई विश्वास छ, मायासँग गरेको प्रमिश -बचन)ले बचाएर उनलाई नेपाल फर्काउने छ ।
फिल्म- रामकहानी
निर्देशक- सुदर्शन थापा
कलाकार- पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, विल्सन विक्रम राई आदि
जनरा- लभस्टोरी
अवधी- २ घण्टा १० मिनेट
तर, भित्रभित्रै उनीहरुलाई एकलासे मरुभूमिमा लगेर गोली हानी मार्ने तयारी हुन्छ । त्यो दिन पनि आउँछ, चार जनालाई गाडीमा कोचेर मरुभूमीतिर दौडाइन्छ ।
त्यसपछि के हुन्छ ? श्रम भिसा च्यापेर विदेशिएका उनीहरुको ज्यान मरुभूमिमै समाप्त हुन्छ वा प्राण जोगाएर स्वदेश र्फकन्छन् ?
मूल कथाले यो प्रश्नसँग उस्तो नाता जोडेको छैन । बरु स्वदेश फर्किएपछि आउने अनपेक्षित मोडहरुले डोहोर्याउँदै दुई घण्टा १० मिनेटसम्म कथालाई तन्काउँछ ।
के छ राम्रो ?
अक्सर नेपाली फिल्मको सुरुवाती चरणमै दर्शकले अनुमान गर्छन् कि फिल्म यो मोडमा पुगेर टुंगिन्छ । तर, ‘रामकहानी’ले दर्शकलाई त्यो अवसर दिंदैन । दर्शकले जे ठानेका हुन्छन्, कथाको उत्कर्ष फरक ढंगले मोडिन्छ । यसले एक किसिमको नयाँपन दिन्छ ।
फिल्ममा दर्शंक धेरै पटक खुलेर हाँस्न सक्छन् । यसका लागि केही चरित्र र पात्रको उपस्थिती गराइएको छ । जब-जब कथा सुस्त हुन्छ र दर्शकले हाई काड्न थाल्छन् केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झाले दर्शकलाई तङ्ग्राउँछन् र मरुञ्जेल हसाउँछ । उनीहरुको उपस्थिती रोचक एवं घतलाग्दो छ ।
लभस्टोरी भएपनि फरक शैलीको कथा बुनिएको छ । पात्रबाट बाचन गराइएको कथालाई दुई खण्डमा विभक्त गराएर दर्शकलाई बाँधिराख्ने प्रयास गरिएको छ ।
भड्किएको कुरा
सुदर्शन थापाको यो पहिलो अभ्यास होइन । तर, यसमा उनको परिपक्कता पनि देखिंदैन । फिल्मको सुरुवात जुन ढंगमा, जति रोमाञ्चक शैलीले भएको छ, त्यो अन्तिमसम्म टिकाइराखेको भए निसन्देह ‘रामकहानी’ सुदर्शन र पूजा दुवैका लागि गर्व गर्ने फिल्म बन्थ्यो । यद्यपी विदेशी मरुभूमीबाट लखेटिदै त्रिभूवन विमानस्थल ओर्लिएका चार ठिटोसँगै फिल्म भड्किएको छ ।
फिल्मलाई भड्काउने यस्ता थुप्रै दोष छन् । कथामा दोष छैन, आशिंक पात्रमा दोष छैन । तर, घटनाक्रम, संवाद, गेटअप, पृष्टभूमी सबै दोषमुक्त छैनन् ।
केन्दि्रय पात्र र कथालाई शसक्त बनाउने, केही घतलाग्दा पात्रहरु उभ्याउने र बेलामौकामा ट्वीस्ट ल्याउने भन्दा फरक चिन्तन देखिंदैन, निर्देशकमा । कतिपय सामान्य कुरामा उनी यसरी चिप्लिएका छन्, जसले उनको आधारभूत सामाजिक चेतमाथि नै प्रश्न उठाउने ठाँउ दिन्छ ।
कथामा द्वन्द्व पैदा गर्नकै लागि एक अधवैंशे दलाल मायासँग विवाहका लागि जिद्दी गर्छन्, विवाहको कार्ड छाप्छन् । कडा मिजास र अन्धविश्वासी बुबाकै अगाडि मायालाई राखेर रामले साइकल गुडाउँछ । रामको विवाह भोजमा सरिक हुन अन्य तीन वयस्क उनको पछि लाग्छन् । विदेशबाट गाउँ पुगेका राम झोला समेत बोकेर मायाको गेस्ट हाउसमा पुग्छन् । चितामा आफ्नै बुबाको लास जलाइरहँदा सग्लो शरीर लिएर पुगेकी मायालाई देखेपछि गाउँलेहरु ‘भूत’ ठानेर भाग्छन् । यस्ता कृतिम दृश्य र प्रसंगले फिल्मलाई दोषमुक्त राख्न सकेको छैन ।
फिल्ममा हिरो अर्थात राम वैंशालु उमेरमा टुरिष्ट गाइडको काम गर्छन् । एकाध दृश्यमा उनले टुरिष्टलाई डोहोर्याउँदै मायाको गेस्ट हाउससम्म पुर्याएको देखिन्छ । तर, उकाली-ओराली गर्ने उनमा न थकान देखिन्छ, न कुनै जोश । उनी जुनसुकै बेला पनि फ्रेस र फिट एन्ड फाइन देखिन्छन् । उनकी आमा सधै मेकअपमा चिरिच्याट्ट सजिएर बस्छिन् । उनको घर सुकिलो छ । हेर्दा मध्यमवर्गिय परिवारका देखिने उनले न टुरिष्ट गाइड गरेको स्वभाविक देखिन्छ, न वैदेशिक श्रममा ।