Wednesday, July 28, 2021

स्वास्थ्य विभागबाट ल्याईएको स्वास्थ्य सामाग्री लालझाडीलाई हस्तान्तरण

कञ्चनपुर, १३ साउन ।
नेकपा एमालेका नेता खेम सुवेदीको विशेष पहलमा स्वास्थ विभागबाट ल्याईएको स्वास्थ्य सामाग्री लालझाडी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
मंगलबार एक कार्यक्रम बिच नेता सुवेदीले लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महरा र लालझाडी स्वास्थ्य चौकी प्रमुख हेमराज रानालाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरीएका सामाग्रीहरुमा भरी सिलिन्डर ३ थान, कन्सन्ट्रेटर १ थान,फेससिल्ड ५० थान, ग्लोब्स २०० थान,मास्क ४०० थान, थर्मलगन, सेनिटाईजर २५ लि. गाउन ५० थान र अक्सिमिटर लगायतका सामाग्री रहेका थिए ।
कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता निर्मल राना, करमसाय राना,रामकुमार आचार्य,जवाहर राना, लालसिंह राना लगायत सर्वासाधारणको उपस्थिति थियोे । 
कार्यक्रममा बोल्दै नेता खेम सुवेदीले कोरोना महामारीका विरुद्ध लडन सबैले आ-आफ्नो ठाउँबाट सक्रियतापूर्वक लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन लालझाडीका स्वास्थ्य प्रमुख  यज्ञबहादुर धामीले गर्नुभएको थियो ।

Sunday, July 25, 2021

त्रिभुवन युवा क्लब,पुनर्वास ६ को अध्यक्षमा जीतबहादुर तामाङ सर्वसम्मत


कञ्चनपुर/१० साउन
सामाजिक सेवा र खेलकुद क्षेत्रमा सक्रिय पुनर्वास नगरपालिका ६ को  त्रिभुवन युवा क्लबको अध्यक्षमा जीतबहादुर तामाङ सर्वसम्मत रुपमा चयन भएका छ्न । सनिवार बसेको क्लबको साधारण सभाले पुर्व खेलाडी जीतबहादुर तामाङको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।  त्यसैगरी उपाध्यक्षमा पुष्पकमल के.सी., सचिवमा भरत बोहरा र सहसचिवमा सावित्रा बराल, कोषाध्यक्षमा सन्त बहादुर भट्ट सर्वसम्मत चयन भएका छन । 
नवनिर्वाचित सदस्यहरुमा ठाकुरराम अर्जेल, लाल बहादुर पौडेल, शुक बहादुर बि.क., माया भुजेल, बुद्धि हमाल र मनमाया थापा मगर रहेका छ्न ।

बेलौरीका नगर प्रमुख पोतिलाल चौधरीद्वारा मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र

-धनबहादुर बि.क.
कञ्चनपुर -९ साउन
शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का  तथा प्रदेश सभा सदस्यद्वय कुलबीर चौधरी, महेशदत्त जोशी सहितको टोलीले  निर्माणाधीन बेलौरी-कलुवापुर सडकखण्डको स्थलगत अनुगमन गरेका छन् ।
मुख्यमन्त्री भट्ट, मन्त्री खड्का तथा भौतिक विकास मन्त्रालय सहित पूर्वाधार विकास कार्यालयका प्रतिनिधिको टोलीले स्थलगत अनुगमन गरेको हो । सो टोलीले बेलौरी-कलुवापुर सडकखण्ड, कलुवापुर-नाइल-बुडर सडकखण्ड र दैजी-लिप्ना सडकखण्ड लगायतका आयोजनाहरूको स्थलगत अनुगमन गरेका हुन् ।
त्यसैक्रममा कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयमा आयोजित साक्षात्कार कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बेलौरी-कलुवापुर सडकखण्ड र डोकेबजार-बेलौरी-बेलडाँडी-दैजी हुलाकी सडकखण्ड कालोपत्रेको बाँकी काम, ड्रेन निर्माण, सीमा सम्बन्धी समस्या समाधान र भन्सार नाका स्तरोन्नति लगायतका सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सँग आवश्यक सहयोगका लागि ज्ञापन पत्र पेस गर्नु भएको थियो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको अधिकार क्षेत्र भित्र रहेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रदेश सरकार मातहत रहेको कलुवापुर-बेलौरी सडकखण्डमा अधिकांश कार्य पूरा भएको र बाँकी अवरोध समेत समाधान गर्न तर्फ प्रदेश सरकार केन्द्रित भएको उहाँको भनाइ छ । हुलाकी सडकखण्ड, सीमा विवाद र भन्सार नाका स्तरोन्नति लगायतका विषयमा सङ्घीय सरकारसँग पहल गर्ने मुख्यमन्त्री भट्टले बताउनु भयो ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा उपलब्धि देखिने गरी कार्य भइरहेको बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रसँगै जोडिएका सडकखण्डहरूको स्तरोन्नति र द्रुतगतिमा कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्री खड्काको भनाइ छ । टोलीले शनिबार नै कञ्चनपुरका केही अन्य योजनाहरूको समेत अनुगमन गरेको बताइएको छ ।
कार्यक्रममा बेलौरीका स्थानिय समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ, विज्ञ एवम् पत्रकारहरुको सहभागीता रहेको थियोे ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Friday, July 23, 2021

पुनर्वास बाल उद्यानको नाम परिवर्तन गरीएकोमा नेपाली काङ्ग्रेसको आपत्ती

कञ्चनपुर, ८ साउन ।
पुनर्वास -३ आईबिआरडीमा रहेको पुनर्वास बाल उद्यान सार्वजनिक पार्कको नाम परिवर्तन गरीएकोमा नेपाली काङ्ग्रेस पुनर्वास नगरकमिटीले आपत्ति जनाएको छ । शुकवार नगर कमिटीले एक प्रेस विज्ञप्ती निकाली प्रतिपक्षको मर्यादालाई समेत वास्ता नगरी पार्कको साविकको नाम पुनर्वास बाल उद्यान हटाई मदन भण्डारी स्मृति बाल उद्यान राखिएकोमा आपत्ति जनाएको हो ।
नेपाली काङ्ग्रेस नगर कमिटीका सभापति यम प्रसाद पौडेलद्वारा हस्ताक्षरीत उक्त प्रेस विज्ञप्तिमा सो कार्यले  पुनर्वासको स्वअस्तित्व, इतिहास र पहिचानलाई मेटाउन खोजीएको आरोप  लगाईएको छ । साविककै नाम पुनर्वास बाल उद्यान राख्न र सो नगरीएमा संघर्षका कार्यक्रम ल्याईने चेतावनी समेत दिईएको छ ।
विज्ञप्तिमा इतिहास पुरुष मदन भण्डारी प्रती आफुहरुको सम्मान रहेको तर पुनर्वासको अस्तित्व,पहिचान र इतिहास मेटाउने कार्यप्रती आफुहरुको विमति रहेको जनाईएको छ ।
कञ्चनपुर पुनर्वास ३ को आईबिआरडी बजारक्षेत्रमा रहेको पुनर्वास बाल उद्यान  पार्कको नाम परिवर्तन गरी मदन भण्डारी स्मृति पार्क नामाकरण गर्ने भनि सातौं नगरसभाले पारित गरेको थियो । वार्षिक नगर विकास योजना २०७७/७८ को ३० औं नम्बर बुँदामा नगरपालिका भित्रका सबै पार्कहरुलाई संरक्षण र प्रवर्द्धन गर्ने तथा आईबिआरडीको पार्कलाई ‘मदन भण्डारी स्मृति पार्क’ नामाकरण गर्ने भनी निर्णय भए अनुसार नै सो पार्कको नाम मदन भण्डारी स्मृति पार्क राखिएको र यसमा मदन भण्डारीको अर्धकदको सालिक निकट भविष्यमै राखिने पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले बताए । 
  नगरको नीति तथा कार्यक्रम ल्याउँदा सबै पक्षसंग  छ्लफल गरि सहमतिमै सो निर्णय भएको र नेपाली काङ्ग्रेसको अहिलेको विरोधले निर्णयमा ब्याक हुने सम्भावना नरहेको पनि प्रवक्ता सुनारले हाम्रै साझा पत्रिकालाई  बताए ।

Saturday, July 17, 2021

नेताको पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो देशको समृद्धिको बाधक हुन्ः डा. भीमार्जुन आचार्य


काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले पार्टीका नेताहरुको पछि लाग्ने लाखौं लम्पट कार्यकर्ता यो देशको समृद्धिको बाधक भएको बताएका छन् । 
प्राइम टिभीको एक कार्यक्रममा शनिबार बोल्दै उनले पार्टीको पछि लाग्ने विभिन्न पार्टीका झण्डै ३० लाख कार्यकर्ता नै यो देशको विकासको बाधक हो भनेका हुन् । 
उद्यम नगरेर पार्टीको पछि लाग्ने यस्ता कार्यकर्ताका कारण मुलुकको विकास हुन नसकेको डा. आचार्यको आशय देखिन्छ । यो देशमा दलका कार्यकर्ताभन्दा धेरै सर्वसाधारण नागरिक छन् भन्ने कुरा बिर्सिन हुन्न भन्दै उनले भने, ‘त्यही नै यो देशको प्रगतिको बाधक हो । मैले भन्दै पनि आएको छु, लाखौंलाख संगठित सदस्य भएको फाइदा नेताहरुले उठाउँदै आएका छन् ।’
दलका कार्यकर्तालाई छोडेर जनता सडकमा उत्रिए पनि उहाँहरु कहाँ पुग्नुहुन्छ ? भन्दै आचार्यले प्रश्न गरे । उनले दलका नेताहरुले जे भन्यो त्यही जनताले मान्छन् भन्ने कुरा गलत हो भन्दै नेपाली जातिमा सहनशीलता बढि भएकाले मात्रै सहेका हुन, तर अति भएपछि बिद्रोह गर्छन भने । 
उनले अहिलेका भ्रष्ट र नालायक नेताहरुलाई जनताले चाँडै नै लखेट्ने पनि दावी गरे । आचार्यले भने, गफ दिने, भाषण गर्ने, जनतालाई कुनै सुविधा नदिने, संविधानमा भएको कुरा कार्यान्वयन नगर्ने हो भने उनीहरुको लखेटिने दिन मैले निकै नजिक देख्छु ।’
अति भएपछि जनता सडकमा आउने बताउँदै आचार्यले विगतमा पनि पार्टीका नेताहरुको आव्हानका कारण नभई अति भएपछि जनताले प्रतिरोध गर्ने बताए । अहिलेको संघीय व्यवस्था र दलका नेताहरुको कार्यशैलीका कारण मुलुक आर्थिकरुपमा धरासायी अवस्थामा पुगेको, जनता महामारीका खान नपाएर भोकै बस्नुपरेको, आत्महत्या गर्नु परेको, तर नेताहरु आफ्नो सुखसुविधामा लिप्त रहेको आरोप लगाए । 

Wednesday, July 14, 2021

विद्यार्थी संगठन संगको वार्तापछि पेट्रोलियम पदार्थको मूल्य घट्यो


 काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं  मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको र सोको कारणले निगमको लागत बढी रहेकोले निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु पर्ने निगमले जनाएको छ ।
‘निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजान सहयोग गर्नु हुनेछ भन्ने निगमले विश्वास लिएको छ। ,’निगमले भनेको छ ,’आन्दोलनरत ५ विद्यार्थी संगठनले निगमको यो निर्णयपश्चात्  विरोधका कार्यक्रम फिर्ता लिनु हुनेछ भन्ने विश्वास छ ।’

Tuesday, July 13, 2021

पुनर्वासमा मदिरा सेवन गरि रातभर हल्ला गर्नेको जमात बढेपछि स्थानीय हैरान

-हेमन्त प्रकाश बुढा 
कञ्चनपुर/२९ असार 
पुनर्वास २ मोति बस्ती क्षेत्रमा मदिरा सेवन गरेर रातभर हल्ला गर्नेहरुको जमात बढेपछि सर्वसाधारण हैरान भएका छ्न ।  अबेर रातिसम्म रक्सी खाएर होहल्ला गर्ने,अश्लील बोल्ने गरेपछि स्थानीय सुत्नै नसक्ने अवस्थामा पुगेका छ्न । 
पछिल्लो समय लकडाउन खुकुलो हुँदै गएसंगै  समाजमा अराजक गतिविधि हुनथालेको छ । गत असार २७ गतेको दिनमा अत्यधिक मदिरा सेवन गरि एकजना बिचबाटोमा बेहोसी अवस्थामा देखेपछि स्थानीयले खबर गरि जनप्रतिनिधि र स्थानीय बुद्धिजीवीको पहलमा  उद्धार गरीएको थियोे ।
त्यसैगरी गएराती मात्रै  ११ बजेतिर मोतिबस्तिको चिनी मिल जाने खल्ला टोलमा एकजना दशरथ बस्तिका एक व्यक्ति अत्यधिक मदिरा सेवन गरि अचेत अवस्थामा बिचरोडमा भेटिएका थिए ।
 होहल्ला गर्ने र रक्सी खाएर  बेहोसी अवस्थामा मान्छे  दैनिक भेटिन थालेपछि समाजको शान्ति र अमनचयनमा बाधा पुगेको स्थानीय बुद्धिजीवी गोपाल रेग्मीले  हाम्रै साझा पत्रिकालाई बताए ।
प्रहरी प्रशासनले सक्रियता बढाए आफुहरुलाई राहत हुने स्थानीयको बुझाई छ ।
हेमन्त प्रकाश बुढा हाम्रै साझा पत्रिका र समाचार विशेष डटकमका समाचारदाता हुन ।


 

Saturday, July 10, 2021

नेपालमा देखियो सेतो काग, स्थानीय चकित

 
रौतहट/काग भन्ने वित्तिकै एउटा कालो चराको प्रतिबिम्ब हाम्रो दिमागमा आउँछ । तर काग कालो मात्र हैन सेतो पनि देखिएको छ । त्यो पनि अन्त हैन,
नेपालमा सेतो काग देखिएको छ ।  सामान्यतया गाढा कालो हुने काग सेतो रंगमा फेला परेको छ। रौतहटको वृन्दावन नगरपालिका ४ पल्टुआमा सेतो काग देखिएको हो। सेतो काग कहाँ गुँड बनाएर बस्दछ भन्ने विषयमा स्थानीयले खोजी गरिरहेका छन्। 
हरेक दिन एकपटक सेतो काग स्थानीय उमेश यादवको खेतमा देखा पर्ने गरेको स्थानीयले बताएका छ्न । सेतो काग देखिएपछी स्थानीय चकित परेका छ्न ।

पुनर्वासमा घरको बरण्डाबाटै मोटरसाइकल चोरी

कञ्चनपुर/  पुनर्वासमा घरको बरण्डाबाटै मोटरसाइकल चोरी भएको छ। पुनर्वास ६ स्थित परि थापाको  घरबाट शुक्रबार राती मोटरसाइकल चोरी भएको हो । पुनर्वास ६ साना किसान चोक नजिकै रहेको उक्त घरको बरण्डामा राखेको मोटरसाइकल चोरी भएको हो।
घरबाटै मोटरसाइकल चोरी भएको सवारी धनी परी थापाले जानकारी दिएका छ्न । मोटरसाईकल चोरीको विषयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिएको उनले बताए।

Friday, July 9, 2021

पुनर्वासमा ट्राफिक प्रहरी सक्रिय, हेल्मेट बिना मोटरसाइकल चलाउनेलाई कार्वाही

-केेशव भट्टराई 
कञ्चनपुर/ पुनर्वासमा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । पुनर्वास-धनगढी मार्गमा ट्राफिक प्रहरीले हेल्मेट नलाई मोटरसाइकल चलाउने तथा सवारी नियम उल्लंघन गर्नेलाई कार्वाही गर्न सुरु गरेको छ । विशेषगरि पुनर्वासको सिम्री र आइबीआरडि क्षेत्रमा ट्राफिक प्रहरीले सक्रियता बढाएको हो  । ट्राफिक प्रहरीको निष्क्रियता बढेको भन्दै आलोचना हुन थालेपछि प्रहरीले सक्रियता बढाएको बताईएको छ ।   कञ्चनपुरको दक्षिणी क्षेत्रमा ट्राफिक प्रहरी निष्क्रिय हुँदा एउटा मोटरसाइकलमा तीन जना सवार हुने र हेल्मेट नलगाई सवारी चलाउने छ्यापछ्याप्ती भेटिन्छ्न ।   बिना हेल्मेट मोटरसाइकल चलाईरहेको तस्वीरहरु सामाजिक सञ्जालमा आएपछि ट्राफिक प्रहरीले सक्रियता बढाएको बुझिएको छ । 
शुक्रवार अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्ती र डोकेबजारद्वारा पुनर्वास ५ को सिम्रीमा सयुक्त चेकजाँच गरिएको छ ।यसक्रममा एक सय भन्दा बढी सवारीलाई चेकजाँच गरिएको र बिसभन्दा बढी सवारी चालक कार्वाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोस्ट त्रिभुवनबस्तीले जनाएको छ ।
केशव भट्टराई हाम्रै साझा पत्रिकाका समाचारदाता हुन ।

Wednesday, July 7, 2021

नगरप्रमुख,नगरप्रवक्ता सहित नगरपालिकाकै चरीत्र हत्या गर्ने प्रयास हुँदैछ : मेयर चौधरी

कञ्चनपुर / बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी लगायतका केही जनप्रतिनिधिको चरित्र हत्या गर्ने किसिमले शृङ्खलाबद्ध  रुपमा एक अनलाइन सञ्चार माध्यमबाट सामाजिक सञ्जालमा आएका समाचार भ्रामक कुप्रचार रहेको भन्दै नगरपालिकाले गत सोमबार प्रेस विज्ञप्ति जारी गरेको थियोे ।
चरित्र हत्या गर्न खोजियो :  नगर प्रमुख चौधरी
 मंगलबार अर्को प्रहार भयो नगर प्रमुख चौधरीले भने -"दैनिक जसो मलाई टार्गेट बनाएर (कान्ति खबर डटकम) अनलाइन सञ्चार माध्यमले चरित्र हत्या गर्न खोजिरहेको छ । काण्ड ७ को कम्प्युटर खरिदमा नगरप्रमुखको संलग्नता भन्नेबारे लेखिएको समाचार सन्दर्भमा सार्वजनिक खरिद ऐनअन्तर्गत खरिद समिति रहेको हुन्छ । जसमा कार्यालय प्रमुख प्रशासकीय अधिकृत संयोजक हुने व्यवस्थामा उल्लेख छ । प्रशासकिय अधिकृतले विधि प्रकृया पुर्याएरै समितिको निर्णय अनुसार खरिद तथा आवश्यक बोलपत्र आव्हान जस्ता कार्य गर्ने गर्दछ । तसर्थ उक्त विषयमा मेरो कुनै संलग्नता रहदैन् । हाम्रो काम निति निर्माण गर्ने हो, नियम संगत कार्यान्वयनको पाटो र ठिक बेठीक कार्यालय प्रमुखको जिम्मेवारी रहन्छ ।"
महालेखा परीक्षकको काम, कर्तव्य राय सुझाव
नगर प्रमुख चौधरीले भने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको विषय नगरपालिकालाई दिएको राय सुझाव हो । जुन हरेक सरकारी निकाय जस्तै स्थानीय देखि संघीय, अर्थ देखि गृह मन्त्रालय सम्मका कार्यालयहरुलाई हरेक बर्ष मलेपले प्रारम्भिक राय एवम् सुझाव दिइरहेको हुन्छ । तर यसलाई अपव्याख्या गरेर भ्रष्टाचार र अनियमितताका रुपमा जनमानसमा भ्रम छर्ने कुचेष्टा गर्नु निन्दनीय कार्य हो ।
पत्रकारिता पेसालाई राजनीतिक ढाल बनाईयो
देशको चौंथो अङ्गका रुपमा रहेको सम्मानित एवम् प्रतिष्ठित पत्रकारिता पेसालाई राजनीतिक ढाल बनाएर एकतर्फी रुपमा कसैको मान मर्दन हुने गरि चरित्र हत्या गर्न खोज्नु घृणित कार्य भएको उहाँकाे कथन छ । साथै केही असामाजिक तत्वहरुले राजनीतिक पुर्वाग्रही ढंगले गरेको कुप्रचार प्रति घोर भर्सना र निन्दा गर्दै यस्ता कार्य नगर्न नगराउन नगर प्रमुख चौधरीले अनुरोध समेत गर्नुभयो । विकास निर्माण कार्यमा केही कमी कम्जोरी भए रचनात्मक सुझाव सहित खबरदारी गर्न नगरपालिकाको आह्वान छ । भने अर्कोतर्फ कुप्रचार गर्ने उक्त अनलाइन सञ्चार माध्यम विरुद्ध आवश्यक कानुनी कार्वाही प्रक्रिया समेत अगाडि बढेको नगरपालिकाले जनाएको छ ।
बेलौरी नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा तेस्रो
बेलौरी नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा तेस्रो स्थानमा छ । सार्वजनिक गरिएको स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनमा तेस्रो स्थानमा परेको हो । आर्थिक वर्ष २०७६\७७ मा स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनले सार्वजनिक गरेको नतिजा अनुसार कञ्चनपुरमा भीमदत्त नगरपालिकाले सबै भन्दा बढी ६९.७५ प्रतिशत अंक प्राप्त गरेको थियो। भने दोस्रोमा शुक्लाफाँटा नगरपालिकाले ६५ प्रतिशत त्यस्तै तेस्रोमा बेलौरी नगरपालिका र पुनर्वासले समान ५८\५८ प्रतिशत अंक पाएको हो ।स्थानीय तह संस्थागत क्षमता स्व–मुल्याङ्कनले नगरपालिकाको प्रशासकिय प्रवन्ध, न्यायिक सेवा सम्पादन, वार्षीक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एंवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, भौतीक पुर्वाधार लगायतका आधारहरुमा स्थानीय तहको मुल्याङ्क गर्ने गरिन्छ ।


साभार :- रेडियो सुदुर संचार 

एमाले कार्यदल बैठक सकारात्मक, विवाद समाधान हुने दिशामा अघि बढ्यो


काठमाडौं । नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरूले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताएका छन् ।
बुधबार अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठक पछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ अगाडी बढेको नेताहरूले बताएका हुन् । बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपा(एमाले)का प्रवक्ता तथा कार्यदल सदस्य प्रदिपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख भएको बताउनुभयो ।
एमाले विवादलाई भोलिसम्म टुङ्गोमा पुर्याइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने, उहाँहरूका भावना बुझ्ने कुराहरू पनि भइरहेका छन । कार्यदल भित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोलि टुङ्ग्याउने गरी लाग्छौँ । प्राविधि कारणले ढिलो पनि हुनसक्ला तर अहिलेसम्मको हाम्रो छलफलको आधारमा भोलि टुंगिन्छ भन्ने मलाई विश्वास छ ।’
त्यस्तै कार्यदल सदस्य सुवाशचन्द्र नेम्वाङले पनि छलफल सकारात्मक रूपले अघि बढेको प्रतिक्रिया दिनुभएको छ । उहाँले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरूलाई ध्यानमा राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्दै कार्यदल टुङ्गोमा पुग्न लागेको बताउनुभयो । बुधबार साँझसम्ममा थप छलफल हुने र भोलि पुनः कार्यदलको बैठक बसेर कार्यदलको बैठकबाट एकताको लागि टुङ्गोमा पुर्याउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सबैसँग छलफलका लागि आज दिनभरीको समय चाहिने आवश्यकता महशुस गर्‍यौँ र साँझसम्म ति सबै काम भइसक्छन् र भोलि फेरि बैठकलाई औपचारिक रुपमा सुरु गर्छौं ।’
कार्यदल बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ कार्यदल सदस्य गोकर्ण विष्टले दुवै पक्षबीच अविश्वासको खाडल कम भएको र विश्वासको वातावरण निर्माण भएको प्रतिक्रिया दिनुभयो । सर्वोच्च अदालतको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट फर्काएर क्रियाशील बनाउने, माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको व्यवस्थापन गर्ने र प्रतिनिधि सभा विघटनको सम्बन्धमा अदालतमा परेका मुद्दाको सम्बन्धमा आफूहरूले चाहेकै भाषामा सहमति खोज्न नजिक आइपुगको उहाँले बताउनुभयो ।
सोमबारदेखि नेकपा(एमाले)को कार्यदल सक्रिय छ । बुधबारको बैठकमा धेरै विषया सहमति नजिक पुगेको भन्दै बिहीबारको बैठकले अन्तिम निष्कर्ष दिने नेताहरूले दाबी गरेका छन् ।