Wednesday, July 12, 2023

नेपाल राहत शिक्षक पुनर्वासले दोश्रो नगर अधिवेशन गर्ने


कञ्चनपुर, २७ असार ।
नेपाल राहत शिक्षक पुनर्वासले दोश्रो नगर अधिवेशन गर्ने भएको छ । गत असार २५ गतेका दिन बसेको बैठकले दोश्रो नगर अधिवेशन गर्ने निर्णय गरेको थियोे । 
 नगर अधिवेशन यहि असार २९ गतेका दिन पुनर्वास ६ स्थित जीवनज्योती माध्यमिक विद्यालयमा हुने  र सो अधिवेशनले नयाँ कार्यसमिति गठन गर्ने बताईएको छ । 
नयाँ समितिले  राहत शिक्षकको पेशागत सुरक्षाको लागि गरिने आन्दोलनलाई थप उचाइमा पुर्‍याउन योगदान दिने  नेपाल राहत शिक्षक पुनर्वासका अध्यक्ष जयबहादुर मडैले बताए ।

Sunday, July 9, 2023

पुनर्वासको प्यारातालमा माछाको प्रतिमा बनाउन "प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति " गठन


कञ्चनपुर, २४ असार ।
पुनर्वास नगरपालिका ९ स्थित
प्यारातालमा माछाको प्रतिमा बनाउन "प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति " गठन भएको छ ।
पुनर्वासका वरिष्ठ पत्रकार दीपेन्द्र बस्नेतले प्यारातालको ऐतिहासिक पहिचान स्थापित गर्न र पर्यटन प्रवर्द्धनका लागि भन्दै माछाको प्रतिमा राख्नका लागि अभियानको सुरुवात गरेका हुन । सोही अभियानलाई सशक्त, पारदर्शी , चुस्त दुरुस्त , संगठित , अनुशासित र गतिशील बनाउन "प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समिति" गठन गरिएको पत्रकार बस्नेतले बताए । 
तदर्थ समितिका निम्न व्यक्तिहरु रहेका छ्न ।
१) दीपेन्द्रकुमार बस्नेत - अध्यक्ष 
२) प्रेमप्रसाद जैसी      -  सचीव 
३) गीता शर्मा जैसी      - कोषाध्यक्ष 
४) प्रीतमदेव गिरी       - सदस्य 
५) बुद्धिप्रसाद शर्मा    - सदस्य 
६) मानबहादुर खत्री    - सदस्य 
७) वीरबहादुर सुनार   - सदस्य 
 त्यसैगरी सल्लाहकारहरुमा
पुनर्वास ९ का वडाध्यक्ष नरबहादुर बिक,समाजसेवी अमरजन साउद,
पूर्व वडाध्यक्ष नारायणप्रसाद जैसी रहनुभएको छ । 
यस कार्यलाई सफल बनाउन रेखदेख तथा संरक्षण उपसमितिको समेत निर्माण गरिएको छ । उपसमितिमा देहायका व्यक्तिहरु रहनुभएको छ । 
१) कृष्णबहादुर बस्नेत संयोजक 
२) रवी बुढा क्षेत्री         सदस्य 
३) भरत सुनार            सदस्य
४) सञ्जु रोकाया         सदस्य 
५)  दिपक मगर          सदस्य 
त्यसैगरी निकट भविष्यमा  राष्ट्रिय वाणिज्य बैंकको पुनर्वास शाखा  शिवसरोजस्थलमा यस प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिको खाता सञ्चालन गर्ने र खाता नम्बर सामाजिक सञ्जालबाट  सार्वजनिक गरीने समेत पत्रकार बस्नेतले जानकारी गराएका छ्न ।
 अहिलेसम्म पुनर्वास ७ का बुद्धिमान तामाङले ५,५०० , पुनर्वास ८ दधिराम गौतमले ५,१०० , पुनर्वास ८ का अर्जुन बोगटी ५,१०० , पुनर्वास ९ का करण भाट क्षेत्री ५००० , पुनर्वास ९ का बिष्णु शर्माले  ३०००, नारायण सुवेदी ३००५ ,  पुनर्वास ८ का बुद्धि कटुवाल २५००,  पुनर्वास ९ का  मानबहादुर धामी २१२१ , पुनर्वास ९ का कृष्ण जैसी २१००, पुनर्वास ५ का दीपक सुनार २१००, पुनर्वास ९ का  मनिराम खनालले २००० , पत्रकार केशव भट्टराई ११११ , वन संरक्षणकर्मी रेशम शर्माले ११११ , पुनर्वास ६ का राजेन्द्र बरालले १००० , पुनर्वास ८ अर्जुन केसीले १००० , पुनर्वास ६ श्रीराम हमालले १००० , पुनर्वास ६ भुपेन्द्र बस्नेतले ५०० र पुनर्वास ७ का वडा सदस्य केशव एसकेले १,५०० , प्रीतमदेव गिरी पुनपा ९ ले १५०५ , पुनपा २ हिक्मत खडायतले  ११११ , हाल धनगढी बिरेन्द्र श्रेष्ठले रु २१०० , पुनपा ५ बिमल बिश्वकर्माले १५५५ , अनिता मालीले २१००, पुनपा ९ का कमलप्रसाद उपाध्यायले २१००, पुनर्वास ९ का बुद्धि प्रसाद शर्माले ११११ , पुजमाविका पूर्व विद्यार्थी (हाल काठमाडौं) अनिल बुढाथोकीले ५,५५५/- , पुनपा ९ (हाल काठमाडौं) प्रेम प्रसाद जैसीले २१००/-  बेलौरी नगरपालिका ८ कलकत्ताका दानबहादुर पाण्डेले १५००/- पर्वत फलेवास न.पा. ५ झकलक बस्ने  अमृता क्षेत्रीले ५००५/- रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ  ।

Tuesday, July 4, 2023

कुण्डा सव डिभिजन वन कार्यालय पचगडियाद्वारा निशुल्क बिरुवा वितरण


कञ्चनपुर,१९, असार ।
 पुनर्वास नगरपालिका वडा नं १० मा रहेको कुण्डा सव-डिभिजन वन कार्यालय पचगडियाले निशुल्क बिरुवा वितरण गरेको छ । पुनर्वास नगरपालिका र डिभिजन वन कार्यालय कञ्चनपुरको  आर्थिक सहयोग र कुण्डा सव-डिभिजन वन कार्यालय पचकडियाको सहकार्यमा उत्पादन भएका विरुवाहरू आज निशुल्क वितरण गरिएको हो।
 कुण्डा सव-डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित निशुल्क  बिरुवा वितरण कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्य र उपप्रमुख भुलिया कुमारी रानाको विशिष्ट आथित्य रहेको थियो।  अतिथिमा रुपमा वडा नं ६ का वडाध्यक्ष मित्रसिंह लामा,वडानम्बर  १० का वडाध्यक्ष सुकदेव राना , ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज प्रहरी निरीक्षक नरेशराज मल्ल ,स्थानिय वडा सदस्यहरु, समाजसेवी , बुद्धिजीवी र कृषकहरूको उपस्थिति रहेको थियो। नगरपालिकालाई हरियाली र सुन्दर बनाउने उद्धेश्यले "सन्ततिका लागि सोचौ, समृद्धि र हरियाली को लागि वृक्षारोपण गरौ" भन्ने मुल नाराका साथ नगर र वन कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत १ लाख विरूवा उत्पादन गरि निशुल्क रूपमा वितरण गर्न लागेको कुण्डा सव वन डिभिजन कार्यालय पचगडियाका प्रमुख यादवले जानकारी दिनुभयो । प्रमुख अतिथिको रूपमा रहेका नगर प्रमुख तोय प्रसाद शर्माले "हरियो वन नेपालको धन” भन्ने मूल मन्त्र लाई अंगीकार गर्दे वृक्षरोपण फेसनका लागि होइन रोपेको बिरुवा जोगाउन जरुरी भएको बताउनुभयो ।
 यसैगरी बिरूवा वितरण कार्यक्रममा नगर उपप्रमुख भुलिया कुमारी रानाले नर्सरी उत्पादन निकैनै राम्रो भएको  र यस कार्यमा अहोरात्र खटिएका वन कार्यालय परिवार र कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादवलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यालयद्बारा उत्पादन गरिएका बिरुवाहरूमा टिक,अमला,मसला, बकाइनो, जामुन,टाकी, निम, पारिजात प्रजातिको रहेको छ। बिरूवा वितरण गर्दा सहज बनाउन बिरूवा लिन आउने सेवाग्राहीले ५० गोटा बिरुवा को लागि नेपाली नागरिकताको प्रतिलिपि, ५१ गोटा देखि २९९ गोटा सम्म जग्गाधनी प्रमाण पत्र को प्रतिलिपि,३०० गोटा देखि माथि सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नुपर्ने र संघसस्थाको लागि प्रावधान रहेको कुण्डा सव-डिभिजन कार्यालय पचगडियाका प्रमुख यादवले बताए। वन कार्यालयले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण तथा बन जङ्गल क्षेत्रमा वृक्षारोपण गर्दै आइरहेको छ ।

Tuesday, June 27, 2023

पुनर्वासको सिमरीमा टिप्पर र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

कञ्चनपुर/ १२ असार ।
  पुनर्वासको सिमरीमा टिप्पर र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार (आज)पुनर्वास नगरपालिका-५, सिमरीमा टिप्पर र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।
ठक्करबाट सिमरी गाउँकै ५५ वर्षिय मोतिलाल रानाको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।
धनगढी तर्फ गईरहेको सु.प.प्र.०१-००१क २२०० नम्बरको टिप्परसंग सिमरी गाउँभित्रबाट विपरित दिशाबाट हुलाकी सडकमा आईरहेको से.४प. २२७१नम्बरको मोटरसाईकल ठोक्किदा गम्भिर घाईते भएका रानाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनको दुर्घटना लगत्तै उपचारका लागि धनगढी स्थित माया मेट्रो हस्पिटलमा लगिएको पुनर्वास नगरपालिका-५ का वडाध्यक्ष पदमबहादुर रोकायाले बताए ।
अहिले मृतक रानाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको र टिप्पर,मोटरसाइकल र चालक ईलाका प्रहरी त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको प्रहरीबाट बुझिएको छ ।

Sunday, June 25, 2023

पुनर्वासको सरस्वती माविका प्रधानाध्यापक पौडेललाई सम्मान

-लाल ब. एसके
कञ्चनपुर/कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापकलाई सम्मान गरिएको छ ।
पुनर्वास नगरपालिका २ मोतीबस्तीमा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रद्यानाध्यापक जितेन्द्र पौडेललाई सम्मान गरिएको हो ।
पुनर्वास नगरपालिकाले प्रअ पौडेललाई सामुदायिक विद्यालयको स्तरबृद्धि गरेको भन्दै सम्मान गरेको छ ।
पुनर्वास नगरपालिकाको १३औँ नगर अधिवेशन कार्यक्रममा प्रअ पौडेललाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । पुनर्वास नगरका प्रमुख तोय प्रसाद शर्माले प्रअ पौडेललाई प्रमाण पत्रका हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरेका छन । प्रअ पौडेलले उक्त सरस्वती माविको प्रअ भएपछि विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरेपछि २,३ सय मात्रै विद्यार्थी हुने उक्त विद्यालयमा हजार बढि विद्यार्थी रहेका छन । उक्त विद्यालयमा अग्रेजी माध्यमबाट गुणस्तरिय पठनपाठन हुने भएपछि पछिल्ला वर्षहरुमा विद्यार्थीको आकर्षण बढिरहेको छ । नगरपालिकाबाट सम्मानित भएका प्रअ जितेन्द्र पौडेलले सम्मानबाट उत्प्रेरणा मिलेको बताउँदै थप शैक्षिक वृद्धि विकासका लागि पहल गर्ने प्रण गरेका छन ।
 पुनर्वास नगरका प्रमुख तोय प्रसाद शर्माले प्रअ जितेन्द्र पौडेलले पुनर्वासको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।




Tuesday, June 20, 2023

आन्तरिक मामिला तथा कानून मन्त्री सिंहको निधनमा बुधबार सुदुरपश्चिम प्रदेशभर शोक बिदा


धनगढी /असार ५ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा बुधबार प्रदेशभर शोक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमामन्त्रिपरिषद्को निर्णयअनुसार सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने र उक्त दिन सरकारी तथा सार्वजनिक निकायहरुमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख छ । 
सिंहको मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा निधन भएको थियो । सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ । यस्तै दुर्घटनामा अन्य दुई जना घाइते छन् । 

दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका कानुन मन्त्रीको निधन



कैलाली/ धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिंहसहित उनकी पत्नी र भाउजू रहेको सुरक्षा स्रोतले जनाएको छ ।

मन्त्रीसहित पाँच जना सवार गाडी मंगलबार  दिउँसो करिब अढाई बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ को देउरामा दुर्घटना भएको थियो । अन्य दुई भने गम्भीर घाइते भएका छन् ।


Thursday, May 25, 2023

पुनर्वासको वडानम्बर ९ द्वारा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना


कञ्चनपुर, ११ जेठ ।
पुनर्वासको वडानम्बर ९ ले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ । वडाध्यक्ष तथा वडासदस्यहरुले पदभार ग्रहण गरेको एक वर्ष  पूरा भएको अवसर पारेर सो सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको हो ।
वडामा रहेका समस्या र त्यसको समाधानका उपायहरू बारे सम्बन्धित सरोकारवाला व्यक्तिहरुसंग बसेर अन्तर्कृया गरीएको सो कार्यक्रममा विद्यालय, स्वास्थ्य चौकी,खेलकुद,प्याराताल, सिमा,  बाटोघाटो लगायतमा रहेका समस्याहरुबारे छ्लफल गरिएको थियो ।
सार्वजनीक सुनवाई कार्यक्रममा बोल्दै पुनर्वास–९ वडा अध्यक्ष नर बहादुर बि.क.ले आफूले चुनावका बेला बोलेका वाचाहरूलाई प्राथमिकतामा राख्दै अघि बढेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०७९/८० मा वडामा भएका कामहरु प्रस्तुत गर्नुभएको थियो ।
पुनर्वासका वरिष्ठ पत्रकार दीपेन्द्र बस्नेतले प्यारातालको महत्त्व नेपाल सरकारले बुझ्न नसकेको तर भारतले यसको महत्त्वलाई बुझेर हडपेको बताउनुभयो ।

Tuesday, May 23, 2023

पुनर्वासमा दिउसै हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित

कञ्चनपुर,जेठ ०९।
पुनर्वासमा दिउसै हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छ्न ।
पुनर्वास नगरपालिका-१० विकास बस्ती दोदा पुल नजिकको हुलाकी राजमार्गमा मंगलबार दिउसो हात्ती देखिएको हो।
भारतीय दुधुवा निकुञ्ज संग सीमा जोडिएको पुनर्वासको दोदा नदी आसपासमा जंगली हात्तीले दिउँसै आतंक मच्चाएको छ।
जंगली हात्तीबाट मानवीय क्षति हुन नदिन वन कर्मचारीहरु सर्वसाधारणलाई सचेत गराइरहेका छन्। एउटा गोरु र भैसी घाइते भएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो ।

 

Tuesday, May 16, 2023

पुनर्वासको दस स्थानमा सिसिटिभी र तीन स्थानमा जनचेतनामूलक होर्डिङ बोर्ड जडान


कञ्चनपुर, २ जेठ ।
पुनर्वास नगरपालिकाको दस संवेदनशील स्थानहरुमा सिसिटिभी क्यामेरा र सडक बत्तिहरु जडान गरिएको छ ।
पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा सो सिसिटिभी क्यामेरा तथा बत्तिहरुहरु जडान गरीएका हुन । आज ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रममा सो सिसिटिभी क्यामेरा तथा सडक बत्तिको नगरप्रमुख तोय प्रसाद शर्मा र उपप्रमुख भूलिया कुमारी रानाले संयुक्त रूपमा उद्घाटन गर्दै ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिलाई हस्तान्तरण गर्नुभयो । सिसिटिभी क्यामेरा  ग्रहण गर्दै ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज नरेशराज मल्लले
नगरपालिका क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम राख्न तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका साथै सडक  दुर्घटना न्यूनिकरण गर्न सो सिसिटिभी र सडक बत्तिले प्रहरीलाई महत्त्वपूर्ण सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामाले प्रहरीको सक्रियताका कारण पुनर्वासमा शान्ति सुरक्षाको अवस्था संतोषजनक रहेको बताउनुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख तोय प्रसाद शर्माले पुनर्वास क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न आफू र नगरपालिका प्रतिबद्ध रहेको र यसको लागि सहयोग गर्न आफू तत्पर रहेको जिकिर गर्नुभयो ।
पु.न.पा ११ डोकेबजार, पुनर्वास १ ढक्का चोक, वडा नम्बर १० दोदापुल, वडा ६ स्थित टाउन बजार र ईप्रका कार्यालय गेट अगाडी लगायतका ठाउँहरुमा सो सिसिटिभी क्यामेराहरु जडान गरीएका छन । पुनर्वास नगरपालािकाको आर्थिक सहयोग  रु. ७,५१,०००/-मा सो सिसिटिभीहरु जडान  गरिएको हो ।
त्यसै अवसरमा प्रभु बैक पुनर्वास 
शाखाको रु २०,०००/- सहयोगमा ३ वटा जनचेतनामुलक होर्डीङ बोर्ड र पु.न.पा ११ बस्ने पुर्ण बहादुर तामाङको व्यक्तिगत आर्थिक सहयोग रु २०५०००/- मा  प्रहरी चौकी परासनमा निर्मित नागरिक सहायता प्रतिक्षालय, चौतारा समेत उदघाटन तथा हस्तान्तरण गरिएको थियोे ।


 




Monday, May 15, 2023

पुनर्वासमा सरकारी सवारी साधनको दुरुपयोग भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा ध्यानाकर्षण


कञ्चनपुर,१ जेठ ।
पुनर्वास  नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको भन्दै नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी, पुनर्वास समितिले  ध्यानाकर्षण गराएको छ ।
रास्वपा पुनर्वासका सभापति सुरेश गजुरेलले  पुनर्वासका मेयर तोय प्रसाद शर्मालाई   आज ध्यानाकर्षण पत्र बुझाएका छ्न ।
पुनर्वास  नगरपालिकामा सरकारी नम्बर प्लेट भएका सवारी साधन र ईन्धनको चरम दोहन भएको र जनगुनासो समेत आए पछि आफुहरुले पालिकालाई खबरदारी गरेको रास्वपा पुनर्वासका सभापति सुरेश गजुरेलले बताए ।
व्यक्तिगत काम तथा पारिवारिक सदस्यले उपभोग गर्ने, सिमावर्ती भारतीय बजारमा किनमेल गर्न सरकारी सवारी साधन लाने गरेको समेत जनगुनासो बढेपछी नगरको ध्यानाकर्षण गराएको रास्वपा पुनर्वासका सभापति गजुरेलले बताए ।
यस्तै रक्सी भट्टीमा सवारी कुराएर राख्ने, पालिकाको ट्याक्टर, जेसिवि, भाईब्रेटर जस्ता भारी सवारी साधन समेत घर, आँगन तथा खेतवारि बनाउन उपभोग गर्ने, जिपमा खेतबाट अन्न बाली ढुवानी गर्ने भेटिएको, र सवारी साधन चालक अनुमति पत्र नभएका व्यक्तिलाई कानून विपरित सवारी साधन उपलब्ध गराएको भनी रास्वपाले असन्तुष्टी जनाएको छ ।

सार्वजनिक विदा वा कार्यालय समय भन्दा बाहिर सरकारी सवारी साधन प्रयोग गर्न पाईदैन, तथापी नागरको काममा सहजता होस् भनी विदाको दिनमा पनि अति आवश्यक कामका लागि सवारी साधनको पास बनाई प्रयोग गर्न पाईने बाधा अडकाउ फुकाउको व्यवस्था गरिएको छ । तापनि व्यवस्थामा भएको यो सानो छिद्रबाट भित्र पसि पालिकालाई भित्र भित्रै खोक्रो बनाउने मुसा प्रवित्ति जनप्रतिनिधि तथा कर्मचारीमा देखिन थालेको सभापति गजुरेले बताए ।
रास्वपा पुनर्वासका अनुसार सरकारी सवारी साधनमा अधिकांस पुरुष कर्मचारीले मात्रै कब्जा गरेका छन् । पालिकाका भित्र शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिकाका शाखाहरु पनि छन तर उनीहरुलाई सवारी साधनको सुविधा अत्यन्तै न्यून दिने वा दिदै नदिने जस्ता असमान व्यवहार देखिएको छ ।
हामीले विरोधको लागि विरोध गर्न खोजेको हैनौं । जनताको सेवा सुविधाको लागि स्रोत साधनको अधिकतम प्रयोग गर्नुपर्छ । मात्र दुरुपयोग नगरौं भनेका हौं । नागरिक प्रति उत्तरदायी हुन हामी घण्टी बजाएर सरोकारवाला सबैलाई पदको उन्मादको चिर निन्द्राबाट जगाउन खोजेको सभापति गजुरेलले बताए ।
रास्वपाले सार्वजिक विदाका दिनमा पास लिएका सवारी साधनहरूको विवरण पालिकाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्नु पर्ने, कुन कुन जनप्रतिनिधि र कर्मचारीले सरकारी साधनमा रातो नम्बर प्लेट प्रयोग गरिरहेको छन् सोको विवरण सार्वजनिक गर्नु पर्ने, सवारी चालक अनुमति पत्र नभएकाबाट सरकारी सवारी साधान फिर्ता लिने जस्ता मागहरु राखेको छ ।
रास्वपाले राखेका मागहरु जायज भएको र सुझावहरु दिदा नगरको सुशासन व्यवस्था राम्रो हुने र यस बारे जाँचबुझ गरि कार्यान्वयन प्रकृया अघि बढउने पुनर्वास नगरपालिकाका मेयर तोय नाथ शर्माले बताए ।
यो पहिलो चरणको आन्दोलन हो यस पछि पालिकाले व्यवहारमा सुधार नगरि सरकारी सवारी साधनको दुरुपयोगलाई निरन्तरता दिईएको देखिएमा प्रहरीलाई बुझाई दिने, कानुनी उचारहरु खोज्ने, दुरुपयोगका फोटोहरु जनचेतना लागि संचार माध्यम तथा सामाजिक संजालमा सम्पे्रष्ण गर्ने र बेतिथि विरुद्धको अभियान व्यापक जन सहभागिता मूलक बनाई यो बेतिथीलाई रोकि छाड्ने सभापति गजुरेलले बताए ।

Sunday, May 14, 2023

लालझाडीको अमरज्योती युवा क्लबको आयोजनामा गंगा दशहरा मेला लाग्ने




 कञ्चनपुर/बैशाख ३१।कञ्चनपुरको लालझाडीमा रहेको अमर ज्योती युवा क्लबले जेठ दोस्रो सातादेखि गंगा दशहरा मेला संचालन गर्ने जनाएको छ । आइतबार दोदा रिभर साईडमा पत्रकार सम्मेलन गर्दै यस बर्षदेखि गंगा दशहरा मेला सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

बषौँदेखि बेलौरी नगरपालिका ५ भकुण्डा कालेश्वर महादेव मन्दिर मन्दिरमा जेठ महिनामा मेला लाग्दै आएको थियो । यस बर्षदेखि लालझाडी गाँउपालिकाको सहयोगमा आयोजकले दोदा नदीवारी राम जानकी वन बाटिकामा मेला संचालन गर्ने जनाएको छ ।

लालझाडीका स्थानीय एव युवा अगुवा प्रकाश रानाले बषौँदेखि लाग्दै आएको गंगा दशहरा मेला यस पटक लालझाडी गाँउपालिका २ मा समेत भव्य रुपमा मनाईने र मेला थप व्यवस्थित गर्न  होमेष्ट सहितका कार्यक्रम संचालन गर्ने बताउनुभयो। अमर ज्योती युवा क्लबका अध्यक्ष मदन रानाले लालझाडीलाई धार्मिक पर्यटकिय रुपमा चिनाउनका लागि मेला संचालन गर्न लागेको र जिल्ला प्रशासन कार्यालयले अनुमती दिन आलटाल गरेपछि लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् १५ जेठदेखि १९ सम्म मेला संचालन गरिने र मेलामा बाल उद्यान सहितका विभिन्न साँस्कृतिक कार्यक्रम , स्टलहरुको व्यवस्था गरिएको मेला आयोजक मुल समितिका संयोजक बिनोद रानाले बताउनुभयो। कार्यक्रममा बोल्दै लालझाडी गाँउपालिका २का वडाध्यक्ष एवं गाउपालिका प्रवक्ता आशाराम रानाले वडा सहित पालिकाबाट आवश्यक सहयोगका लागि पहल गर्ने जानकारी दिनुभयो ।

 

Saturday, May 6, 2023

आजको राशिफल/आज २०८० साल वैशाख २३ गते शनिवार

आज वि.सं. २०८० वैशाख २३ गते शनिवार तदनुसार ई. सं. २०२३ मई ०६ तारिख ,  पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४ ,  कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:३० बजे ,  चन्द्रास्त : बिहान ०५:३७ बजे र चन्द्रोदय : साँझ ०६:५० बजे ,  काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे ,  पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे,  ज्येष्ठ कृष्णपक्ष (वछलागा) प्रतिपदा/परेवा तिथि, बेलुका १०:२२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, विशाखा नक्षत्र, बेलुका ०९:५५ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, दिउँसो ०३:५८ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, व्यतिपात योग, बिहान ०८:११ बजेसम्म, त्यसपछि वरीयान् योग ,  सुरुमा बालब करण दिउँसो १०:४९ बजेसम्म, त्यसपछि कौलव करण बेलुका १०:२२ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : शुभ, चन्द्रवणर् : सेतो (दिउँसो ०३:५८ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०३:५८ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : पूर्व (बेलुका १०:२२ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०७:४५ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अग्निवास (यज्ञ र हवनादि)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २४ गते : किराँत समाज सुधार दिवस, राष्ट्रिय पत्रकारिता दिवस, मुहूर्त : व्रतबन्ध, पसल थाप्ने (दोकान खोल्ने), अग्निवास (यज्ञ र हवनादि) ,  २५ गते : विश्व रेड क्रस दिवस ,  २६ गते : मङ्गलचौथीव्रत, कानुन दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अग्निवास (यज्ञ र हवनादि)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूणर् निणर्य लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिने समय छ । पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । अड्डा/अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ, तर आज झैझगडा र विवाद/बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे/कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ज्ञानमुद्रायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । भविष्यका बारेमा चिन्तन गर्ने समय हो । केही समय धार्मिक क्रियाकलापमा अथवा कुनै पुरानो वा पवित्र स्थलको अवलोकनमा व्यतीत हुनेछ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चामुण्डाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वकामप्रदायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । विपरीत परिस्थितिलाई समेत मोड्न सकिने राम्रो दिन छ, भौतिक उन्नति र सुखसुविधाका सामाग्रीहरू किनमेल गर्न धन खर्च हुनेछ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो/खरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलो/कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मन्दचेष्टाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।



धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलो/कालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो/कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछ । नयाँ ठाउँको भ्रमण वा अवलोकन हुने समय हो । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ सेतो/खरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । महत्त्वपूणर् काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो/कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )