हमासको कब्जामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा ल्याइएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार शव अहिले तेलअविवस्थित इजरायली सेनाको अस्पतालमा राखिएको छ, जहाँ डीएनए परीक्षणको तयारी भइरहेको छ।
हमासले गएराति चार बन्धकको शव फिर्ता गरेको थियो, जसमा विपिन जोशीका साथै गाई इलौज, योसी शाराबी र ड्यानियल पेरेज पनि छन्। यी शवहरू हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको र रेडक्रसले पुनः इजरायली सेनालाई हस्तान्तरण गरेको पण्डितले बताए।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवासी विपिन जोशी सन् २०२३ मा “लर्न एन्ड अर्न कार्यक्रम” अन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। उनी इजरायल–गाजा सीमा क्षेत्रको किबुज अलुमिममा कार्यरत रहँदा २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेको थियो।
राजदूत पण्डितका अनुसार, विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी, जो हाल अमेरिकामा रहेका छन्, उनीहरूलाई इजरायल बोलाएर शव हस्तान्तरणको तयारी भइरहेको छ। डीएनए परीक्षणपछि शव परिवारको जिम्मामा लगाइने र त्यसपछि नेपाल ल्याउने प्रक्रिया सुरु गरिने बताइएको छ।
यसैबीच, इजरायलले हमाससँगको बन्धक–कैदी साटासाट सम्झौता अन्तर्गत हालसम्म २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिसकेको छ। इजरायल र गाजामा परिवारसँग पुनर्मिलन भएका दृश्यहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भावनात्मक रूपमा चित्रण गरेका छन्।