Wednesday, December 3, 2025

पुनर्वास ३ स्थित साना किसान कृषि सहकारीमा शेयर सदस्यद्वारा तालाबन्दी


कञ्चनपुर/मंसिर १७
पुनर्वास–३, आईबिआरडीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा असन्तुष्ट शेयर सदस्यहरूले विभिन्न माग राख्दै बुधबारदेखि तालाबन्दी गरेका छन्। तालाबन्दी भएपछि सहकारीका सम्पूर्ण सेवा ठप्प बनेका छन्। सदस्यहरूले सहकारीमा वर्षौंदेखि चल्दै आएको मनमानी, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामा एकलौटी प्रवृत्ति रहेको आरोप लगाएका छन्।
शेयर सदस्यहरूले जारी गरेको विज्ञप्तिमा संस्थाको संचालक समितिमा बसेर तानाशाही शैली अपनाएको, सदस्यहरूको  सहमति बिना ऋण प्रवाह रोकेको, सदस्यता खारेजी जस्ता संवेदनशील निर्णय मनपरी ढंगले गरेको उल्लेख छ। उनीहरूले पेट्रोल खर्च, फोन खर्चजस्ता भत्ता शीर्षकमा समेत अनियमितता भएको आरोप लगाएका छन्। समन्वय र सहकार्यको वातावरण बनाउनुपर्ने ठाउँमा समितिले उल्टै विवाद सिर्जना गरेर संस्थालाई प्रगतिबाट टाढा पुर्‍याएको उनीहरूको आरोप छ। साथै संस्थापक सल्लाहकार तथा अन्य सल्लाहकारहरूलाई अपमानपूर्वक हटाइएको, साधारण सभाको स्थान तथा प्रक्रिया अग्रिम जानकारी बिना परिवर्तन गरिएको र समितिको कार्यसम्पादन नै सन्तोषजनक नभएकाले आफूहरू बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले वर्तमान कार्यसमितिको खारेजी र संस्थालाई डुब्न नदिने अभियान अघि सारिएको कुरा विज्ञप्तिमा उल्लेख गरेका छ्न।
   संस्थाकी अध्यक्ष मिना विष्टले  केही व्यक्तिहरू दोहोरो सञ्चालनको भूमिकामा  रहेकाले उनीहरूलाई साना किसान सहकारीमा सुविधा लिन नमिल्ने भएपछि असन्तुष्ट भई तालाबन्दीको बाटो रोजेको बताइन्। उनले सहकारीको कार्यक्षेत्र साविक कालिका गा.वि.स अर्थात् हालका वडा १, २ र ३ भित्र मात्र सीमित भएकाले अन्य वडाका सदस्यहरूले आफ्नो बचत तथा शेयर रकम फिर्ता लिएर अर्को सहकारीमा गइसकेको जानकारी दिइन्। संस्थामा रहेको विकृति हटाउँदै  आफूले सहकारीलाई नियमअनुसार सही बाटोमा डोर्‍याउन खोज्दा साधारण सभा हुनुभन्दा एक दिनअघि नै व्यक्तिगत स्वार्थका कारण वातावरण बिगारिएको उनको आरोप छ।
यसैबीच, पुनर्वास–४ की शेयर सदस्य अञ्जु गुरुङले शेयर सदस्यहरुको ईच्छा विपरीत संस्थामा काम भैरहेको, समितिले मनमानी ढंगले निर्णय लिँदै आएको र सहकारीलाई डुबाउने काम भइरहेको महसुस भएकाले तालाबन्दीमा सहभागी हुनुपरेको बताइन्।
     तालाबन्दीका कारण आज साना किसान कृषि  सहकारी संस्थाको कार्यालय परिसरमा तनावपूर्ण वातावरण देखिएको थियोे । 

No comments:

Post a Comment