Monday, January 14, 2019

तीन दिने प्रथम माघी मेला धुमधामका साथ समापन, थारु राष्ट्रिय कलाकारहरुसंगै रमाए दर्शक

थारु मौलिकता र संस्कृतिको  संरक्षण र प्रवर्द्धन गर्न नगरप्रमुख चौधरीको जोड
हेमन्त न्यौपाने
बेलौरी, पुस २९
      थारु कल्याणकारी सभा बेलौरी समितिको मुख्य आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा सम्पन्न भएको ३ दिने प्रथम माघी मेला आइतबार धुमधामका साथ समापन भयो । थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिले स्टेज तताइदियो ।
थारू राष्ट्रिय कलाकारहरू गायिक राम बहादर कठरिया, गायिका तथा माेडेल नितु चाैधरीको कमेडी र गीतमा हज्जारौं दर्शक झुमे । त्यस्तै कलाकार अमन चाैधरीले दमदार प्रस्तुती दिए ।  थारु समुदायको  बाहुल्यता रहेको कञ्चनपुरको बेलौरी नगरपालिकामा हाल चौधरी समुदायबाटै नै प्रतिनिधित्व गर्ने पोतिलाल चौधरीले नगरप्रमुख छन । नगरप्रमुख चौधरी कलासंस्कृति प्रेमी मानिन्छन् । उनै नगरप्रमुखको सक्रियतामा अनि नगरपालिकाकै आर्थिक सहायतामा थारु कल्याणकारी सभाले आयोजना गरेको ३ दिने माघी मेलामा हज्जारौं दर्शकले अवलोकन गरे ।
समापन कार्यक्रममा माघी पर्वको शुभकामना व्यक्त गर्दै नगरप्रमुख चौधरीले थारु कला संस्कृतिको उत्थान र प्रबर्द्धनमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले सिङ्गो बेलौरीलाई समृद्ध र पर्यटकीय गन्तव्यमा बिकास गर्न सरकार प्रयासरत रहेको जिकिर गर्नुभयो । उहाँले थारु संस्कृतिको संरक्षण र प्रबर्द्धनमा बेलौरी नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँले बेलौरीलाई समृद्ध बनाउन नगरपालिका गुरुयोजना सहित अघि बढेको जानकारी गराउनुभयो । उहाँले मेलामा थारु परिकारहरु धेरै विक्री भएको जानकारी गराउदैँ थारु परिकार थारु देखि गैरथारुहरु समेतले स्वाद लिन पाएको बताउनुभयो । मेलामा थारू परिकारहरू घाेँघी, बंगुरकाे मासु, माछा, गंगटा, बयरको चट्नी, सुटही, ढिक्री, अण्डिक भात, सिन्की, चामलकाे जाँड लगायतका परिकारहरु प्रदर्शन तथा व्यापारका लागि राखिएका थिए । मेला प्रचारप्रसार संयोजक कृष्ण गम्वाले प्रथम बेलौरी माघी मेलामा उपस्थिति भएका सबैले उत्साहपुर्वक मनोरञ्जन लिएको बताउदै माघी पर्वको सबैलाई शुभकामना दिनुभयो ।
मेलाको शुक्रबार नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरले हज्जारौं दर्शकका बिच कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटनका दिनदेखि थारु तथा गैरथारुहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम भव्यताका साथ समापन भयो । तीन दिन माघी मेलामा रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । रक्तदान जीवनदान भएकाले रक्तदान गर्न मिल्ने सबैमा रक्तदान गर्न नगरप्रमुख चौधरीले आग्रह गर्नुभयो । यस पटक बेलौरीमा प्रथम बेलौरी सांस्कृतिक मेला, प्रथम बेलौरी महोत्सव, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता देखि प्रथम माघी मेलाको आयोजना भयो । प्रथम बेलौरी सांस्कृतिक मेलाले सन्तोसजनक स्थिति पाउन नसकेपनि महोत्सव र माघी मेलाले भने रौनकता ल्याईदियो । कला संस्कृति धनी अनि छुट्टै पहिचान बोकेको थारु समुदायले सबै कार्यक्रमहरुमा जोडदार सहभागिता जनायो । कला, भाषा र संस्कृति प्रेममा थारु समुदायको लगाव अत्याधिक छ । नगरप्रमुख चौधरी समेत मौलिकता, कला, भाषा तथा संस्कृतिको जगेर्ना गर्न अग्रसर हुनुहुन्छ ।
“थारू एकता हमार सान, शिक्षा भाषा सँस्कृती पाैर्हैटी लैजीना हमार अभियान” भन्ने मुल नाराका साथ बेलाैरीमा पहिलाे पटक आयोजना भएको बृहत् मेलामा जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीकाे जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको थारू कल्याणकारिणी सभा बेलाैरी नगर संयाेजक खड्ग बहादुर चाैधरीले जानकरी गराउनुभयाे । कार्यक्रमको उद्घाटनका दिन सिकल सेल एनिमिया रोग न्यूनीकरण समिति बेलौरीका संयोजक पिताम्बर चौधरीले तराईका चौधरी समुदायमा देखिने वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्ध रोग सिकल सेल एनिमिया’का कारण धेरैले ज्यान गुमाउनु परिरहेको बताएका थिए । उनले रोगको पहिचान गर्दै ल्याव तथा औषधिउपचारमा निशुल्क व्यवस्था गर्न नेपाल सरकारलाई खानेपानी मन्त्री वीना मगरमार्फत आग्रह गरेका छन ।

कार्यक्रममा थारु समुदायकाे कलाकार्यक्रमको मिडिया पार्टनर समेत रहेको हाम्रै साझा पत्रिकालाई सम्मानित गरिएको छ । यस हाम्रै साझा पत्रिकाका प्रधानसम्पादक सुनिल कुमार लो, सम्पादक हेमन्त न्यौपाने, सह- सम्पादक रामसाय राना, प्रवन्ध निर्देशक यम प्रसाद आचार्य र कार्यकारी प्रवन्धक लाल बहादुर एसकेलाई छुट्टाछुट्टै सम्मान पत्र गर्दै नगरप्रमुख चौधरीले धन्यवाद प्रकट गर्नुभयो । कार्यक्रममा यस हाम्रै साझा पत्रिकासंगै रेडियो बेलौरी र रेडियो सुदुर सञ्चार मिडिया पार्टनर रहेका थिए । कार्यक्रममा अन्य पत्रकारहरुलाई समेत सम्मानित गरिएको छ ।  संस्कृति झल्किने झाँकी, मघाैटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको थियो । थारु समुदायको बाहुल्यता भएको कञ्चनपुर जिल्लाको पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीका १५ हजार भन्दा धेरैले मेलाको अवलोकन गरेका छन ।

Sunday, January 13, 2019

०७५ पौष २९ गते आईतबार ई. सं. २०१९ जनवरी १३ तारिख, हेर्नुहोस तपाईंको राशिफल


आज वि.सं. २०७५ पौष २९ गते आइतबार तदनुसार ई. सं. २०१९ जनवरी १३ तारिख, आजको चाडपर्व र उत्सव : रविसप्तमी व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, पौष शुक्लपक्षको सप्तमी तिथि, बेलुका ०७:०१ बजेसम्म, त्यसपछि अष्टमी तिथि, उत्तराभाद्रा नक्षत्र, बिहान ०७:३१ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, आजको चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), शिव योग, मध्यरात्रीपछि ०४:१२ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा वणिज करण बेलुका ०७:०१ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०७:२६ बजेसम्म, अन्तिममा बब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०४:०८ देखि ०५:२६ सम्म, यमघण्ट : दिउँसो १२:१३ देखि ०१:३१ सम्म, गुलिक काल : दिउँसो ०२:५० देखि ०४:०८ सम्म, आजको वारवेला :– उद्वेग वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:०८ देखि ०७:०८ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५८ सम्म, शुभ वारवेला : दिउँसो ०१:३१ देखि ०२:५० सम्म र बेलुका ०७:०८ देखि ०८:५० सम्म, अमृत वारवेला : दिउँसो १०:५४ देखि १२:१३ सम्म र बेलुका ०८:५० देखि १०:३१ सम्म, चर वारवेला : बिहान ०८:१७ देखि ०९:३५ सम्म र बेलुका १०:३१ देखि १२:१३ सम्म, रोग वारवेला : दिउँसो ०२:५० देखि ०४:०८ सम्म र मध्यरात्रीपछि १२:१३ देखि ०१:५४ सम्म, काल वारवेला : दिउँसो १२:१३ देखि ०१:३१ सम्म र मध्यरात्रीपछि ०१:५४ देखि ०३:३५ सम्म, लाभ वारवेला : बिहान ०९:३५ देखि १०:५४ सम्म र मध्यरात्रीपछि ०३:३५ देखि ०५:१७ सम्म
आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पान वा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नु हुँदैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मन उत्ताउलो बन्न सक्छ, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु बेस हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट सामान्यतया फाइदा नै हुनेछ । नयाँ कारोबार गर्नु बेस हुँदैन, लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन, दीर्घकालसम्म अडिलो नबन्न सक्छ, त्यसैले तुरुन्त पूरा हुने काममा हात हाल्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । सुरुमा दिक्क र झर्को लाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । श्रमिक, पशुपालक र कृषकले आज कामबाट फुर्सद नपाउनाले बढी थाकेको अनुभूति गर्नेछन् । बेलुकाको वास वा खानपीनमा तलबितल पर्नसक्छ । त्यस्तै सामान हराउने र प्रतिष्ठा गुम्ने परिस्थिति पनि आउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मुद्दामामिला र अड्डाअदालतको काममा बिलम्ब हुने सम्भावना छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन, पढाइलेखाइमा ध्यानकेन्द्रित हुँदैन । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सगरमाथा हिमचुली बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न

हाम्रै साझा पत्रिका
पुनर्वास, पुस २८
          पुनर्वास नगरपालिकाको वडा नम्बर ६ कार्यक्षेत्र भएको श्री सगरमाथा हिमचुली बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जीवन राज थापाले छोटो समयमा धेरै उपलब्धि गर्न सफल यस सहकारीले उल्लेख काम गर्न सकेको बताउनुभयो । उहाँले गाउँगाउँमा घुसेका लघुवित्तिय संस्थाहरुले जनतालाई झनझन गरिब बनाएको तर्क राख्नुभयो । उहाँले लघुवित्तय संस्थाले जनतालाई समुन्नत बनाउन नसक्ने बताउनुभयो । उहाँले जनतालाइ झनझन गरिव बनाउने लघुवित्त संस्था तथा मिटर व्याजमा आकर्षित नहुन आग्रह गर्नुभयो । उहाँले एउटै उद्देश्य बोकेका सहकारीहरुलाई नगरमा नै सहकारी बोर्ड मार्फत अघि बढाईने बताउनुभयो ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष सोमराज बरालले संस्थाले छोटो समयमा राम्रो प्रगति गर्न सकेको दाबि गर्नुभयो । उहाँले सबै शेयर सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभयो । १३३ जना सदस्य रहेको यस संस्थामा ६२ जना महिला तथा ७१ जना पुरुष सदस्य छन । संस्थाको कुल शेयर पुँजी बाह्र लाख, उनन्चास हजार ३ सय बाईस रहेको छ ।

संस्थाले अठसठ्ठी लाख, चार हजार ९ सय पन्चानब्बे रुपैयाँ ऋण लगानी गरेको छ । कुल बचत संकलन सत्तरी लाख, एकाउन्न हजार ६ सय पचासी रुपैया पैसठ्ठी पैसा रहेको छ ।  संस्थाले कृषि र व्यापारमा ऋण लगानी गर्ने गरेको छ । दुबै क्षेत्रमा १२% व्याजदर तोकिएको छ । संस्थाले ऋण लिने र दिने औसत फरक जम्मा ६% देखाएको छ । कार्यक्रममा सहकारीकर्मी, नेता बुद्धिजीवी, सञ्चारकर्मी तथा शेयरसदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राजेन्द्र बरालले गर्नुभएको थियो ।

प्रतिभा बहुमुखी सहकारीसंस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न

हाम्रै साझा पत्रिका
पुनर्वास, पुस २८
           कञ्चनपुरको पुनर्वास नगरपालिकाको साविक त्रिभुवनबस्तीमा रहि परासन, कालिका र त्रिभुवनबस्तीलाई कार्य क्षेत्र बनाएको प्रतिभा बहुमुखी सहकारी संस्थाले शनिबार २१ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । पुस मसान्तसम्ममा सबै सहकारीले बार्षिक साधारणसभा सम्पन्न गरिसक्नका लागि धमाधम यहाँका सहकारीहरुले वार्षिक साधारणसभा कार्यक्रम गरिरहेका छन । पुनर्वास नगरपालिकाको तथ्यांक अनुसार नगरपालिकाभरीमा ४५ वटा सहकारी दर्ता छन ।  जनजागरण सहकारीको भवनमा सम्पन्न भएको यस प्रतिभा बहुमुखी सहकारी संस्थाको साधारणसभा कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले पुनर्वासका सहकारीहरुले उद्देश्य अनुसारको काम गर्न नसकेको बताउनुभयो । उहाँले अन्य सहकारीको तुलनामा विशिष्ट व्यक्तिहरुद्वारा सञ्चालित यस प्रतिभा सहकारीले समेत अपेक्षाकृत काम गर्न नसकेको दुखेसो पोख्नुभयो । उहाँले सहकारीलाई अध्यक्ष पद लिएर बस्ने थलोको रुपमा नबुझ्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो “कृषि, पशुपालन, दुग्ध, तथा बहुउद्देश्यीय प्रत्येकलाई छुट्टाछुट्टै दुई-दुई वटा बनाएर लक्ष्यित कार्ययोजना सहित सहकारीको लागि जुट्नुपर्छ । अब हामीले नगरमा सहकारी बोर्ड बनाउछौं सो बोर्डले यहाँका सहकारीलाई कसरी विकास गर्न सकिन्छ, त्यसरी लैजान्छौ । सहकारी अध्यक्ष पदका लागि होइन जीवनस्तर उकास्नका लागि हो । सहकारीले उद्देश्य अनुसार काम गर्न सके स्थानीय तहले पनि अनुदान पनि दिन सक्नेछ । विदेश तिर वा हाम्रै पुर्वी नेपाल तिर सहकारीले धेरै उन्नति गरेका छन । हामीले सिक्न सक्छौ । उद्देश्य मिल्ने सहकारीलाई मर्ज पनि गरिनेछ । सहकारीमा लागेर जीवनस्तरमा सुधार हुनुपर्छ । होइनभने सहकारीमा लागेको औचित्य रहदैन ।” नगरप्रमुख थापाले भन्नुभयो ।

संस्थाका उपाध्यक्ष कृष्ण तामाङले संस्थाले विभिन्न उतारचढावको सामना गर्दै यस स्थिति सम्म आईपुगेको स्मरण गर्दै एउटै उदेश्य भएका सहकारीहरुलाई मर्ज गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिभा सहकारी संस्था जनजागरण सहकारी संस्थासंग मर्ज गर्न छलफल भइरहेको जानकारी गराउनुभयो ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति विश्वनाथ विष्टले संस्थाले संस्थाले विभिन्न चुनौतीको सामना गर्दै लक्ष्य अनुसारका केहि काम बाकी रहेको स्वीकार गर्नुभयो । उहाँले संस्थाले पेट्रोल पम्प स्थापनाका लागि योजना बनाएपनी जग्गा र अन्य विविध कारणले सो काम पूरा हुन नसकेको जानकारी गराउनुभयो । उहाँले संस्थाले विभिन्न चरण पार गर्दै २१ औं बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गर्न सफल भएको बताउनुभयो ।

संस्थाका सचीव सुर्य प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन अनुसार संस्थाको कुल शेयर पुँजी उन्चालीस लाख तेह्र हजार ७ सय रहेको छ । त्यस्तै, जगेडा ७ लाख पचासी हजार ७ सय उन्साठी रुपैयाँ चार पैसा छ । निक्षेप सत्चालीस लाख छयालीस हजार ९ सय त्रिपन्न छ ।
२०३ जना शेयर सदस्यहरुको शेयर रकम छत्तीस लाख बाउन्न हजार ७ सय रुपैयाँ रहेको छभने कुल बचत चौतिस लाख अठचालीस हजार ३ सय एकसठ्ठी हजार रहेको छ । कार्यक्रममा नगरपालिका उपप्रमुख शारदा बिष्ट, वडाअध्यक्षहरु, सहकारीकर्मी, नेता बुद्धिजीवी तथा शेयरसदस्यहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक जीवन भन्डारीले गर्नुभएको थियो ।

Saturday, January 12, 2019

कोहलपुर बस पार्कमा घाँटी काटिएको शव फेला

हाम्रै साझा पत्रिका
बाँके, पुस २८
      कोहलपुर नगरपालिका वडा नं. ११ नयाँ बसपार्क स्थित एक ब्यक्तिको शव फेला परेको छ । अन्दाजी २२ बर्षको यूवकको घाटी आधा काटिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सुर्खेत सिम्ता गाँउपालिका वडा नं. ४ का दिपक सिंह ठकुरी कोहलपुर नगरपालिका वडा नं. ११ मा मृत अबस्थामा फेला परेका हुन । मृतकका आफन्तका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । स्रोतका अनुसार ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात ब्यक्तीले बोलाएको भन्दै शुक्रबार निस्कीएका ठकुरी शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन ।

उनी कोहलपुरमा भाउजुको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । बिहान करिब ४ बजे फोन आएर उनी घरबाट निस्केको परिवारले जनाएको छ । प्रहरीले घटनास्थल नजिकैबाट एक जोर जुत्ता र लाठी समेत बरामद गरेको छ ।  घटनाको अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले कुकुर मार्फत अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको जनाएको छ ।

Friday, January 11, 2019

नयाँ शक्तिको पाँच महिनामा पाँच काम पाँचै परिणाम रणनिति कार्यक्रम पुनर्वासमा सम्पन्न, ४६ जनाको पार्टी प्रवेश

हाम्रै साझा पत्रिका
पुनर्वास, पुस २७
     डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालको पाँच महिनामा पाँच काम पाँचै परिणाम भन्ने रणनितिक कार्यक्रम शुक्रबार पुनर्वासमा सम्पन्न सम्पन्न भएको छ । नयाँ शक्तिले ५ वर्ष पछिका लागि भोटर तयार गर्ने रणनीति बनाएको छ । यसै कार्यक्रममा पुनर्वास नगरपालिकाका विभिन्न दलहरुमा आबद्ध भएका ४६ जनाले नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन ।

पार्टीका पुनर्वास संयोजक सत्यादेवी चापागाईंले पार्टीको मुख्य ३ कामसहित अघि बढ्ने बताउँदै अबको कार्यदिशा संगठन सुदृढिकरण, सामाजिक आन्दोलन र राजनीतिक ब्यबस्था परिवर्तन रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश कमिटी ईन्चार्ज तथा महाधीवेशन सदस्य कृष्णकुमार चौधरीले समसामयिक एवं सांगठनिक विषयमा प्रकाश पार्दै नयाँ शक्तिले मात्रै विद्यमान राजनीतिक अन्यौलताको अन्त्य गरी देशलाई समृद्ध बनाउने बताए । उनले नयाँ शक्ति तेस्रो वैकल्पिक धारको रुपमा अघि बढेको बताउँदै अबको निर्वाचनसम्म एक सशक्त वैकल्पिक शक्तिको रुपमा स्थापित हुने बताए ।

कार्यक्रमका अतिथिहरु महाधिवेशन सदस्य राजेन्द्र देवकोटा, सुदुरपश्चिम प्रदेश कमिटी प्रबक्ता मीनराज बडू, जिल्ला संयोजक शेरसिंह पुजारा, क्षेत्रीय संयोजक अमर सिंह बिष्ट सहित प्रदेश सदस्य जिल्ला सदस्य तथा पार्टीका अभियान्ताहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Thursday, January 10, 2019

भोलि देखि सुरु हुन लागेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन गर्न खानेपानी मन्त्री वीना मगर कञ्चनपुर आउँदै

हाम्रै साझा पत्रिका
पुनर्वास, पुस २६
    कञ्चनपुरको बेलौरी नगरपालिकामा शुक्रबार देखि सञ्चालन हुन गइरहेको प्रथम बेलौरी माघी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि शुक्रबार देखि सुरु हुन लागेको माघी मेलाको उद्घाटन नेपाल सरकारका खानेपानी मन्त्री वीना मगरले गर्नुहुने कार्यक्रम तह भएको आयोजक समितिका प्रचारप्रसार संयोजक कृष्ण गम्वाले जानकारी दिनुभयो ।

थारूहरूकाे महान पर्व माधे सक्रान्तीकाे अवसर पारेर थारू कल्याणकारिणी सभा बेलाैरी नगर समितिले भोलि पुस २७ गते देखि कञ्चनपुरकाे बेलाैरीमा प्रथम बेलाैरी माघी मेलाकाे अायाेजना गर्ने भएकाे छ ।

थारू एकता हमार सान, शिक्षा भाषा सँस्कृती पाैर्हैटी लैजीना हमार अभियान भन्ने मुल नाराका साथ बेलाैरीमा पहिलाे पटक बृहत् कार्यक्रमका साथ प्रथम बेलाैरी माघी कार्यक्रमकाे अायाेजना गरिन लागेकाे प्रचार प्रसार संयाेजक कृष्ण गम्वाले जानकारी दिनुभयाे ।

जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीकाे जगेर्ना तथा प्रचार प्रसार गर्ने मुख्य उदेश्यले कार्यक्रमकाे अायाेजना गरिएकाे अायाेजकले जनाएकाे छ । माघी मेला पुस २७ गते देखि २९ गते सम्म तीन दिन सञ्चालन हुनेछ । कार्यक्रम सफल बनाउन विभिन्न उप समिति पनि गठन गरिएकाे छ । अार्थिक ब्यवस्थापनमा रेशम चाैधरी, सँस्कृती ब्यवस्थापनमा दीनेश चाैधरी, स्टल तथा झाँकी ब्यवस्थापनमा विक्रम चाैधरी, सुरक्षा ब्यवस्थापनमा जगदिश चाैधरी, मञ्च ब्यवस्थापनमा मनाेज चाैधरी, पार्किङ्ग ब्यवस्थापनमा सुरज चाैधरी, स्वास्थ्य ब्यवस्थापनमा दीपेन्द्र चाैधरी, कलाकार ब्यवस्थापनमा रमेश चाैधरी, स्वागत सम्मान ब्यवस्थापनमा अारती चाैधरी, प्रचार प्रसार ब्यवस्थापनमा कृष्ण गम्वा, अतिथि सत्कार ब्यवस्थापनमा महेश चाैधरी र जनसम्पर्क ब्यवस्थापनमा पर्शुराम चाैधरी काे सँयाेजकत्वमा उपसमिति गठन गरिएकाे छ ।

माघी मेलामा थारू खानाका परिकार बँगुरकाे मासु, माछा, ढिक्रि, सिन्की, बयरकाे चटनी, तिलकाे अचार, जाँडकाे झाेल अादी उपलब्ध गराईने अायाेजकले बताएकाे छ । साथै कार्यक्रम अवधि भर थारू समुदायकाे कला सँस्कृती झल्किने झाँकी, मघाैटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाच, थारू तथा गैर थारू कलाकारहरूकाे समेत प्रस्तुती रहने अायाेजकले जनाएकाे छ । कार्यक्रमकाे उद्घाटन नेपाल सरकारका खाने पानी मन्त्री बीना मगरले गर्ने थारू कल्याणकारिणी सभा बेलाैरी नगर सँयाेजक खड्ग बहादुर चाैधरीले जानकरी गराउनु भयाे । तीन दिन सम्म चल्ने उक्त कार्यक्रम अबधिभर बेल्डाँडी, बेलाैरी र पुनर्वासका गरि दस हजार भन्दा बढीले कार्यक्रमकाे अवलाेकन गर्ने अायाेजकले बताएकाे छ ।

थारू कल्याणकारिणी सभा बेलौरीले आयोजना गर्न गइरहेको प्रथम बेलौरी माघी मेलाको सम्पूर्ण तयारी पूरा भएको र शुक्रबार बिहान ११ बजे नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक कृष्ण गम्वाले जानकारी दिनुभयो ।

अमेरिकामा बस्ने दाताहरुको सहयोगमा राडा नेपालद्वारा अनाथ र असहाय बालबालिकालाई २ सय १५ थान सुईटर वितरण

हाम्रै साझा पत्रिका संवाददाता
पुनर्वास, २६ पुस
      संयुक्त राज्य अमेरिका रहनुभएका पुनर्वासीहरुको आर्थिक सहायतामा राडा नेपाल संस्थाले विहिबार अनाथ र असहाय बालबालिकालाई २ सय १५ थान सुईटर प्रदान गरेको छ । प्रतिभानगरबजारको खुल्ला मञ्चमा आयोजना गरिएको कार्यक्रममा पुनर्वासभरका विभिन्न १८ सामुदायिक विद्यालयहरुका अनाथ असहाय तथा न्यून आयस्तर भएका बालबालिकाहरुलाई न्यानो सुईटर वितरण गरिएको थियो ।
    
 पुनर्वास नगरपालिका वडा ६ स्थित स्थानीय ग्रामीण जागरण विकास संघ (राडा नेपाल)ले  एक कार्यक्रमको अायोजना गरि विपन्न परिवारका बालबालिकालाई उक्त न्यानो सुईटर वितरण गरिएको संस्थाका सचिव रूपेश खरेलले बताए । 
संस्थाका अध्यक्ष राजेन्द्रसिंह धामी संस्थाले पुनर्वास का १८ वटा सामुदायिक विद्यालयका २ सय ५ जना विपन्न बालबालिकालाई चिसोको समयमा विद्यालय अावतजावतमा सहज होस भन्ने उदेश्य ले वैदेशिक रोजगारीमा रहेका सहयोगी दाताहरूको सहयोगमा उक्त न्यानो सुईटर वितरण गर्न सकिएको बताउनुभयो ।
पुनर्वास नगरपालिका स्थाई घरभई  वैदेशिक रोजगारीमा कार्यरत अमेरिकाबाट शिव बिष्ट, सरस्वती शर्मा, होमनाथ ढकाल, सर्बज्ञ वाग्ले, खडानन्द रेग्मी, सोम प्रशाद भट्ट र  बाबुराम पन्थी लगायत सात जना यूवाहरूले विपन्न बालबालिकालाई न्यानो सुईटर वितरण गरिदिने भनी अार्थिक सहयोग उपलब्ध गराएपछि उक्त सहयोग को कार्यक्रम गर्न सकिएको  संस्थाका उपाध्यक्ष माधव रोकाले बताए ।
 सो अवसरमा सहयोगी दाताहरूका अभिभावकलाई समेत संस्थाले सम्मान गरेको थियो । यस अघि पनि गत बर्ष संस्थाले पुनपा ६ स्थित सुकुम्बासी टोलमा रहेको बाल जाग्रिति अाधारभुत विद्यालयमा पनि न्यानो सुईटर वितरण गरेको थियोे । अागामि दिनमा पनि यस्तै सहयोग जुटाएर सामाजिक क्रियाकलापमा समेत अग्रसर हुदै जाने संस्थाले जनाएको छ ।
   क्लबले यसरी विपन्न बालबालिकालाई चिसो मौसममा न्यानो  सुईटर वितरण गरेकोमा संस्थाका पदाधिकारी लाई नगर प्रमुख जिवनराज थापाले धन्यवाद दिनुभएको थियो ।
      
संस्थाका अध्यक्षय राजेन्द्रसिंह धामीको सभापतित्वमा भएको सुईटर वितरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जिवनराज थापा रहनुभएको थियो  भने बिशिस्ट अतिथिमा नगर उप प्रमुख सारदा बिष्ट धामी रहनुभएको थियो । कार्यक्रम को सञ्चालन सचिव रूपेश खरेलले गरेका थिए ।

पुनर्वास सहकारीको बार्षिक साधारणसभा सम्पन्न, तीन पत्रकार सम्मानित

यम प्रसाद आचार्य
पुनर्वास, पुस २६ 
     कञ्चनपुरको पुनर्वास नगरपालिकाको सबैभन्दा जेठो तथा सुदुरपश्चिम प्रदेशकै अग्रणी सहकारीका रुपले चिनिने पुनर्वास सहकारी संस्थाले विहिबार २६ औं बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा संस्थाले यस हाम्रै साझा पत्रिकाका तीन पत्रकारहरुलाई सम्मान समेत गरेको छ । स्थानीय स्तरमा रहेर विभिन्न चुनौतीको सामना गर्दै पत्रकारीता क्षेत्रमा निरन्तर खटिएको यस हाम्रै साझा पत्रिकाका प्रकाशक सुनिल कुमार लो, सम्पादक हेमन्त न्यौपाने र कार्यकारी प्रवन्धक लाल बहादुर एसकेलाई सम्मान गरेको छ । दुधमा आत्मनिर्भर बनाउन स्थापनाकाल देखि प्रयासरत यस संस्थाले २०३० साल देखि निरन्तर सेवा दिँदै आईरहेको छ । २०२८ सालमा पुनर्वासको बसोबास सुरु भएसंगै यहाँका स्थानीय, पुनर्वास आवास कम्पनी तथा स्थानीय बुद्धिजीवीहरुको अथक प्रयास र सहभागीबाट यस संस्थाको स्थापना भएको थियो । संस्थाले २०७४/७५ मा पाँच करोड ६४ लाख चार हजार आठ सय पाँच रुपैयाँ कारोबार गरेको छभने मंसिर मसान्तसम्ममा एक करोड ६९ लाख २३ हजार ३० रुपैयाँ कारोबार गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले एउटै उदेश्यसँग सम्बन्धित भएरपनि छरिएर रहेका पुनर्वासका सहकारीहरुलाई मर्ज गर्न सकिए सहकारीको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले एक व्यक्ति एउटा सहकारी भन्दा अरुमा आवद्ध हुँदा खासै उपलब्धि नहुने तर्क राख्नुभयो  । उहाँले सहकारीमा आवद्ध भएपछि लगनशील भएर आर्थिक उन्नती तर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यस संस्थाले सुरुवाती दिन देखि दुग्ध विकासमा पुर्याएको योगदानको कदर गर्दै निकट भविष्यमा समेत यसै क्षेत्रमा लगनशील भएर अधि बढ्न शुभकामना दिनुभयो । उहाँले स्थानीय तहमा सहकारी ऐन बनिनसकेकाले अहिले प्रक्रियामा रहेका सहकारीलाई दर्ता नगरिएको बताउनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि तथा नगरपालिकाका उपप्रमुख शारदा बिष्टले सहकारीले कुनै पनि एउटा कामलाई प्रथामिकतामा राखी त्यसैमा लगनशील भएर अघि बढ्न सकेमात्र सहकारीको विकास हुने धारण राख्नुभयो । उहाँले धेरै सहकारीमा शेयर सदस्य बन्नुभन्दा एउटैलाई निरन्तरता दिनसके लाभ लिन सकिने बताउनुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि दुग्ध विकास संस्था (डि.डी.सी.) अत्तरियाका गोविन्द लेखकले दुग्धमा आत्मनिर्भर बनाउन राज्यलाई पुर्याएको योगदानको कदर गर्दै संस्थाले आगामी दिनमा अझै प्रगतिको कमना गर्नुभयो ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति परशुराम विश्वकर्माले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विभिन्न परिस्थितिलाई पार गर्दै २६ औं वार्षिक साधारणसभा सम्पन्न गर्न पाउँदा हर्षित भएको बताउनुभयो । उहाँले संस्थाको निक्षेप रकम ५५ लाख ५४ हजार दुई सय ५१ रुपैयाँ, कर्जा सापटी ९७ लाख ८९ हजार आठ सय ८६ रहेकोमा कुल कर्जा लगानी एक करोड ८४ लाख ७६ हजार एक सय ८२ रुपैयाँ रहेको जानकारी गराउनुभयो । संस्थाले शुद्ध नाफा दुई लाख ४७ हजार दुई सय ३४ रुपैयाँ कमाएको बताउनुभयो । उहाँले संस्थाले हालसम्म २६० पुरुष तथा १२६ महिला गरि कुल ४०९ जना सेयर सदस्यहरुद्वारा कुल शेयर पुँजी ३४ लाख ६० हजार सात सय १३ रुपैयाँ जम्मा भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा धेरै शेयर खरिद गरि संस्थाको आन्तरिक पुँजी वृद्धि गरे अन्तर्गत १९ जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, नेता, सहकारीकर्मी, जनप्रतिनिधि तथा शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एककुमार श्रेष्ठले गर्नुभएको थियो ।