अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरको टोलीद्वारा ज्ञापन पत्र पेश
हरिश्चन्द्र बाग,
कञ्चनपुर, २६ साउन । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसंग सीमा जोडिएका नेपालका विभिन्न स्थानमा देखिएको सीमा विवादको दीर्घकालीन समाधान निकालिने बताउनु भएको छ । अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरको टोली संग कुराकानी गर्दै मन्त्री ज्ञवालीले सीमा विवाद बारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले कञ्चनपुर सहित देशका विभिन्न क्षेत्रमा भारतसंग जोडिएका स्थानमा देखिएको विवादित सीमा क्षेत्रको छिट्टै संसदीय टोलीले स्थलगत निरीक्षण गर्ने आश्वासन समेत दिनुभयो । कञ्चनपुरका विभिन्न क्षेत्रमा भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमण र विवादको विषयमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन काठमाण्डौँ पुगेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरको टोलीले आइतबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र मन्त्रालयका सचिवसंग भेटवार्ता गरी ज्ञापन पत्र पेश गरेको छ ।
प्रतिनिधि सभा सदस्य एवं महिला तथा सामाजिक विकास समितिकी सभापति निरुदेवी पाल, कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नर बहादुर धामी, कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट, सहसंयोजक हरी चन्द ठकुरी, बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल समेतको टोली मन्त्रालयमा पुगेको हो । सीमा समस्याहरुको दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराइएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्टले बताउनु भएको छ । सीमा विवादको समाधानका लागि सरकारले सीमा सर्भे टोलीलाई खटाएको भएपनि सीमा सर्भे टोलीको कार्य शंकाष्पद देखिएकोले तत्काल उक्त स्ट्रिप नक्सा माथि छानबिन गर्नुपर्ने माग गरिएको छ ।
अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक भट्टका अनुसार, यसअघि गत चैत्र पहिलो साता समेत उक्त टोलीले गृह, परराष्ट्र, भूमि व्यवस्था तथा सम्बन्धित संसदीय समितिहरुमा ज्ञापन पत्र दिने क्रममा मन्त्री तथा सांसदहरुले नेपाली भूमि भारतमा गाँभिने विषय गम्भीर भएकोले यस विषयमा आवश्यक प्रमाण र तयारी गरी भारतीय पक्षसँग गम्भीर रुपमा उठाउने बताएपनि त्यस लगत्तै गरिएको बन्दाबन्दीले उक्त विषय सेलाएको थियो । अन्तर्राष्ट्रिय सीमा सरोकार समूहको प्रतिनिधि मण्डलले त्यो समयमा गृह मन्त्री राम बहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल, व्यवस्थापिका संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत, राज्य व्यवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिहरुलाई ज्ञापन पत्र बुझाएपनि पछिल्लो समयमा कञ्चनपुरमा भारतीय पक्षबाट निकालिएको सीमा विवाद तर्फ राज्यले चाँसो देखाएको पाइदैन । भोग चलन तथा जग्गा धनी प्रमाण पुर्जा र मूल सीमा स्तम्भ (जंगे पिलर) लाई समेत बेवास्ता गर्दै संयुक्त सीमा सर्भे टोलीले भारतले अतिक्रमण गरेको भुमि नेपालको देखिने गरी स्थापित सीमा (जंगे पिलर) पिल्लरहरुलाई साक्षी स्तम्भ (रिफ्रेन्स पिल्लर) र नेपाल तर्फ रहेका साक्षी स्तम्भ (रिफ्रेन्स पिलर) तथा सहायक पिल्लरलाई सीमाको मूल पिल्लर स्वीकार गर्दै तयार गरिएको स्ट्रिप नक्शा हाल कार्यान्वयन गर्न खोज्दा कञ्चनपुर जिल्लाका बिभिन्न क्षेत्रको सयौं विगाहा जमिन भारत तर्फ गाभिने खतरा देखिएको छ । विशेष गरी भारतसंग सीमा जोडिएका कञ्चनपुरका पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र माहाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा सीमा विवाद देखिन्छ । भारतको विस्तारवाद नीतिको कारण भारतीय पक्षले बेलाबेलामा नेपाली भूमि अतिक्रमण गरिरहेको र सीमा सर्भे टोलीले समेत त्रुटिपूर्ण नक्सा बोकेर सीमा छुट्याउने कार्य गर्न खोज्दा विवाद सतहमा आउने गरेको छ ।


No comments:
Post a Comment