Tuesday, September 9, 2025

निजि विद्यालय संगठनद्वारा दुईदिन शोक विदा गर्ने निर्णय



काठमाडौं, भदौ २४।
जेनजी आन्दोलनमा  सरकारको दमनबाट विद्यार्थीहरुको मृत्यु भएकोमा  पाँच वटा शैक्षिक छाता संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गर्दै दुई दिन शोक विदा दिने निर्णय गरेको छ ।

जेनजी आन्दोलनका क्रममा सोमबार देशभर विभिन्न स्थानमा भएको झडपमा १९  युवा विद्यार्थीले ज्यान गुमाएका छन्। 
काठमाडौंको माइतीघर, नयाँबानेश्वर लगायतका स्थानमा प्रहरीले अश्रुग्याँस, पानीको फोहरा र रबरको गोली प्रयोग गर्दा परिस्थिती थप तनावपूर्ण बनेको थियो। केही प्रदर्शनकारी संसद भवनतर्फ प्रवेश गर्ने प्रयास गर्दा भिड नियन्त्रणको क्रममा प्राणघातक घटना भएको हो। मृतकमध्ये धेरैजना विद्यार्थी र युवा रहेको पुष्टि भएको छ।
नेपाल मेनेजमेन्ट एशोसिएसन, एप्सन, हिसान, नेप्सन र प्याब्सनले जारी गरेको विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरिएको छ।

संयुक्त विज्ञप्तिमा भनिएको छ,
“यस अकल्पनीय घटनाले सम्पूर्ण शैक्षिक क्षेत्रलाई स्तब्ध तुल्याएको छ। यस मार्मिक र पीडादायी घडीमा  २०८२ भदौ २४ र २५ गते दुई दिन  शोक विदा दिने निर्णय गरिएको जानकारी गराईन्छ ।”

शैक्षिक संघ–संस्थाहरूले सामाजिक शान्ति, सद्भाव र सहअस्तित्व कायम गर्न विद्यार्थी, शिक्षक, अभिभावक र नागरिक समाजसँग आह्वानसमेत गरेका छन्।

यस घटनाले देशैभरका विद्यार्थी, अभिभावक र शैक्षिक वर्गलाई गहिरो आघात पुर्‍याएको छ भने राजनीतिक वृत्तमा समेत तरंग पैदा भएको छ। घटनापछि गृहमन्त्रीले राजीनामा दिएका छन् भने सरकारले कर्फ्यू र सुरक्षा बल परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

No comments:

Post a Comment